हङकङका सांसद विलियम वोङ काम मादक पदार्थ सेवन गरी गाडी चलाएको र हिट एन्ड रनको आरोपमा पक्राउ परेपछि विधान परिषद्बाट राजीनामा दिएका छन्।
शुक्रबार चिनियाँ विश्वविद्यालय हङकङको इन्जिनियरिङ विभागका एसोसिएट डिनसमेत रहेका वोङलाई विश्वविद्यालयले प्रशासनिक कर्तव्यबाट निलम्बन गरेको केही घण्टापछि उनले विधान परिषद्बाट पनि राजीनामा दिएका हुन्।
वोङलाई सोमबार मादक पदार्थ सेवन गरी गाडी चलाएको र हिट-एन्ड-रनको आरोपमा पक्राउ परेका थिए।
उनले घटनाका सन्दर्भमा माफी पनि मागेका छन्।
‘हालैको ट्राफिक घटनाबाट समाज र विधान परिषद्लाई परेको पीडाको लागि माफी चाहन्छु। व्यवस्थापिका परिषद्को सञ्चालनलाई असर नपरोस् भन्नका खातिर धेरै सोचविचार गरेर व्यवस्थापिका परिषद्का सबै पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ वोङलाई उद्धृत गर्दै स्थानीय मिडियाले लेखेका छन्।
घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेकोले आफू थप नबोल्ने भन्दै वोङले भविष्यमा समुदायप्रति आफ्नो भूमिकामा कमी नआउने प्रतिबद्धता जनाए।
वोङ देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय, चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका सदस्य पनि हुन्।
साउथ चाइना मर्निङ पोस्ट लेख्छ– वोङले शुक्रबार विधान परिषद्बाट लिखित राजीनामा दएको परिषद्का अध्यक्ष स्टारी लीले बताइन्।
Shares

प्रतिक्रिया