हङकङमा सम्पन्न प्रसिद्ध द नर्थ फेस अल्ट्रा ट्रैल रनमा नेपालकी सुनमाया बुढाले नयाँ कीर्तिमानसहित जित हासिल गरेकी छन्।
५० किलोमिटर विधामा शनिबार बिहान हङकङको साइकुनस्थित ताई मे तोक कन्ट्री ट्रैलमा सम्पन्न दौडमा निर्धारित दूरी ६ घन्टा १२ मिनेट २५ सेकेन्डमा पूरा गरी नयाँ कीर्तिमानका साथ विजय प्राप्त गरेकी हुन्।
दौडको सुरुवातदेखि नै अग्रता लिएकी सुनमायाले निकटतम प्रतिस्पर्धीलाई ३४ मिनेटले पछाडि पारेकी थिइन्।
त्यसैगरी चीनकी मेइ लिङ स्युले ६ घन्टा ४५ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो तथा हङकङकी कि चुङ वोङले ७ घन्टा १३ मिनेट २१ सेकेन्डमा पार गरी तेस्रो स्थान हासिल गरे।
गत नोभेम्बरमा यूटीएमबी थाइल्यान्ड जाँदा चोटका कारण पाखा लागेकी सुनमायाको यो जबर्जस्त पुनरागमन (कमब्याक) हो।
निकै टेक्निकल मानिने उक्त दौडका विजेताले आकर्षक नगद तथा सपिङ कुपन प्राप्त गर्छन्। साथै ईटीआरए रङ्किङ प्वाइन्टसमेत प्राउँछन्।
सुनमाया द नर्थ फेस एडभान्चर टिममा पूर्णकालीन अनुबन्ध भएकी छन्।
प्रतिक्रिया