छापा खबर


मेलम्ची अझै अनिश्चित, किन दिइयो बिनाप्रतिस्पर्धा ठेक्का?

मेलम्ची अझै अनिश्चित, किन दिइयो बिनाप्रतिस्पर्धा ठेक्का?

नेपालखबर
असार ६, २०७६ शुक्रबार १:३२,

मन्त्रिपरिषद्ले गत जेठ ६ गते मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छिटोभन्दा छिटो सक्न ४३ करोड रुपैयाँमा ठेक्का दिई तत्काल काम थाल्ने निर्णय गर्‍यो।

निर्णय भएको एक महिना बिते पनि अझै काम सुरु भएको छैन तर ठेक्काचाहिँ दिइएको छ— बिनाप्रतिस्पर्धा। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विकास थापाले लेखेका छन्।

अघिल्लो ठेकेदार इटालियन कम्पनी सीएमसीलाई ३६ करोड रुपैयाँ भुक्तानी गरेको भए गत माघ २७ मै मेलम्चीको पानी काठमाडौं आइसक्थ्यो। ठेकेदारलाई भुक्तानी नदिँदा आयोजना रद्द भएको थियो।

त्यसपछि बाँकी कामका लागि मन्त्रिपरिषद्ले दुई अर्ब ५२ करोड रुपैयाँको लागत स्वीकृति र ठेक्का गर्ने निर्णय गरेको हो। ठेक्काको कुल १० वटा प्याकेजमध्ये दुईवटामा मात्रै प्रतिस्पर्धा हुँदैछ। बाँकी ठेक्का तोकआदेशका भरमा दिइएको छ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल र प्रधानमन्त्रीका पूर्वाधार विज्ञ एवं मेलम्चीका पूर्वकार्यकारी निर्देशक घनश्याम भट्टराईले आठवटा ठेक्का प्याकेज बनाएका छन्। त्यस्तो ठेक्का उनीहरूले मन परेका ठेकेदारलाई धमाधम दिन थालेका छन्।

स्रोतका अनुसार दुईवटा दिइसके। मन्त्रिपरिषद्बाटै काम छिटो सक्न बिनाप्रतिस्पर्धा ठेक्का दिए पनि हुने कार्यादेश प्राप्त भएकाले त्यसैको आडमा व्यापक चलखेल सुरु भएको हो।

ती आठ प्याकेजमध्ये श्रेष्ठ कन्स्ट्रक्सन भन्ने कम्पनीले ग्याभिन वाल लगाउने १७ करोड रुपैयाँको ठेक्का पायो। उक्त कम्पनीका एकजना प्रतिनिधि झोला बोकेर सिन्धुपाल्चोकको मेलम्ची पुगे।

स्थानीयले ‘अरू कुरा बाँकी नै छ, त्यो पूरा भएपछि आउनुहोला’ भन्दै फर्काइदिए। आयोजनाका कार्यकारी निर्देशक कँडेलले भने तीन करोडमा ठेक्का दिएको दाबी गरे।

त्यसैगरी टुन्डी कन्स्ट्रक्सनले सुन्दरीजलमा ६ करोडको ठेक्का पायो। टुन्डीलाई काम गर्ने वातावरण मिलाउन गत साता खानेपानी सचिव दीपेन्द्रनाथ शर्मा, आयोजना प्रमुख कँडेल र प्रधानमन्त्रीका विज्ञ भट्टराई साइटमै पुगे। त्यहाँ पनि मेलम्चीको अन्तर्राष्ट्रिय ठेकेदारका मजदुरले आपूmले भुक्तानी पाउनुपर्ने माग राखे। सात दिनभित्र दिने भनेर कागजै गराए।

मन्त्रिपरिषद्ले सीमएसीले छाडेको काम १० वटा टुक्रामा विभाजन गरी ठेक्कापट्टा गर्ने निर्णय गरेको थियो। त्यसमध्ये आठवटा प्याकेजमा प्रतिस्पर्धा गर्नु नपर्ने भनिएको छ। यसको फाइदा उठाउँदै आयोजना प्रमुख कँडेल र पूर्वाधार विज्ञ भट्टराईले आपूmखुसी ठेकेदार छनोट गर्दै आयोजनामा पठाउन थालेको मेलम्ची साइट कार्यालयका एक अधिकारीले अन्नपूर्णलाई बताए।

यसरी ‘परिचालित’ ठेकेदार स्थानीय बासिन्दा, उपठेकेदार, आपूर्तिकर्ताको मनसाय बुझ्न जाने क्रम रोकिएको छैन। ती अधिकारीका अनुसार ठेक्का भएको औपचारिक जानकारी मेलम्ची साइट र परामर्शदाता ९इन्जिनियर० लाई औपचारिक रूपमा प्राप्त भएको छैन।

‘काम गर्न नदिएको भन्ने हल्ला ९प्रोपोगान्डा० मात्र हो,’ ती अधिकारीले भने, ‘यो प्रोपोगान्डाको उद्देश्य उनीहरू ९भट्टराई र कँडेल० काम गर्न सक्नेवाला पनि छैनन्। उनीहरूले प्रधानमन्त्रीलाई ढाँटेका छन्– हामीले काम सुरु गरिसक्यौं भनेर।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकमा आपूmलाई तत्कालीन खानेपानी सचिव (गजेन्द्र ठाकुर) ले झुक्याएको खुलासा गरेका थिए।

आयोजनाले ती आठवटा लटका लागि कुनकुन ठेकेदारसित सम्झौता गरेको भन्ने विवरण साइट कार्यालय र परामर्शदातालाई दिएको छैन। काम सुरु गर्न ठेक्का सम्झौता हुनुपर्छ। उक्त सम्झौताको जानकारी परामर्शदातालाई औपचारिक रूपमा गराउनुपर्छ। त्यसका आधारमा परामर्शदाताले कार्ययोजना र ठेक्का व्यवस्थापन गर्छ।

आयोजना स्रोतका अनुसार हाल साइट सर्वेक्षण गरेर आएका टुन्डी र श्रेष्ठ कन्स्ट्रक्सनले यसअघि मेलम्चीमा काम गरेका छैनन्। अबको केही दिनभित्र मेलम्चीको पानी सुरुङभित्र छिर्न नदिन वर्षाअघि नै ग्याभिन वाल लगाएर रोक्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad