इन्डोनेसियामा दौडेर एसिया ट्रेल मास्टर च्याम्पियन बनिन् रसिला तामाङ

पहिलोपटक नेपालको जित
इन्डोनेसियामा दौडेर एसिया ट्रेल मास्टर च्याम्पियन बनिन् रसिला तामाङ

रसिला तामाङ


मगेन्द्र राई
मंसिर १६, २०८० शनिबार २०:३७, हङकङ

नेपालकी धावक रसिला तामाङ एसिया ट्रेल मास्टर च्याम्पियन बनेकी छन्। 

आज (शनिबार) स्थानीय समय बिहान ६ बजे  इन्डोनेसियाको सेन्ट्रल जाभास्थित सेकिपान तावाङमाङुबाट सुरु भएको प्रमुख उपाधिको दाैडअन्तर्गत निर्धारित दूरी ७७ किलोमिटर १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरी विजयी भएकी हुन्। 

त्यसैगरी बेल्जियमकी भन्ज नोप्स र फोलिपिन्सकी एन्जेली काबालोले सो दूरी क्रमशः  १२ घण्टा ३२ मिनेट १६ सेकेन्ड र १४ घन्टा ३ सेकेन्ड ३७ सेकेन्डमा पूरा गरी दोस्रा र तेस्रा भएका छन्।

सन् २०१४ देखि सञ्चालन भइरहेको यो प्रतियोगितामा रसिला पहिलो नेपाली विजेता हुन्।

‘प्रतियोगिता निकै टफ भएछ। सात मिनेटको अन्तरले मात्र जित निस्किएछ, कतिको दबाब सिर्जना भएको थियो भनी नेपालखबरले गरेको प्रश्नमा रसिलाले भनिन्, हो, प्रतियोगिता निकै नै टफ हुन्छ भन्ने पहिलै लागेको थियो, किनकि यो प्रतियोगितामा सेलेक्टेड एलिटहरु प्रतिद्वन्द्वी हुन्छन्, मेरो निकटतम प्रतिद्वन्द्वीले सुरुमा लिड गरेकी थिइन्, तर त्यो अपहिलमा थियो। मेरो भने डाउनहिलमा राम्रो छ, त्यसैले अहिले पछि परे पनि डाउनहिल आएपछि लिड गर्छु भन्ने आत्मविश्वास थियो, नभन्दै करिब ३० किलोमिटर पार गरेपछि अपहिल आयो, अनि उनलाई पछाडि पारेँ, त्यसपछि लगातार लिड गरेँ अनि प्रतियोगिता जितेँ, तर यो निकै दबाबपूर्ण रह्यो।’ 

त्यो  निकै गर्मी हुने ठाउँ हो, तापक्रम अझै ३२ डिग्रीसम्म हुन्छ, त्यसले कतिको असर गर्‍यो?

नेपालखबरको अर्को प्रश्नमा रसिला भन्छिन्, ‘योपटक मौसमले राम्रो साथ दियो, कोर्स उकालो-ओरालो निकै टेक्निकल रहेछ, दौडको बीचमा निकै ठूलो पानी पर्‍यो, २ घन्टाभन्दा बढी पानीमा रुझेरै दौडिएँ, देशको नाम राख्नु थियो, यही उत्साहले दौडिएँ, अन्तत: जित भयो, धेरै खुसी छु।’ 

यो जितबाट उनका प्रशिक्षक पूर्ण तामाङ पनि हर्षित छन्।

उनले नेपालखबरसँग भने, ‘पहिलो नै हुन्छ भन्नेचाहिँ लागेको थिएन, टप थ्रीमा पर्छ भन्ने पूर्ण विश्वास थियो। त्यसको निकै फ्याक्टर छन्, पहिलो- सबै छानिएर गएका उत्कृष्ट प्रतियोगी हुन्छन्, अर्को यो निकै ठूलो टाइटल रहेको प्रतियोगिता हो, अनि एकदमै गर्मी ठाउँ। यी फ्याक्टरले म चिन्तित थिएँ, तर रसिलाले हामीलाई निराश बनाइनन्। अर्को खुसीको कुरा उनी यो प्रतियोगितामा पहिलो नेपाली विजेता बनेर नाम राखिन्। सगरमाथामा हालसम्म हजारौँले शिखर चुमिसके तर तेन्जिङ शेर्पा र एडमन्ड हिलारीको जस्तो नाम अरुको हुँदैन, किनकि उनीहरु सबैभन्दा पहिला चढे, हो, रसिलाको नाम पनि नेपालीहरुका लागि त्यस्तै महत्त्वपूर्ण हुन्छ, यो अर्थमा पनि म रसिलाको प्रशिक्षक हुनुको हैसियतले गर्व गर्दछु।’

रसिला हङकङस्थित टी–८ कम्पनीको प्रायोजनमा इन्डोनेसिया पुगेकी हुन्।  यसको समन्वयकर्ता हङकङ निवासी अल्ट्रा ट्रेल रनर दिनानाथ बगाले हुन्। 

रसिला सोमबार नेपाल फर्कंदैछिन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .