ad ad

छापा खबर


सडकमा खसेको ७ लाख रुपैयाँ जब महिला इन्सपेक्टरले देखिन्...

सडकमा खसेको ७ लाख रुपैयाँ जब महिला इन्सपेक्टरले देखिन्...

नेपालखबर
पुस ३, २०७८ शनिबार ६:५१, काठमाडौँ

गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए।

महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका–१० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन् । त्यसक्रममा उनले सडकमा अनौठो दृश्य देखिन्। व्यस्त बीच सडकमा दुई युवा छिटोछिटो पैसाको बन्डल टिपेर झोलामा राख्दै थिए । ती युवा अलि आत्तिएको र हडबड गरिरहेको उनले ठम्याइन्।

सडकमा सवारीसाधन गुडिरहेका थिए । पैदल यात्रु पनि थिए । तर, कसैले पनि यो दृश्यलाई गम्भीर रूपमा लिएको प्रहरी निरीक्षक पाण्डेले पाइनन् । आफ्नै मनको एक कुनाले उनलाई भन्यो, ‘पैसा उनीहरूकै भएकाले कसैले केही भनेनन्।’

तर, अर्को मनले भन्यो, ‘पैसा उनीहरूकै भएको भए उनीहरू आराम साथ टिप्थे । सडकको छेउमा एकछिन गफिन्थे पनि । हडबडाहट पनि गर्दैनथे । र, पैसा टिप्नेबित्तिक्कै मोटरसाइकल हुँइक्याउँदैन थे।’

आफ्नो मनको पछिल्लो तर्कसँग उनी नजिक भइन् । त्यसपछि उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन् । ‘कतैबाट पैसा हराएको सूचना आएको छ?’ उनको प्रश्न भुईंमा खस्न नपाउँदै जवाफ आयो– छ।’

त्यसपछि हतार हतार सडकबाट त्यो पैसा टिप्नेहरूको पैसा नभएको निष्कर्षमा उनी पुगिन् । र एउटा जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नतर्फ लागिन्।

हटलाइन नम्बर उठाउने प्रहरी कर्मचारीसँग उनले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नम्बर मागिन् । तर, उनी बिदामा रहेको जानकारी पाइन् । त्यसपछि उनले जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालको नम्बर लिएर सम्पर्क गर्न खोजिन् । डीएसपी रिजालले रिसिभ नगरेपछि उनले ‘सर, आइएम इन्स्पेक्टर अनिता महत’ भनेर म्यासेज गरिन् । त्यसपछिको कल भने डीएसपी रिजालले रिसिभ गरेपछि आफूले देखेको सबै विवरण सुनाइन् । मोटरसाइकल नम्बर पनि टिपाइन्।

प्रहरी निरीक्षक महत र डीएसपी रिजालको टेलिफोन कुराकानीपछि भने अनुसन्धान प्रक्रियाले तीव्रता पायो । भोलिपल्ट २७ मंसिरको बिहानैदेखि डीएसपी रिजालले आफूले पाएका सूचनाका आधारमा तुलसीपुरस्थित यातायात कार्यालयबाट मोटरसाइकलको खोजी थाले।

सोधखोजकै क्रममा मोटरसाइकल धनीको पहिचान खुलेपछि इलाका प्रहरी कार्यालयले तुलसीपुर उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी पोस्ट जसपुरलाई त्यसको रिले ग¥यो । जसपुर प्रहरीले लगत्तै तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई सम्पर्क ग¥यो।

उनीसँगको सम्पर्कपछि रकम कसरी हरायो? निमबहादुरको हातमा कसरी त्यो रकम पुग्यो रु उनीहरूले त्यो रकम कसरी राखेका थिए भन्ने बाहिर आयो । सिभिल पोसाकमा बाटोमा हिँडिरहेकी प्रहरी निरीक्षक महतको शंका र त्यसपछि उनले चालेको असल कदमले पीडितले पनि हराएको रकम पाउन सके। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

प्रहरी निरीक्षक महतले जसरी एउटा असल नागरिकको जिम्मेवारी बहन गरेकी थिइन्, रकम फेला पार्ने निमबहादुरले पनि त्यसैगरी असल नागरिकको जिम्मेवारी बहन गरेको पाइएको छ । उनले रकम फेला परेपछि सुरक्षित ढंगले राखेका थिए । प्रहरीले सोधखोज गर्दा पनि उनले कुनै कुरा लुकाएका थिएनन्।

खासमा घोराहीको भरतपुरमा साथीको विवाहबाट फर्किंदै गर्दा बाटोमा उनी र अर्का एक जनाले पैसा देखेपछि टिपेर ल्याएका थिए । सर्रा चोक पुग्नुभन्दा १ सय मिटर पूर्वतर्फ सडकमै केही पैसा झोला बाहिरै निस्किएको र केही झोलामै देखेपछि उनीहरूले पैसा टिपेका थिए । तर, त्यसको जानकारी भने उनीहरूले प्रहरीलाई दिएका थिएनन् । उल्टै झमेलामा पर्ने ठानेर प्रहरीलाई जानकारी नदिएको उनको भनाइ छ ।

पैसा धनी शर्माका अनुसार, त्यस दिन उनी घोराहीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर झोलामा राखेर मोटरसाइकलको लेगगार्डमा झुन्ड्याएर पश्चिम घर जाँदै थिए । त्यसक्रममा झोला चुँडिएर त्यो पैसा खसेको थियो । त्यसपछि उनले त्यसको जानकारी प्रहरीलाई दिएका थिए।

भेटिएको रकम डीएसपी रिजाल र प्रहरी निरीक्षक महतले संयुक्त रूपमा धनी शर्मालाई हस्तान्तरण गरेका छन्। प्रहरी निरीक्षक महतले आफ्नो चासो र सक्रियताका कारण रकम भटिएको र रकम धनीलाई बुझाउन पाउँदा खुसी लागेको बताइन् । उनले एउटा असल प्रहरीले ड्युटीमा हुँदा वा नहुँदा आफ्नो कर्तव्य पालनातर्फ जहिल्यै पनि गम्भीर हुनुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .