ad ad

छापा खबर


अत्यधिक पग्लँदै हिमाल, एसियामा पानी अभावको जोखिम

अत्यधिक पग्लँदै हिमाल, एसियामा पानी अभावको जोखिम

नेपालखबर
पुस ७, २०७८ बुधबार ७:३२, काठमाडौँ

विश्वव्यापी रूपमा तापक्रम वृद्धिका कारण नेपालसहित छिमेकी देशका हिमनदी अपत्यारिलो ढंगमा पग्लिइरहेको पाइएको छ। 

यसले एसियाको तल्लो तटीय क्षेत्रका लाखौं मानिसको पानी आपूर्तिमा असर पर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ। जसअनुसार हिमनदीहरूले पछिल्लो सय वर्षमा करिब ४० प्रतिशत हिउँ क्षेत्र गुमाएका छन्। 

हिमनदीहरू पहाडमा बस्ने करिब २५ करोड मानिसका लागि पानीको महत्वपूर्ण स्रोत हुन्। सन् २०१९ मा प्रकाशित एक प्रतिवेदनका अनुसार उपत्यकाहरूमा बस्ने थप १ अर्ब ६५ करोडका लागि पनि पानीको मुख्य स्रोत हुन्। 

हिमालय क्षेत्रका हिमनदीहरूबाट हिउँ हराइरहेको छ। विगतका शताब्दीहरूको औसत दरभन्दा कम्तीमा यो १० गुणा बढी छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकला खड्का र दिनेश गौतमले लेखेका छन्।

विश्वका अन्य भागको तुलनामा हिन्दु कुश क्षेत्रका हिमनदी तीव्र गतिमा संकुचन आइरहेको तथ्य साइन्टिफिक रिपोर्ट्स नामक जर्नलमा सोमबार प्रकाशित छ।

 ‘हाम्रा खोजहरूले स्पष्ट रूपमा यो देखाउँछन् कि हिमालय क्षेत्रका हिमनदीहरूबाट हिउँ हराइरहेको छ। विगतका शताब्दीहरूको औसत दरभन्दा कम्तीमा यो १० गुणा बढी छ’, अध्ययनका प्रमुख जोनाथन क्यारिभिकले भनेका छन्, ‘तीव्र हानिको यो गति विगतका केही दशकमा मात्र देखापरेको हो।’ यो क्रमलाई जलवायु परिवर्तनले सहयोग पुर्‍याएको क्यारिभिकको भनाइ छ। उनी युनिभर्सिटी अफ लिड्सका प्राध्यापक हुन्। 

हिन्दु कुश हिमालय क्षेत्र अन्र्टाटिका र आर्कटिकपछि विश्वकै तेस्रो ठूलो बरफको क्षेत्र मानिन्छ। यस क्षेत्रलाई बरफको विशाल भण्डारका लागि विश्वको तेस्रो ध्रुव ‘थर्ड पोल’ भनेर चिनिन्छ। जहाँ सगरमाथा, केटु र अन्य प्रसिद्ध चुचुरासमेत छन्। 

हिमालहरू करोडौं वर्ष पुराना भए पनि हिमनदी परिवर्तनशील जलवायुप्रति अत्यन्तै संवेदनशील छन्। सन् १९७० को दशकयता विश्वको तापक्रम बढ्न थालेपछि यी विशाल बरफ लगातार पग्लिँदै गएका छन्।

ग्यास, कोइला र तेलजस्ता जिवास्मा इन्धन जलाउँदा वायुमण्डलमा कार्बनडाइअक्साइड  र मिथेनजस्ता हरितगृह ग्यास उत्सर्जन हुन्छ। यसका अतिरिक्त कार्बनडाइअक्साइडले वायुमण्डल र महासागरको तापक्रम वृद्धि गर्ने वैज्ञानिकहरूको भनाइ छ। 

‘हामीले हिमनदीहरूमा मानव गतिविधिले सिर्जित जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तुरुन्तै कदम चाल्नुपर्छ’, अध्ययनकर्ता क्यारिभिकले भनेका छन्। 

सहअध्ययनकर्ता साइमन कुकले यस क्षेत्रका मानिसले शताब्दीयौंदेखि देखेका परिवर्तन अझै तीव्र हुँदै गएका बताएका छन्। ‘यसले सम्पूर्ण राष्ट्र र क्षेत्रहरूमा महत्वपूर्ण प्रभाव पार्नेछ’, डुन्डी विश्वविद्यालयका कुकले भनेका छन्। 

विश्वमा ४००–७०० वर्षअघि ठूलो मात्रामा हिमनदीको विस्तार भएको अध्ययनले देखाएको छ। पछिल्लो अध्ययनमा हिमालय क्षेत्रका १४ हजार ७ सय ९८ हिमनदीको अवस्था छोटो बरफ युग अर्थात लिटिल आइस एज (एलआईए)सँग तुलना गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .