छापा खबर


किशोरी बलात्कार र हत्याका दोषीलाई अमेरिकामा पक्राउ गरी १९ वर्षपछि नेपाल ल्याइयो

किशोरी बलात्कार र हत्याका दोषीलाई अमेरिकामा पक्राउ गरी १९ वर्षपछि नेपाल ल्याइयो

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ०:५५,

१९ वर्षअघि झापामा एक किशोरीलाई सामूहिक बलात्कारपछि रूखमा झुन्ड्याएर हत्या गरेको आरोपमा जन्मकैदको सजाय पाएका दोषीलाई नेपाल प्रहरीले अमेरिकाबाट पक्राउ गरी ल्याएको छ।

झापा स्थायी घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई बुधबार नेपाल ल्याएको खबर आजको नयाँ पत्रिका दैनिकमा सन्तोष भट्टराईले लेखेका छन्।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) र अमेरिकी प्रहरीको सहयोगमा उनलाई अमेरिकाबाट ‘डिपोर्ट’ गराई नेपाल ल्याइएको हो।

गौतमलाई इन्टरपोल शाखाको प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । उनी करिब दुई वर्षअघि नै नेपाल प्रहरीको आग्रहमा अमेरिकामा पक्राउ परिसकेका थिए । दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा नेपाल ल्याउन ढिला भएको हो।

गौतमलाई अदालतमा उपस्थित गराएर केन्द्रीय कारागार चलान गरिएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए ।

प्रहरीका अनुसार गौतमसहित मनोज खड्का र सीताराम बस्नेत मिलेर २९ असोज ०५७ मा झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई सामूहिक बलात्कारपछि हत्या गरेका थिए ।

सन्ध्या राजवंशी साँझमा आफ्नो घर आएका सीताराम बस्नेतसँग बाहिर निस्किइन् । झापा चन्द्रगढी–३ का बस्नेत, लीलाराज गौतम र मनोज खड्काले त्यही राति सन्ध्यालाई सामूहिक बलात्कार गरी आत्महत्या जस्तो देखाउन चारआलीको जंगलमा रहेको बकैनाको रूखमा झुन्ड्याएका थिए।

त्यसयता फरार रहेका गौतम अमेरिकामा रहेको खुलेपछि नेपाल प्रहरीले उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो ।

सोहीअनुसार १३ फेब्रुअरी २०१८ मा उनलाई अमेरिकाको होमल्यान्ड सेक्युरिटीले पक्राउ गरेको थियो । करिब दुई वर्ष लामो प्रयासपछि उनलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

नेपालमा अपराध गरेर भागेका धेरै व्यक्ति अमेरिकामा छन् । बैंकिङ कसुर मुद्दामा फरार रहेका पवन कार्कीसमेत अमेरिकामा छन् । उनलाई समेत इन्टरपोलले नोटिस जारी गरेको छ । तर, अमेरिकी नागरिक भइसकेको भन्दै उनलाई पक्राउ गरेर नेपाल डिपोर्ट गर्न अमेरिकाले मानेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad