फिने हङकङले गर्‍यो नेपाली समुदायबीच पिच प्रतियोगिता, अन्जु घिसिङ बनिन् उत्कृष्ट

फिने हङकङले गर्‍यो नेपाली समुदायबीच पिच प्रतियोगिता, अन्जु घिसिङ बनिन् उत्कृष्ट

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १३:३१, हङकङ

फिने हङकङले गएको शनिबार हङकङका नेपाली समुदायबीच पिच प्रतियोगिता गरेको छ। जोर्डनको एभरेस्ट रेस्टुरेन्टमा गरिएको उक्त प्रतियोगिता नेपाली विद्यार्थी, युवा पेसेवर र उद्यमीहरूमा प्रेरणा र हौसला बढाउन डिजाइन गरिएको फिने हङकङले जनाएको छ।

झन्डै ८० जना सहभागी प्रतियोगितामा विद्यार्थी, पेसेवर र उद्यमीको सहभागिता रहेको थियो।  जहाँ उनीहरूले आफ्ना विचार, अनुभव र योजना सुनाएका थिए।

प्रतियोगितामा बैंकिङ (विश्वव्यापी बैंकिङमा वरिष्ठ नेपाली बैंकिङ पेसेवर), फिनटेक, वेब३, अनुसन्धान र रचनात्मक उद्योगका पाँच विधा छुट्याइएका थिए। निर्णायकको प्यानलमा आफ्नो प्रस्तुति दिएका सहभागीमध्ये पाँच जनालाई सर्टलिस्ट गरी नगद पुरस्कार समेत प्रदान गरिएको थियो।

जसमध्ये अन्जु घिसिङले उत्कृष्ट पिच पुरस्कार जितिन् भने पुस्तक पौडेलले उत्कृष्ट नवीन विचार पुरस्कार प्राप्त गरेका थिए।

शनिबार मध्याह्न १२ बजेटबा सुरु भएको कार्यक्रम दिउँसो ३ बजेसम्म चलेको थियो। दर्ता, आगमन र खाजापश्चात् फिने हङकङकी अध्यक्ष सोयना ढकालले स्वागत मन्तव्यपछि कार्यक्रमको उद्‌घाटन गरेकी थिइन्।

कार्यक्रममा ‘कि नोट स्पिच’ डा. रोशिसकृष्ण श्रेष्ठको रहेको थियो भने पूर्वब्ल्याकरक तथा मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ दीपमाला ढकालले फायरसाइड सञ्चालन गरेकी थिइन्।

अस्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयबाट पीएचडी तथा पोलियू हङकङमा अनुसन्धान सहायक प्राध्यापक श्रेष्ठले सफल स्टार्टअप निर्माणमा अनुसन्धानको गाम्भीयर्ताबारे प्रकाश पारेको थिए। त्यस्तै, मिस नेपाल हङकङ ढकालसँगको फायरसाइड कुराकानीमा ग्लोबल मार्केट्स एसियाका एमडी तथा सीईओ सुरज राईले आफ्ना पेसागत अनुभव र सफलताका कथा सुनाएका थिए।

शिक्षा, मनोरञ्जन र वेब३ मा योगदान दिइरहेका उद्यमी तरल गुरुङले पनि कार्यक्रममा आफ्नो अनुभव साझा गरेका थिए। गुरुङ साउन्डबिट्सका संस्थापक र सीईओ हुन्। एआई, संगीत र गेमिङको यस दुनियामा साउन्डबिट्स वेब३ सिर्जनाकर्ता प्लेटफर्म हो। शिक्षा क्षेत्रमा उनले पाथवेज लर्निङ सेन्टरबाट योगदान दिइरहेका छन् भने बलिउड अवार्ड शोहरूका लागि मेटाभर्स पहलका लागि पनि उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ।

यसैगरी, केएन फाइन ज्वेलरीकी संस्थापक एवं दन्त चिकित्सक काजल नैना शेरचनले ज्वेलरीलाई अन्तर्राष्ट्रिय ब्रान्डमा पुर्‍याएकी छन्। उनले पनि यस कार्यक्रममा आफ्नो सफलताको कथा साझा गरेकी थिइन्।

एसियाको फिनटेक क्रान्तिलाई निर्माण गर्न अहम् भूमिका निर्वाह गरेका सयद मुसिरले पनि कार्यक्रममा आफ्नो अनुभव सुनाएका थिए।

नेपाली महावाणिज्य दूतावास, हङकङका कन्सुल सतीश गुरुङद्वारा समापन गरिएको कार्यक्रममा हङकङमा उद्यम गरिरहेका उद्यमी र उद्यम गर्ने सोच बनाएका हरेक नेपालीलाई खुला आमन्त्रण गरिएको थियो। जहाँ प्रत्येकलाई ३ मिनेटभित्र आफ्नो अनुभव साझा गर्ने अवसर दिइएको थियो।

हङकङमा पहिलो पटक आयोजना गरिएको यस प्रकारको कार्यक्रमको उद्देश्य के हो त? यसले नेपाली समुदायलाई के फाइदा पुर्‍याउँछ? यसको जवाफ नेपालखबरले फिने हङकङकी अध्यक्ष सोयना ढकालसँग लिने प्रयास गरेको थियो।

उद्यमसँग जोडिन चाहने नेपाली समुदायलाई आर्टिफिसियल इन्टलिजेन्स (एआई)सँग जोड्न पहल गर्नु पिच प्रतियोगिता मुख्य उद्देश्य रहेको संस्थाकी अध्यक्ष ढकाल बताउँछिन्।

‘धेरै मानिस एआईसँग जोडिन उत्सुक छन् तर धेरैलाई यो कहाँबाट सुरु गर्ने, व्यवसायमा यसलाई कसरी जोड्ने भन्नेबारेमा थाहा छैन,’ अध्यक्ष ढकालले नेपालखबरसँग भनिन्, ‘पिच प्रतियोगिताको मुख्य उद्देश्य नै यसको जवाफ खोज्नु हो। हामी एआईलाई व्यावहारिक र पहुँचयोग्य बनाउन चाहन्छौँ।’

प्रविधिका नकारात्मक पक्षलाई छोडेर व्यवसायमा सकारात्मक पक्ष कसरी अँगाल्न सकिन्छ भन्ने जवाफ खोज्नु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .