अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले विश्वभर रहेका नेपाली युवा उद्यमीहरूलाई लक्षित गर्दै नोभेम्बर २९–३० मा हङकङमा इन्टरनेशनल युथ आन्ट्रप्रेनर्स समिट आयोजना गरेको छ। फिनेका विभिन्न देशमा च्याप्टर छन्। फिनेले यो पहिलो विश्व सम्मेलन गर्न लागेको हो, जसको आयोजना हङकङ च्याप्टरले गरेको छ।
मार्कोपोलो हङकङ होटलमा हुने कार्यक्रममा विश्वभरबाट १५० देखि १७० जना युवाहरू जम्मा हुँदै छन्। फिने हङकङ च्याप्टरका अध्यक्ष तथा यो विश्व सम्मेलनका संयोजक इन्दर पुन सम्मेलनबाट नेपाली युवा व्यवसायीलाई २ वटा फाइदा हुने बताउँछन्।
पुनका अनुसार युवाहरुलाई व्यवसायतर्फ केन्द्रित गर्न र व्यवसाय गरिरहेका युवालाई सफलता हासिल गर्न सहयोग गर्ने उदेश्य राखेर सम्मेलन आयोजना गरिएको हो। फिने हङकङका अध्यक्ष तथा विश्व सम्मेलनका संयोजक इन्दर पुनसँग नेपालखबरले गरेको वार्ता :
तपाईंहरूको हङकङ सम्मेलनमा कस्ता व्यक्तिहरुको सहभागिता रहन्छ?
सम्मेलनमा विभिन्न देशबाट युवा उद्यमीको सहभागिता रहनेछ। अमेरिका, जापान, यूके, अस्ट्रेलिया, कोरिया, चीन, मकाउ, मध्यपूर्व र हङकङमा उद्यम व्यवसाय गर्दै आएका युवाहरु सहभागी हुनेछन्।
हङकङबाट युवा पुस्ताको बढी सहभागिता हुनेछ। कार्यक्रममा अन्तर्क्रियाको लागि नेपाल सरकारका प्रतिनिधि, महावाणिज्यदूत, हङकङ सरकारको प्रतिनिधि रहनेछन्। प्यानलिस्टको रुपमा भेन्चर्स क्यापिटलिस्ट, विभिन्न क्षेत्रमा स्थापित व्यवसायी, सूचना प्रविधि क्षेत्रका विज्ञहरुको उपस्थिति हुनेछ।
२ दिनसम्म चल्ने समिटमा कस्ता विषयमा छलफल हुन्छन्?
तर कसरी आफ्नो लगानी विस्तार गर्ने, भेन्चर क्यापिटलसँग सहकार्य गर्न कस्तो व्यावसायिक योजना बनाउने, रणनीति के हुनुपर्छ भन्नेबारे व्यवसायीहरुबीच छलफल हुनेछ। आफ्नो उद्यम सफल बनाउन एआईलगायत सूचना प्रविधिको प्रयोगबारे पनि छलफल हुनेछ।
त्यसबाहेक नेपाल सरकारका प्रतिनिधिसँग नेपालमा वैदेशिक लगानीका क्षेत्रहरु, सम्भावित आयोजनाहरु र कुन क्षेत्रमा लगानी गर्दा इन्सेन्टिभ दिन्छ भन्नेमा छलफल हुनेछ।
विदेशमा भएका युवाले नेपालका कानुनी प्रक्रियालाई झन्झटिला मान्दै आएका छन्। उद्योग दर्ताका सहज प्रक्रियामा छलफल हुनेछ। सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरु हुने भएकाले उक्त नेटवर्कबाट दीर्घकालीन लगानी बढाउने र फैलाउने भन्नेमा केन्द्रित हुनेछ।

सम्मेलनमार्फत युवा व्यवसायीहरुले कस्ता सहयोग पाउनेछन्?
युवा व्यवसायीलाई २ वटा फाइदा हुने गरी हामीले कार्यक्रम आयोजना गरेका छौँ। नयाँ युवाहरुलाई व्यवसायमा केन्द्रित गर्ने एउटा उद्देश्य छ भने व्यवसाय गरिरहेका युवालाई कसरी सफलता हासिल गर्ने भन्ने अनुभव सेयर हुनेछ।
विश्वमा नेपाली व्यवसायी सफल छन्। उनीहरुका सफलताका कथाबाट प्रेरित गरौँ भन्ने हो। सम्मेलनमा नाफामूलक व्यवसाय कुन हुन्? लगानीको ट्रेन्ड कता गइरहेको छ भन्ने विषयमा प्रस्तुतीकरण हुने भएकाले त्यसबाट युवाहरुले धेरै विषय थाहा पाउन सक्छन्। नेपालीहरुको सञ्जाल संसारभर नै छ।
कार्यक्रममा समेत व्यवसायी उपस्थित हुनुहुन्छ। एक आपसमा नेटवर्किङ बनाउन सहयोग पुग्छ। कसैसँग राम्रो व्यावसायिक योजना भए पनि लगानीको अभाव हुनसक्छ। स्रोत कसरी जुटाउने भन्नेमा आइडिया हुनेछ। त्यससँगै सरकारी अधिकारीसँग आफ्ना कुनै समस्या भए राख्न सकिन्छ। युवा व्यवसायीका धेरै जिज्ञासा सम्मेलनले मेटाउन सक्छ।
हङकङमा विश्वभरका नेपाली युवा व्यवसायीको सम्मेलन हुँदा नेपाललाई के फाइदा हुन्छ। अनि व्यवसायीलाई नेपालसँग जोड्न के गर्नुहुन्छ?
अहिलेका युवाहरुमा नेपाल किन फर्किने भन्ने प्रश्न छ। हामीले विदेशमै लगानी गरेर किन सफल नहुने, जहाँ बसेको छु त्यही देशमै लगानी किन नगर्ने भन्ने सोच धेरै युवामा देखिन्छ। हामीले कार्यक्रममा जिज्ञासा राख्ने व्यवसायीसँगै नेपालमै लगानी बढाएर देशलाई समृद्ध बनाउनुपर्छ भन्ने सरकारी अधिकारीबीच छलफल हुन्छ। विदेशमा भएका युवाहरुमा नेपालमा कम्पनी खुलाउनै धेरै झुलाउँछ भन्ने ‘मिथ’ छ।
सरकारी अधिकारीले नेपालमा लगानीका लागि कानुन के कस्ता सुधार भए, अनलाइनबाटै के कसरी दर्ता गर्न सकिन्छ भन्नेमा ‘कन्भिन्स’ गर्नेछ। विदेशमा गर्ने लगानी नेपालमै गर्दा पनि फाइदा हुन्छ भन्ने सन्देश जानेछ। विदेशमा भएका युवाले नेपालको पर्यटन र सूचना प्रविधिको क्षेत्रको सम्भावनाबारे थाहा पाउनेछन्।
विदेशमा बस्ने नेपालीबीच सूचना प्रविधि क्षेत्रमा काम गर्ने दक्षजनशक्ति विश्वसँग प्रतिस्पर्धी छन्। अस्ट्रेलिया, अमेरिकाका साथीले नेपालमा ‘आउटसोर्स’ गरिरहेका छन्। विदेशी कम्पनीले नेपाली आईटी क्षेत्रमा काम गर्ने युवा खोजिरहेका छन्। युवाहरुले विकास गरेका सफ्टवेयर खरिद गरिरहेको अवस्था छ। यो विषय सबै युवालाई जानकारी हुनुपर्छ। नेपालको सूचना प्रविधिमा लगानी बढाई सफ्टवेयर निर्यात गर्न सकिन्छ।

विभिन्न देशबाट युवाहरु सहभागी गराएर सम्मेलन गर्दै हुनुहुन्छ। यसको व्यवस्थापन कसरी हुँदै छ?
सम्मेलनको संयोजकको रुपमा म आफैँले काम गर्दै छु। त्यसमा हङकङका फिनेका साथीहरु र केन्द्रका साथीहरुको संयुक्त पहलमै कार्यक्रम हुँदै छ। कार्यक्रमको खर्च ८० प्रतिशत हङकङ च्याप्टर र २० प्रतिशत केन्द्रले गर्नेछ। हङकङमा कार्यक्रम गर्दा करिब ४ लाख हङकङ डलर खर्च हुने अनुमान छ। कार्यक्रमको स्रोतको रुपमा सहभागिता शुल्क लिइनेछ। त्यसबाहेक केही स्पोनसरसिप (प्रायोजन) छ।
हङकङमा कार्यक्रम हुन लागेकाले करिब ४० जना बाहिरका देशबाट र अरु हङकङबाटै सहभागी रहनेछ। हामीले विभिन्न संघ/संस्था र विश्वविद्यालयका युवाहरुलाई कार्यक्रममा निःशुल्क सहभागी गराउन सकिन्छ कि भनेर हेरिराखेका छौँ।
फिनेले हरेक वर्ष यस्तै कार्यक्रम गर्छ कि अहिले मात्र हो?
अहिले हङकङमा कार्यक्रम भए पनि हरेक वर्ष विभिन्न विषयमा छलफल गर्ने लक्ष्य छ। अर्कोपटक, अस्ट्रेलिया वा अमेरिकामा यस्तै वा योभन्दा वृहत् सम्मेलन हुनसक्छ। यो वर्ष युवालाई केन्द्रित गरेर धेरै विषय समेटेका छौँ। आगामी दिनमा पर्यटन, सूचना प्रविधिजस्ता क्षेत्रलाई मात्रै लक्षित गरी सम्मेलन गर्ने योजना छ।
यो पनि :
Shares

प्रतिक्रिया