हङकङमा ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ गठन

हङकङमा ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ गठन

नेपालखबर
फागुन २४, २०८२ आइतबार १६:२२, हङकङ

मध्यपूर्वका मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)को हङकङ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले स्थानीय युवा व्यवसायी बिक्की थापाको अध्यक्षतामा हङकङ कमिटी घोषणा गरेको छ।

हङकङकै पहिलो नेपाली जिल्ला परिषद् सदस्य अरुणा गुरुङ र एएनओका अन्तर्राष्ट्रिय कमिटीका महासचिव चुडामणि भट्टराईले शनिबार साँझ पानसमा बत्ती बालेर संयुक्त रूपमा समारोहको उद्घाटन गरेका थिए।

सम्मेलनले विश्वका जुन ठाउँमा जन्मे पनि र जुन देशको नागरिकता बोके पनि नेपालीमूलको पहिचान गरी आपसी एकता कायम गर्दै नेपाली जातिको शक्तिलाई नेपालको हितमा प्रयोग गर्नु पर्ने प्रस्ताव पारित गरेको छ।

एएनओकी केन्द्रीय सदस्य खुसी गुरुङको सभापतित्वमा सम्पन्न सम्मेलनले हाल विश्वमा देखापरिरहेको सुरक्षा चुनौतीका सन्दर्भमा मध्यपूर्वमा बसोबास गरिरहेका नेपाली जातिका मानिसको सुरक्षालाई नेपाल सरकारले विशेष ध्यान पुर्‍याई उचित कदम चाल्न विशेष प्रस्ताव पारित गरेको छ।

सम्मलेनको उद्घाटन गर्दै एएनओको अन्तर्राष्ट्रिय कमिटीका महासचिव भट्टराईले संसारभरिका जुनसुकै मुलुकमा जन्मेहुर्के पनि र जतिसुकै पुस्ता भए पनि नेपाली जातिका मानिसलाई एकआपसमा जोड्ने अभियानका रूपमा एएनओ अगाडि बढेको बताए।

उनले पुर्खाको अदम्य साहस प्रतिविम्बित हुने हङकङका नेपालीको गौरवपूर्ण इतिहासले नेपाली जातिका बीच उल्लेखनीय स्थान ओगटेको बताउँदै नेपाली जातिलाई आपसमा जोड्ने, उनीहरूलाई मातृभूमि पितृभूमि नेपालसँग जोड्न हङकङको नेपाली समुदायले थप योगदान दिने विश्वास व्यक्त गरे।

नेपाली जातिको आफ्‌नै पहिचान र अतित्वसहितको जीवनयापनका लागि सामाजिक सांस्कृतिक अभियान चलाइरहेका अमेरिका निवासी समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा सन् २०२४ मा एएनओको स्थापना भएको हो।

यो संस्थाको हङकङ अधिवेशनले जतिसुकै पुस्ता बाहिर बस्नुपरे पनि जहाँ बस्यौँ त्यहीँ नेपाली भाषा, कला, संस्कृति, रीतिरिवाज र यी सबैसँग जोडिएको नेपाली पहिचानको निरन्तरता तथा यसको विस्तार एवं पुस्तान्तरणको अभियानमा क्रियाशील रहने घोषणा गरेको छ।

नवनिर्वाचित हङकङ कार्यसमितिको उपाध्यक्षमा अजय राई, महासचिवमा सुकु लिम्बू, सचिवमा अनुज रोक्का, कोषाध्यक्षमा सोफिया गुरुङ र प्रवक्तामा सुरेश याक्सो छन्।

त्यसैगरी, सदस्यहरूमा सरला तामाङ, टपराज तामाङ, रिस्ता गुरुङ, मेजिला गुरुङ, भीम गुरुङ, जुनु राना, बिन्नी लामा राई र करन तमाङ चयन भएका छन्।

विश्वभरका नेपालीको श्रम, पुँजी र बौद्धिक क्षमतालाई नेपालको समृद्धिमा लगाउन आफ्‌ना जातिका मानिसलाई नेपाल सरकारले पहिचान गर्नुपर्ने र सो कार्यमा एएनओले सहयोग गर्न सक्ने प्रस्ताव पनि अधिवेशनले पारित गरेको छ।

कार्यक्रममा हङकङको याउचि मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङले नेपाली जातिको एकता र संस्कृतिको पुस्तान्तरणसहितको उद्देश्यमा एएनओले सफलता प्राप्त होस् भन्दै शुभकाना दिएकी थिइन्।

नेपालीमूलका मानिसको विशेषज्ञता र क्षमता मातृभूमि पितृभूमिका हिसाबले पनि उपयोग गर्न नेपालले सकोस् भन्ने कामना पनि अधिवेशनले गरेको छ।

आफ्‌ना मूलका मानिसलाई नेपालले आफूसँग जोड्ने नीति बनाउन नेपाल सरकारको ध्यानाकर्षण गर्ने प्रस्ताव अधिवेशनले पारित गरेको छ।

सम्मेलनलाई तनहुँ समाज हङकङका वरिष्ठ उपाध्यक्ष रोशन गुरुङ, एनआरएनए लिमिटेडकी अध्यक्ष जयन्ती गुरुङले एएनओको हङकङ कमिटीको कार्यकाल सफलताको शुभकामना दिएका थिए। 

कार्यक्रममा मेरो भ्वाइस युनिभर्स सिजन-२ का उपविजेता हङकङनिवासी टपराज नेगी तामाङ र सोही प्रतियोगिताकी प्रतिस्पर्धी बिन्नी लामा राईले सांगीतिक प्रस्तुति दिएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .