छापा खबर


रौतहट बम विस्फोट काण्डः न्यायको अन्तहीन पर्खाइ

रौतहट बम विस्फोट काण्डः न्यायको अन्तहीन पर्खाइ

नेपालखबर
कात्तिक २, २०७६ शनिबार १:३४,

पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरबाट ३५ किलोमिटर उत्तर छिरेपछि आउँछ सरुअठा गाउँ।

मूलबाटोबाट करिब एक किलोमिटर पूर्व पसेपछि ७९ वर्षीय श्रीनारायण सिंहको घर पुगिन्छ । उमेरको उत्तरार्द्धमा श्रीनारायणसँग सुनाउनुपर्ने विगतका यादभन्दा रातोदिन बल्झिरहने दुःखको घाउ मात्रै छ।

उनको दुःखका कथा साविकको राजपुर फरहदवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा २०६४ चैत २७ मा घटेको अकल्पनीय घटनाबाट सुरु हुन्छ। फिल्मको झल्को आउने त्यो घटनाको केन्द्रमा जोडिएका कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले भर्खरै पक्राउ गरेको छ।

आलम पक्राउपछि श्रीनारायणलाई फेरि पुरानो दुःख, छोरा गुमाएपछिका छटपटीका दिन र न्यायका निम्ति १२ वर्ष लामो संघर्षको कथा सुनाउने मेसो मिलेको छ।

पहिलो संविधानसभा निर्वाचनको चहलपहलले देहाती गाउँको चहलपहल ह्वात्तै बढाइदिएको थियो । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट उम्मेदवार मोहम्मद आफताब आलमको चहलपहल पनि गरमागरम थियो ।

सीमावर्ती भारतको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा बीएस्सी पहिलो वर्षमा पढिरहेका श्रीनारायणका २२ वर्षीय छोरा त्रिलोक बिदामा घर आएका थिए।

राम्रो बोल्ने खुबी भएका उनलाई आलमको चुनावी प्रचारमा खटिएकाहरूले घरबाट हिँडाइहाले । त्यो दिनको सम्झना श्रीनारायणलाई झलझली छ । चुनावको २ साताअघि १८ चैतमै आलमका मान्छे आएर छोरालाई घरबाट लगिएको थियो । उनले सुनाए, ‘छोरालाई चुनावी प्रचारमा लिएर गएछन् भन्ने थाहा पाएपछि नै मेरो मन थिरमा थिएन ।’

श्रीनारायणलाई बम विस्फोटको घटनाभन्दा विस्फोटपछि भएका घटना लुकाउन भएका आततायी गतिविधिले मन भतभती पोलेको छ । उनले घटनाका प्रत्यक्षदर्शी र अन्य गाउँलेबाट थाहा पाए, चुनावको दिन बुथ कब्जा गर्ने उद्देश्यले आलमको सहोदर काका एवं कांग्रेस नेता पूर्वमन्त्री शेख इद्रिसको फरहदवा राजपुरस्थित गोठमा बम बनाउने काम चलिरहेको थियो।

प्रहरीका अनुसार आलमका अंगरक्षकको काम गर्ने बलरु भन्ने शेख सराजले सल्काएको चुरोट हातबाट खसेलगत्तै ठूलो आवाजमा धूवाँको मुस्लोसहित बम विस्फोट भएको थियो । प्रहरीका अनुसार घटनापछि सराज सार्वजनिक वृत्तमा देखिएका छैनन्।

घटनाको प्रत्यक्षदर्शी रहेका फरहदवा गाउँका ५ जनासँग गरेको कुराकानीअनुसार विस्फोट लगत्तै रुक्साना खातुनका छोरा ओसी अख्तर र श्रीनारायणका छोरा त्रिलोक सामान्य घाइते भएका थिए । अन्य केही मरणासन्न हुने गरी घाइते भए र केहीको तत्कालै मृत्यु भयो ।

आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र शिव पुरीले रौतहटबाट लेखेको समाचारअनुसार घटनामा ठ्याक्कै कति जनाको मृत्यु भयो र कति जना घाइतेलाई पोल खुल्ने डरले मारियो भन्ने खुल्दैन । घटनाको अनुसन्धानमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले पनि घटनामा ठ्याक्कै कति जना मारिए भन्ने यकिन भइनसकेको बताए।

श्रीनारायणले सुनेअनुसार छोरा त्रिलोकलाई खुट्टामा सामान्य चोट मात्रै लागेको थियो । उनले घटनामा २२ जनाजति परेको, बाँचेकाहरूलाई पनि बेहोस हुने इन्जेक्सन दिएर बोरामा हालिएको र राति नै गोठदेखि करिब दुई किलोमिटरको दूरीमा रहेको इँटाभट्टामा हालेर मारिएको दाबी गरे।

घटनाका पाँचै प्रत्यक्षदर्शीले घटनामा मारिएका मानिसबारे फरक फरक संख्या सुनाए पनि उनीहरूको भनाइमा समानता के देखिन्छ भने घटनाको पोल खुल्ने डरले घाइतेहरूलाई समेत समातेर इँटाभट्टामा हालेर बर्बरतापूर्वक मारिएको थियो ।

केही प्रत्यक्षदर्शीले सामान्य घाइतेलाई बेहोस हुने इन्जेक्सन दिएको बताए भने केहीले विष घोलेको पानी खुवाइएको सुनाए । उनीहरूले त्यसको पुष्टि हुने आधार भने सुनाउन सकेनन् ।

नेता आलमका जेठो छोरा नेपाल प्रहरीको अस्पतालमा कार्यरत डाक्टर रहेको र परिवारका अन्य सदस्य पनि चिकित्साशास्त्र पढिरहेकाले उनीहरूले घाइतेलाई मार्न इन्जेक्सन प्रयोग गरिएको आकलन प्रत्यक्षदर्शीको छ।

त्यसो त कैयन् स्थानीय मानिस प्रमाण बिनाका यस्ता अनेकन तथ्यहरूमाथि विश्वास गर्छन् ।

घटनाको पछिल्लो अनुसन्धानमा जुटेका एक प्रहरी अधिकारीले भने विस्फोटपछि घाइतेहरूलाई पोल खुल्ने भन्दै क्रूरतापूर्वक मारिएको सत्य भए पनि कसरी मारियो र त्यसमा प्रत्यक्ष को को संग्लन थिए भन्नेबारे अनुसन्धान जारी रहेको सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad