छापा खबर


बुढ्यौली भगाउने विधि

बुढ्यौली भगाउने विधि

नेपालखबर
पुस ५, २०७६ शनिबार ४:११,

पञ्चकर्म उपचार प्रक्रिया हाल नेपालमा समेत लोकप्रिय हुँदै छ।

शरीरलाई शुद्ध (डिटक्सिफिकेसन) र पुनर्जीवन (रिजुबिनेसन) दिनका लागि उपयोगी मानिने पञ्चकर्मप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादव बताउँछन्।

‘एक दशकअघि मुलुकमा सर्वसाधारणमा पञ्चकर्मबारे खासै चासो र जानकारी देखिएको थिएन,’ डा. यादव भन्छन्, ‘हिजोआज मुलुकमा पढेलेखेका जानकार व्यक्तिहरू बढ्न थालेपछि पञ्चकर्मबारे जिज्ञासा राख्नुको साथै यो उपचार प्रक्रियामा संलग्न हुन थालेका छन्।’

पञ्चकर्म प्रक्रिया रोगी, सिकिस्त बिरामीका लागि मात्र नभई निरोगी व्यक्तिलाई समेत भविष्यमा हुने सक्ने जोखिमलाई न्यूनीकरण गर्दै स्वस्थ जीवन दिलाउन सघाउँछ। पञ्चकर्मले शरीरमा हुने बुढ्यौलीको प्रक्रियालाई घटाई स्वस्थ राख्न सघाउने भएकाले निरोग व्यक्तिहरूसमेत यो आयुर्वेदिक उपचार पद्धतिप्रति आकर्षित भइरहेको डा. यादव बताउँछन् ।

आयुर्वेदमा रोगको उपचार गर्ने दुईवटा विधि ‘शोधन’ र ‘शमन’ हुन्छ। जुन रोग औषधिद्वारा सम्भव छैन, ती रोगको कारक दोषलाई शरीरबाट बाहिर हटाउने पद्घति शोधन हो। शोधनअन्तर्गत शारीरिक व्याधिको कारक रहेका दूषित दोषहरूलाई शरीर बाहिर निकाल्दा धेरैजसो रोग, समस्या आफैं निको हुने मान्यता छ । पञ्चकर्मसमेत यही ‘शोधन विधि’ कै प्राविधिक नाम हो।

‘सामान्य भाषामा भन्ने हो भने जसरी फोहोर कपडालाई धोएर सफा गर्दा यो टल्किन्छ, ठीक त्यस्तै शरीरको शोधनले आन्तरिक अंगहरूलाई सफा गरेर टल्काउँछ,’ डा‍. यादव बताउँछन्।

आयुर्वेदको एउटा प्रमुख ‘शुद्धीकरण’ र ‘मद्यहरण’ उपचार प्रक्रिया पञ्चकर्म पाँचवटा अर्थात् ‘वमन’, विरेचन, नस्य, बस्ती र रक्तमोक्षणजस्ता विभिन्न चिकित्साको सम्मिश्रण हो। यसको उपयोग शरीरमा रोगलगायत अन्य कारणले जम्मा भएका विषाक्त, काम नलाग्ने हानिकारक पदार्थबाट मुक्ति दिलाउनका लागि गरिन्छ।

‘आयुर्वेदअनुसार असन्तुलित दोषले अपशिष्ट पदार्थ उत्पन्न गर्छ । यसलाई आयुर्वेदको भाषामा ‘आम’ भनिन्छ । यो पदार्थ दुर्गन्धयुक्त, लेसिलो र हानिकारक हुन्छ । यही ‘आम’ लाई शरीरबाट बाहिर निकाल्नु आवश्यक हुन्छ।

मानिसभित्र यही ‘आम’ को निर्माण रोक्न आयुर्वेद चिकित्सा पद्धतिले व्यक्तिविशेषलाई उचित आहार दिनुको साथै उपयुक्त जीवनशैली, बानीव्यहोरा तथा व्यायामसँगै पञ्चकर्मजस्तो निर्मलीकरणको प्रक्रिया जारी राख्ने सल्लाह दिन्छ।

‘पञ्चकर्मका विधिहरूले मानव शरीरमा जीव विष उत्पन्न गर्ने तनाव एवं रोग हटाउन सघाउँछ,’ डा. यादव भन्छन्, ‘यो पाँचवटा कर्मले हाम्रो ‘दोष’ लाई पुन: सन्तुलनमा फर्काउँछ।’ यो फर्काउने प्रक्रियाअन्तर्गत पसिना ग्रन्थी, मूत्रमार्ग, आन्द्रा आदिले अपशिष्ट पदार्थलाई उत्सर्जन गर्ने बाटोबाट शरीरमा भएको ‘आम’लाई सफा गर्छ।

पञ्चकर्मले करिब १ सय ४० रोगबाट मुक्ति मिल्ने औंल्याउँदै डा. यादव भन्छन्, ‘यो चिकित्साले वातबाट हुने ८०, पित्तबाट हुने ४० र कफबाट हुने २० प्रकारका रोगको उपचार हुन्छ ।’

आयुर्वेदअनुसार तीनवटा गुणले गर्दा व्यक्तिको प्राकृतिक विशेषता निर्धारित हुन्छ। यी तीनै गुणलाई ‘दोष’ भनिन्छ । यो दोषलाई ‘वात’, ‘पित्त’ र ‘कफ’ भनिन्छ। यिनै तीन दोषको असन्तुलनले त्यो दोषसँग सम्बन्धित लक्षण उत्पन्न हुन्छ।

पञ्चकर्मले हाम्रो फोक्सो, पेट-आन्द्रा, पसिनाको ग्रन्थी, मूत्राशय, मलाशय आदि अंगहरूको माध्यमबाट अपशिष्ट पदार्थलाई शरीरबाहिर निकाल्छ।

रोगी वा निरोगी हरेक व्यक्तिका लागि पञ्चकर्मको प्रक्रिया फरक-फरक हुन सक्छ। यो प्रक्रिया चिकित्सकले ती व्यक्तिको शारीरिक स्थिति, बल, उमेर, रोग प्रतिरोधक क्षमता, रोग आदिलाई हेरेर निर्धारण गर्छन्।

पञ्चकर्म सबै मौसममा गरिने भए पनि यसलाई वसन्त ऋतुमा गर्नु सबैभन्दा बढी उपयुक्त मानिएको छ। यो जानकारी आजको कान्तिपुरमा अतुल मिश्रले पस्केका छन्।

पञ्चकर्म मधुमेह, पक्षाघात, अर्थराइटिस, गठिया, अटोइम्युन रोग, श्वासप्रश्वासको रोग, जीवनशैलीसँग जोडिएको रोग, न्युरोलजिकल डिसअर्डर, छालासम्बन्धी समस्या आदिमा उपयोगी मानिन्छ।

स्नेहन र स्वेदन
पञ्चकर्म गर्नुभन्दा अघि ‘पूर्वकर्म’ गरिन्छ। यसअन्तर्गत स्नेहन र स्वेदन पर्छन् । सामान्य भाषामा भन्ने हो भने ‘स्नेहन’ भनेको शरीरमा विभिन्न प्रकारले तेल मालिस गर्नु र औषधियुक्त घिउ सेवन गराउनु हो । यसले गर्दा शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सजिलो हुन्छ।

स्नेहन, आन्तरिक र बाह्य गरी दुई प्रकारको हुन्छ। आन्तरिक स्नेहनअन्तर्गत औषधियुक्त घिउ सेवन गराइन्छ । यस्तै बाह्य स्नेहनअन्तर्गत शरीरमा औषधियुक्त घिउ-तेलले मालिस गराइन्छ।

स्नेहनबाट हाम्रो शरीर स्निग्ध भएपछि ‘स्वेदन’ को माध्यमले शरीरभित्र भएका ‘दोष’ हरूलाई पगालिन्छ।

स्नेहनको माध्यमले शरीरमा भएको विषाक्त पदार्थहरू मुलायम भएपछि यसलाई पसिनालगायत माध्यमबाट बाहिर निकालिन्छ ।
यो दोष पगाल्ने प्रक्रिया ‘सयाग्नी’ र ‘निराग्नी’ गरी दुई प्रकारले गरिन्छ । सयाग्नीअन्तर्गत आगोरतापको प्रयोग गरेर शरीरमा भएको दोषलाई पगालिन्छ भने निराग्नीअन्तर्गत घामको प्रयोग गरी दोषलाई पगालिन्छ।

पाँच प्रक्रिया
बमन : यसअन्तर्गत शरीरभित्र भएको दोषलाई वान्ताको प्रक्रियाबाट शरीरबाहिर निकालिन्छ । स्नेहन र स्वेदनको माध्यमले तरल पदार्थमा परिणत भएको शरीरभित्र रहेको विषाक्त पदार्थ वान्ताको माध्यमले शरीरबाहिर निस्किन्छ । वमन मुख्य रूपमा कफ दोष हटाउन गरिन्छ ।

विरेचन : यो प्रक्रियामा हाम्रो शरीरको दोषलाई पखाला लगाएर दिसाको माध्यमले शरीरबाहिर निकालिन्छ । यसमा आन्द्रामा जम्मा भएका विषाक्त पदार्थ शरीरबाहिर निकालिन्छ । वमन एकपटक गरेको ७ दिनपछि विरेचन गरिन्छ । विरेचन मुख्य रूपमा पित्त दोष हटाउन गरिन्छ ।

बस्ती : यो प्रक्रिया नाइटोमुनिको भाग (गुदद्वार क्षेत्र)मा गरिन्छ । यसअन्तर्गत तैलीय वस्तु वा काँडायुक्त द्रव्य गुदद्वारका माध्यमले मलाशयमा पठाइन्छ । यो मुख्यतस् वात दोषका लागि राम्रो मानिन्छ । यो आधुनिक चिकित्सा पद्घतिमा गरिने एनिमासँग मिल्दोजुल्दो प्रक्रिया हो । विरेचन गरेको ७ देखि १४ दिनमाबस्ती गरिन्छ ।

नश्य : यो प्रक्रिया घाँटीभन्दा माथिल्लो भागको उपचारका लागि उपयोग गरिन्छ । यसअन्तर्गत नाकमा औषधि हालिन्छ । यसले टाउकोबाट अपशिष्ट पदार्थ निकाल्नमा सघाउँछ । बस्ती गरेको ७ दिनपछि नश्य गरिन्छ ।

रक्तमोक्षण : रक्त शुद्घीकरणको यो प्रक्रिया विभिन्न प्रकारले गरिन्छ । यसअन्तर्गत जुका ९जलौका० लाई प्रयोग गरी अशुद्घ रगत निकालिन्छ । आवश्यक भएकाहरूलाई मात्र नश्य गरेको ७ दिनपछि रक्तमोक्षण गरिन्छ । सम्पूर्ण पञ्चकर्म गर्न २१ देखि ३० दिनसम्म लाग्न सक्छ ।

सामान्यत: १६ वर्षभन्दा मुनि र ७० वर्षभन्दा माथिकालाई पञ्चकर्मबाट बढी फाइदा मिल्दैन । बिरामी वा स्वस्थ व्यक्तिले पञ्चकर्म गराउन हुने वा नहुने कुरा आयुर्वेदिक चिकित्सक, वैद्य आदिले निर्धारित गर्ने भएकाले चिकित्सकीय सल्लाह अत्यन्त आवश्यक मानिन्छ । उसो त बच्चा, वृद्ध, अशक्त, गर्भवती, क्षयरोगी आदिले पञ्चकर्म गराउनु नहुने मान्यता छ ।

फाइदाहरू
आयु वृद्धि
बुढ्यौली प्रक्रिया सुस्त हुन्छ
रोग प्रतिरोधक क्षमता बलियो बनाउँछ
स्मरणशक्तिमा वृद्धि ल्याउँछ
शारीरिक क्रियाहरूको सन्तुलन पुन: फर्किन्छ
शरीर बलियो हुन्छ
पाचन प्रणाली राम्रो हुन्छ
रगतको शुद्धीकरणले छाला स्वस्थ हुन्छ
रक्तसञ्चारमा वृद्धि हुन्छ
मनलाई शान्ति मिल्छ
मानसिक तनाव हट्छ
शरीरको अतिरिक्त बोसो कम हुन्छ
विभिन्न रोग हटेर फाइदा हुन्छ
थकाइ लाग्न कम हुन्छ
स्मरण शक्ति बढ्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .