अस्ट्रेलियाको मेलबर्न पार्कमा आज (जनवरी २८) सुरु अस्ट्रेलियन ओपनसम्बद्ध ‘एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी’ प्रतियोगितामा नेपालकी शिभाली गुरुङले विजय सुरुवात गरेकी छन्।
ग्रुप ‘ए’तर्फ पहिलो चरणको सुरुवाती खेल (ओपनिङ म्याच) मा गुरुङले चीनकी जिन्यु झोउलाई हराएकी हुन्।
उनले जिन्यु झोउलाई ६-४, ३-६, १०-७ प्रतिस्पर्धात्मक सेटमा हराउँदै विजय यात्रा सुरु गरेकी हुन्।
पहिलो सेटमा राम्रो सुरुवात गरेकी शिभालीले विपक्षीलाई निकै दबाब दिँदै ६-४ को प्रतिस्पर्धात्मक सेट लिइन्।
दोस्रो सेटमा भने शिभालीले त्यो लय कायम राख्न सकिनन्। प्रतिस्पर्धी जिन्यु झोउले खेलमा सुधार गरिन्। फलत: शिभालीले दोस्रो सेट ३-६ ले गुमाइन्।
तेस्रो निर्णायक सेट सुपर १० टाइब्रेकमा निकै प्रतिस्पर्धा भएको थियो, परिणाम कसको पोल्टामा जाला यसै भन्न सकिने अवस्थामा थिएन।
दुवै खेलाडी मानसिक तथा शारीरिक दबाबमा परेका थिए।
तर अन्तत: शिभालीले जित हासिल गरिन्। शिभाली अस्ट्रेलियन ओपन प्रतियोगिता खेल्ने पहिलो नेपाली हुन्।

कुल ८ किशोरी सहभागी प्रतियोगिता दुई समूहमा ४/४ खेलाडी राखेर पहिलो चरण राउन्ड रोबिनका आधारमा खेलाइएको हो।
अब शिभालीले आफ्नो दोस्रो खेलमा भारतकी जिन्सी दीपकभाइ कनबरसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
शिभाली आईटीएफ वरीयताको ७३७औँ स्थानमा छिन्।
शिभालीको ओभरअल जित ८१ प्रतिशत छ।
जनवरी ३० सम्म सञ्चालन हुने प्रतियोगितामा कुल २७ म्याच हुनेछन्।
जसमा २२ जित र ५ हार हुनेछन्।
क्ले कोर्टतर्फ १४ जित र २ हार गरी ८८ प्रतिशत जितदर छ भने हार्ड कोर्टतर्फ ८ जित र ३ हार गरी ७३ प्रतिशत जितदर छ।
एक हप्ताअघि नै मेलबर्न पुगेकी थिइन् शिभाली

फरक हावापानी तथा नयाँ परिस्थितिमा आफूलाई अभ्यस्त गराउँदै खेलमा सशक्त प्रस्तुति दिने योजनाका साथ शिभाली गत डिसेम्बर २२ मै मेलबर्न पुगेर नयाँ कोर्टमा थप अभ्यास गर्दै पूर्वतयारीमा लागेकी थिइन्।
आफ्ना पिताका साथ त्यहाँ पुगेकी उनलाई तमु समाज भिक्टोरियाले विमानास्थलमै भव्य स्वागत गरेको थियो।
साथै उनको सम्मानमा रात्रिभोजसमेत आयोजना गरिएको थियो। जसमा समाजका झन्डै ५० जना सदस्य सहभागी थिए।

सो अवसरमा शिभालीलाई शुभकामना दिँदै उनीहरूले प्रशंसापत्रका साथ एक हजार अस्ट्रेलियन डलरसमेत प्रदान गरे।
शिभालीलाई नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मुल, तमु समाज भिक्टोरियाका अध्यक्ष तेज गुरुङ, सचिव अरुण गुरुङ र सहसचिवहरू अशोक गुरुङ र गम गुरुङलगायतले जितका लागि शुभकामना दिएका थिए।
स्वागत कार्यक्रमको संयोजन समाजका सचिव तथा एभरेस्ट युनाइटेड क्लब मेलबर्नका टेनिस कोअर्डिनेटर अशोक गुरुङले गरेका थिए।
मेलबर्नबाट गण्डकी टेनिसलाई ३ लाख सहयोग

गण्डकी प्रदेश टेनिस संघले दुई वर्षदेखि सञ्चालन गरिरहेको ‘ग्रासरुट टेनिस’ प्रशिक्षणका लागि केही समयअगाडि मेलबर्नबाट ३ लाखभन्दा बढी रुपैयाँ सहयोग गरिएको थियो।
सहयोग रकम उनै अशोक गुरुङको पहलमा जुटाइएको थियो। गुरुङ टेनिस विकासका निम्ति मरिहत्ते गर्ने मेलबर्न निवासी नेपाली हुन्।
Shares

प्रतिक्रिया