हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी, ८ सय जनाको उपस्थिति

हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी, ८ सय जनाको उपस्थिति

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १२:१७, काठमाडौँ

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को हङकङमा विशेष प्रदर्शन गरिएको छ। हङकङको गोल्डेन सिन सिनेमाको हलमा स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म १२ शोमा बाँडेर चलचित्र देखाइएको थियो। 

चलचित्र प्रदर्शनअघि औपचारिक कार्यक्रम पनि राखिएको थियो। 

कार्यक्रममा चलचित्रका निर्देशक नवीन सुब्बा, अभिनेतृ पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बु लगायत सहभागी थिए। 

त्यस्तै, कार्यक्रममा हङकङका महावाणिज्यदूत डा. उदयबहादुर राना, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, हङकङ किरात राई योयोक्खाका प्रतिनिधि, कलाकार, साहित्यकार तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

चलचित्र हेरेपछि निर्देशक सुब्बाले हङकङका नेपाली दर्शकसँग साक्षात्कार समेत गरेको थिए। उनले आफ्नो चलचित्रकर्ममा सुरुआती दिनदेखि हङकङवासी नेपाली समुदायले सहयोग गर्दै आएको सुनाए।  

हङकङका देवराज राई, अरुण राई, मातृदीप राई, रामली राई, सुमन बोनेम, मायादेवी राईलगायतको जोडबलले यो प्रदर्शन सफल भएको उनले बताए। 

निर्माता अमोद राईले हङकङको गोल्डेन सिनको सुविधिा सम्पन्न हलमा ‘गाउँ आएको बाटो’ को विशेष प्रदर्शन ऐतिहासिक रूपमा सम्पन्न भएको बताए।  

‘गाउँ आएको बाटोलाई हेर्न झन्डै ८ सय दर्शकको उपस्थिति थियो। हामीले लामो समयदेखि देखेको यो सपना ऐतिहासिक रूपमा गोल्डेन सिन सिनेमाको हलमा भव्यताका साथ सम्पन्न भयो। चलचित्र हेर्न नेपाली दर्शकको उपस्थिति हामीले सोचेको भन्दा उल्लेख्य रह्यो। हामीले पहिलो पटक हङकङको सुविधा सम्पन्न हलमा देखाउन सफल भयौँ। हामीलाई आगमी दिनमा काम गर्ने थप ऊर्जा मिलेको छ’, उनले भने।

हङकङमा रहेका कार्यकारी निर्माता देवराज राईले घेराहरू भत्काउँदै आफूहरू गाउँ आएको बाटोलाई यहाँसम्म ल्याएर प्रदर्शन गर्न सफल भएको बताए। 

चलचित्र अक्टोबर २८ मा चिनियाँ दर्शकमाझ सार्वजनिक प्रदर्शनको तयारी रहेको छ। चिनियाँ दर्शकलाई लक्षित गरी पहिलोपटक नेपाली चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न लागिएको हो। हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेको हो।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।

चलचित्रलाई थाइल्यान्ड, इन्डोनेसिया, इटाली र युकेमा छिट्टै प्रदर्शन गर्ने तयारी रहेको छ। नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्रमा संलग्न भएर काम गरेका छन्। चलचित्र सम्पादन ताइवानका क्वान पुन लुङ र संगीत हङकङकी संगीतकार हाइडी लीले गरेका छन्।

यसअघि यस फिल्मलाई क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्वीडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .