हङकङबाट फर्केर पर्यटन मन्त्रालयको प्रवक्ता

हङकङबाट फर्केर पर्यटन मन्त्रालयको प्रवक्ता

नेपालखबर
साउन २४, २०७७ शनिबार ११:४८,

हङकङ र मकाउको महावाणिज्यदूतको कार्यभार पूरा गरी दुई महिनाअघि नेपाल फर्केका सहसचिव कमलप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका छन्।

हङकङ र मकाउको मिसन सफलतासाथ पूरा गरेर दुई महिनाअघि काठमाडौं फर्केपछि भट्टराईले पर्यटन मन्त्रालयको सहसचिवका रुपमा प्रशासन तथा योजना महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

तीन हप्ताअघिबाट उनले मन्त्रालयको प्रवक्ताको पनि जिम्मेवारी पाएका हुन्।

महावाणिज्यदूत भएर चार वर्षअघि हङकङ आउनु पहिले भट्टराई सामान्य प्रशासन मन्त्रालयको सहसचिव थिए।

प्रशासन तथा योजना महाशाखाको इन्चार्जका रुपमा उनले मन्त्रालयको देशभरको पर्यटन सम्बन्धि योजना बनाउने र बजेट व्यवस्थापनको पक्ष हेर्दै आएका छन्।

KamalBhattarai HK2

‘मेरो जिम्मेवारी मुख्यतः देशभरको पर्यटन र संस्कृतिसँग सम्बन्धित योजना बनाउने र बजेट बाँटफाँट हेर्ने हो’, प्रवक्ता भट्टराईले भने, ‘त्यही क्रममा अहिले लुम्बिनी, जनकपुर लगायत क्षेत्रको बृहत पर्यटन तथा सांस्कृतिक विकासको योजना बनाइरहेका छौं।’

हङकङ र मकाउको महावाणिज्यदूत भएर संगालेको अनुभवका आधारमा पनि नेपालको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले केही काम भइरहेको भट्टराईले बताए।

‘हङकङ र मकाउका क्यासिनो सहितको एकीकृत रिसोर्टको अवधारणा हामी पनि भित्र्याउन सक्छौं’, भट्टराईले भने, ‘नेपालमा त्यो अवधारणामा रिसोर्ट, होटलहरू सञ्चालन गर्न सकिन्छ भन्ने हिसावले कोरोना महामारी नियन्त्रण भएपछि लगानीकर्ताहरू निम्त्याएर एउटा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना बनाउँदै छौं।’

हङकङ, मकाउ र त्यस आसपासका गोन्जाउ, सेन्जेन क्षेत्रबाट खासगरी पर्यटन क्षेत्रमा लागनी भित्र्याउने प्रयास आफुले गरिरहेको उनले बताए।

‘मेरो प्रयास पर्यटन क्षेत्रको विकास गर्ने गरी हङकङ, मकाउ र त्यस आसपासको क्षेत्रबाट होटल, रिसोर्टहरूमा लगानी भित्र्याउनेमा छ’, भट्टराईले भने, ‘लगानी आकर्षित गर्न सकियो भने व्यापार र नेपाल आउने पर्यटकको संख्या पनि बढ्छ।’

महामारी कम हुँदै गएपछि आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्ने योजना बनिरहेको उनले बताए।

‘कोरोना महामारीले पर्यटन क्षेत्रमा आएको संकट व्यवस्थापन गर्न सरकारसँग ५० अर्ब रुपैयाँ माग भएको छ, जसले पर्यटन क्षेत्रलाई केही हदसम्म पुर्नस्थापना गर्ने छ’, भट्टराईले थपे, ‘पर्यटन क्षेत्र पूरै सामान्य अवस्थामा फर्कन चाहिँ नेपाल सहित विश्वमै महामारी नियन्त्रणमा आउनु पर्छ।’ 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .