हङकङमा दौडमा गएका चिनियाँ दुई दिनपछि भिरमा मृत भेटिए

हङकङमा दौडमा गएका चिनियाँ दुई दिनपछि भिरमा मृत भेटिए

मगेन्द्र राई
भदौ २४, २०७६ मंगलबार ६:१८,

हङकङमा ट्रैल रनिङको क्रममा दुई दिनदेखि हराइरहेका एक चिनियाँ धावकलाई उद्दारकर्मीले मृत अवस्थामा फेला पारेका छन्।

गत आइतबार क्याम टु स्पोर्ट्सले सिङ मुनमा आयोजना गरेको २३.१ किलोमिटर ट्रैल रनमा गएका १.७ मिटर अग्ला ३२ वर्षीय चिनियाँ प्रतियोगी क्वोक युएन हुङ मृत भेटिएका हुन्।

आइतबार बिहान ८ः३० बजे सुरु भएको ट्रैल रनबाट अपरान्ह ३ः३० बजेसम्म फर्किसक्नु पर्ने उनी निर्धारित समयभित्र फिनिसिङ लाइनमा नफर्किएपछि आयोजकले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी, दमकलकर्मी र नागरिक सहायता सेवा लगायत उद्दार टोलीको दुई दिनको अथक मेहनतपछि मंगलबार बिहान १ः२० बजे काउ तो शानको भिरमा उनी मृत भेटिएका हुन्।

आइतबार बिहान ८ः३० बजे सिङ मुन रिजर्भोयरबाट सुरु भएको दौडमा उनी १०ः३० बजे कोभ हिल पिकसम्म देखापरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। तर लिड माईन पास नजिकैको चेक प्वाइन्टमा उनी देखा परेनन्।

आयोजक र उद्दारकर्मीहरुका अनुसार उनले क्वै तेइ न्यु भिलेज पुगेपछि बाटो बिराएको हुन सक्ने अनुमान गरिएको छ। उनीसँगै बाटो बिराएका अन्य दुई जना भने फर्कन सफल भएका थिए।

क्वोकको खोजीका लागि ठूलो संख्यामा जमिन र हवाई उद्दारकर्मीहरू परिचालन गरिएको थियो। उनले दौडमा जानुअघि मोबाइल फोन, वालेट लगायतका सम्पूर्ण सामग्री आयोजकलाई राख्न जिम्मा दिएको हुँदा खोजी कार्यमा कठिनाई र ढिलाई भएको उद्दारकर्मीहरुले बताएका छन्।

घटनास्थलमा उपस्थित आयोजकका प्रतिनिधिले पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन्।

trail2

२३.१ र १२ किलोमिटर दुई विधामा आयोजित उक्त प्रतियोगितामा दुई दर्जनभन्दा बढी नेपाली समेत सहभागी भएका थिए। ३५ डिग्री सम्मको तापमान तथा ह्युमिडले गर्दा त्यो दौड सहभागीहरुका लागि ठूलो चुनौती बनेको थियो।

२३.१ किलोमिटर तर्फ उमेर समूहमा तेस्रो भएका यामबहादुर लिम्बुले नेपालखबरसँग भने, ‘रुट निकै टेक्निकल, भिरालो, पानी नपर्दा पनि चिप्लन सक्ने र समय पनि सारै धापिलो गर्मी थियो। त्यसैले उनी कि त लडेर बेहोस भएको हुनु पर्छ, कि त गर्मीले स्ट्रोक भएको हुन सक्छ।’

लिम्बुले त्यस्तो गर्मीमा ज्यान जोखिममा राखेर दौडिनु मुर्खतापूर्ण हुने टिप्पणी गरे।

‘आयोजकको व्यवस्थापनमा पनि कमजोरी हुन सक्छ, ट्रैल रनमा यस्तै दुखद दुर्घटना हुनबाट सतर्कता अपनाउन अन्य ठूला दौडहरूमा मोबाइल फोन बोक्न अनिवार्य गरिएको हुन्छ’, लिम्बु भन्छन्, ‘त्यसो हुँदा कदाचित हराएको खण्डमा पनि पत्ता लगाउन सजिलो हुन्छ। तर उक्त दौडमा मोबाइल बोक्न अनिवार्य थिएन, मृतकले पनि फोन नबोकी दौडिएछन्, यो घटनाबाट आयोजकले पाठ सिक्नु पर्दछ।’

trail3

टिम नेपाल फाइनान्सबाट दौडिएका राम थापाले उक्त रुट अत्यन्तै कठिन रहेको बताए।

‘भिरालो, झाडी, जंगल, काँडाघारी भएकाले निकै अलमल हुने रुट छ’, थापाले भने, ‘म धेरै प्रतियोगितामा दौडिएँ तर त्यो जस्तो कठिन रुट अरु लागेन, गर्मी अर्को चुनौती थियो।’

गर्मीकै कारण सबै प्रतियोगीले साविकभन्दा एक डेढ घन्टा ढिलो दौड पूरा गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .