ad ad

छापा खबर


उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ

उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ

नेपालखबर
पुस १२, २०७८ सोमबार ६:५८, काठमाडौँ

काठमाडौंका दीपेशकुमार पौडेल आइतबार छोरीसहित विराटनगरबाट घर फर्किंदै थिए। सिरहाको गोलबजारस्थित मुख्य चोक पुगेपछि सडकभरि हातमा लट्ठीभाटासहित उभिएका मानिससँग जम्काभेट भयो। 

भिडले उनको प्रदेश ३–०१–०२३ च ८२९७ नम्बरको कारमाथि लट्ठीभाटा बर्साउन थाल्यो। गाडी छेउ लगाउन नपाउँदै सिसा चकनाचुर भयो। गाडीभित्रै रहेकी उनकी छोरी चिच्याउन थालिन्। छोरी सम्हाल्नु कि गाडी जोगाउनु, पौडेल निकै सकसमा परे।

सडकमा उभिएका गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष राईसमक्ष पुगेर घटनाबारे जानकारी गराउँदै उनले सुरक्षा मागे। र, केही घण्टाको विश्रामपछि सिसा फुटाइएको गाडी चलाएर सुरक्षा इस्कर्टिङमा काठमाडौंतर्फ लाग्दै गर्दा उनले भने, ‘जहाँको भए पनि भिड त भेडै हुँदोरहेछ तर मैले यो नियति भोग्नुमा सुरक्षाकर्मी दोषी हुन्। गोलबजारमा लगामविहीन उग्रता देखेपछि सुरक्षाकर्मीले हामीलाई पछाडि नै रोकिदिएको भए आज मसहित अरू थुपै्र मानिसको सम्पत्ति जोगिने थियो’, उनले भने, ‘सुरक्षाकर्मीले लगामविहीन उग्रतालाई निरीह बनेर हेरिदिँदाको मार हामीजस्ताले भोग्नुपर्‍यो। सर्वसाधारणलाई क्षति पु¥याएर राज्यलाई सुनाउने कृत्य रोकिनुपर्छ।’

ना५ख ५२२ नम्बरको ट्रकका चालक विशाल तिमलसिना उदयपुरको गाईघाट जाँदै थिए। ट्रक गोलबजार नगरपालिकाको चोहर्वा चोक पुगेपछि चारैतिरबाट ढुंगा बर्सिन थाल्यो। गाडी रोकेर अगाडि हेर्दा लाठीभाटासहित मानिसको भिड ट्रकतिर दौडिँदै थियो।

अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे। एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो। तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो। केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो। प्रहरी आएपछि दौडिँदै आएका तिमलसिना भक्कानिँदै आफ्नो ट्रकमा आगो फुक्नुको कारण सोधिरहेका थिए।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको लगामविहीन उग्रताको सिकार हुन पुगेका यी दुई प्रतिनिधि हुन्। घटनामा थुपै्र सवारीसाधन तोडफोड गरिएको प्रहरीले जनाएको छ। सार्वजनिक सवारीसाधनमा सवार यात्रु घाइतेसमेत भएको प्रहरीले जनाएको छ।

यो खबर आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन्।

जनमत पार्टीले आइतबार सिरहामा आमहडताल घोषणा गरेको थियो। सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बीउ केही उच्छृंखल व्यक्तिको उक्साहटमा मंगलबार लुटिएको थियो। गाउँपालिकाले लुटपाटमा संलग्नमाथि कारबाहीका लागि प्रशासनलाई गुहार्‍यो। प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा स्थानीय मिथलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलायो।

सिरहा प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेका अनुसार गहुँको बीउलगायत सार्वजनिक सम्पत्ति लुटपाटमा संलग्न व्यक्तिलाई बिनाकारबाही छोड्नुपर्ने दबाब नमानेपछि जनमत पार्टीका कार्यकर्ताले उग्रता प्रदर्शन गरेका हुन्।

आइतबारको उग्र प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनीमा संलग्न १४ जनालाई पक्राउ गरिएको एसपी पाण्डेले बताए। उनका अनुुसार १४ वटा सवारीसाधनमा तोडफोड र एउटा ट्रकमा आगजनी भएको छ। प्रहरीका दुई र सशस्त्र प्रहरीका एक गरी तीनजना घाइते भएको उनले बताए।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लियो।

लगत्तै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा जनकपुरधाममा उग्र प्रदर्शन सुरु गर्‍यो। अख्तियारको बर्दिवास कार्यालयम पुगेर समेत जनमतका कार्यकर्ताले प्रदर्शन गरेका थिए।

कात्तिक ४ गते जनकपुरधामस्थित खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख राजेश कुशवाहालाई जनमतका कार्यकर्ताले दुर्व्यहार गरे। ‘जनकारबाही’ का नाममा कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै बन्धक बनाएर हिलो छ्यापेर नगर परिक्रमा गराएका थिए।

जनमत पार्टीका अध्यक्ष सिके राउतको घर जाने बाटोमा जमेको पानी निकास गरी सडक दुरुस्त नपारेको झोकमा कुशवाहाको शरीरको माथिल्लो भाग नाङ्गै पारी जनमत पार्टीका कार्यकर्ताले शरीरमा हिलो छ्यापेर नगर परिक्रमा गराएका थिए।

मूलधारको राजनीतिमा अवतरित भएपछि जनमत पार्टी सुषुप्त रूपमा बसेको थियो। जनमतका कार्यकर्ताले विभिन्न पालिकामा भएको भ्रष्टाचारको मुद्दा छिटफुट रूपमा उठाउँदै आएका थिए। तर अख्तियारले प्रदेश सरकारको मुख्यालयमा छापा मारेपछि जनमत पार्टी प्रदेशका विभिन्न जिल्लामा आफ्नो उपस्थिति देखाउन लागि परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .