छापा खबर


गाउँपालिका अध्यक्षको यसरी बित्यो अपहरणकारीसँग १८ घण्टा

गाउँपालिका अध्यक्षको यसरी बित्यो अपहरणकारीसँग १८ घण्टा

नेपालखबर
पुस ८, २०७६ मंगलबार २:१०,

रातको करिब १२ बजेको थियो, शनिबार। बाहिरबाट कसैले ढोका ढकढक्यायो। गाउँपालिका अध्यक्ष भएकाले कोही छिमेकी केही कामका लागि आएको होला भन्ने लाग्यो । श्रीमती इलाले ढोका खोलिन्। मुखमा कालोपट्टी लगाएकाको एक हूल घरभित्र छिरे।

मध्यरात एक्कासि घरमा त्रासदी छायो। उनीहरूले धीरबहादुर शाहीलाई ‘राजनीतिक गफगाफ छ, हामीसँग हिँड्नुस्’ भन्दै कर गर्न थाले।

श्रीमती इलाले नलग्न अनुनय गरिन्। उनको केही लागेन, लैजाने नै भए। उनी पछि लागिन्, श्रीमानसँगै। करिब २ घण्टा टाढाको जंगलमा पुगेपछि उक्त समूहले इलालाई घर फर्कन भन्यो। नफर्के ‘श्रीमानलाई जे पनि हुन सक्ने’ चेतवनी दियो। मनले नमाने पनि उनी फर्कन बाध्य भइन्। ठाँटीकाँध गाउँपालिका अध्यक्ष शाही भने अपहरणमा परे।

५६ वर्षीय शाहीले त्यसपछि आफ्नो जीवनमै पहिलो पटक भयपूर्ण यात्रा थाले। ‘जंगलैजंगल, त्यसमाथि बाक्लो हिउँ,’ अपहरणमुक्त भएपछि शाहीले भने, ‘यो यात्रा त मेरो जीवनमा अविस्मरणीय नै भयो।’ द्वन्द्वकालको त्रासदीबाट उनी परिचित थिए। यस्ता समूह उनले त्यसबेला नदेखेका होइनन्। तर, व्यवहार कस्तो होला, के गर्ने हुन् भन्ने चिन्ता भयो। उनका दुवै मोबाइल फोन समूहले नियन्त्रणमा लिएपछि आफ्नाबारेमा कसैलाई पनि खबर गर्न नसक्ने अवस्था भयो।

अघिपछि ३०-३२ जनाको हतियारधारी समूह, बीचमा शाही । मध्यरातको चिसो चिर्दै उनले राति करिब साढे १२ बजे घरबाट पाइला अघि सारेका थिए। उनले अपहरणको कारण सोधे, जवाफ आयो, ‘राज्यसँग बदला लिन तपाईंलाई अपहरण गरेका हौं।’ उनीहरूले अन्य स्थानीय तहका जनप्रतिनिधिलाई पनि यसैगरी अपहरण गर्ने योजना सुनाए।

राज्यले पक्राउ गरेकाआफ्ना नेता–कार्यकर्ताको रिहाइका लागि दबाब दिन पनि अपहरण गरिएको उनीहरूको भनाइ थियो। ‘व्यवहार राम्रै गरेकाले भने उतिसारो डर लागेन,’ उनले भने, ‘तर कहाँ लैजान्छन्, कति समय राख्छन् भन्ने चिन्ता भने लागिरह्यो।’

बाटो कट्दै गयो, उज्यालो पनि भयो। उनीहरूले मुखको कालोपट्टी पनि खोले। सबै अपरिचित अनुहार थिए। उनको मनमा केही चिसो भने पस्यो । तैपनि खुरुखुरु उनीहरूसँग हिँड्नुको विकल्प थिएन। बीचमा उनीहरूले एक ठाउँमा शाहीलाई भात खान दिए, उनीहरूले भने खाएनन् । १८ घण्टा लगातार हिँडेपछि उनको खुट्टामा फोका उठेका छन्। शरीरमा थकान उत्तिकै छ । ‘बूढो मान्छे, हतार–हतार हिँड्नुपर्ने, कम्ती दुःख भएन,’ उनले भने, ‘अहिले पैताला यताउता गर्न पनि मिलेको छैन।’ यो खबर आजको कान्तिपुरमा ज्योति कटुवालले लेखेकी छन्।

हिमपात भएको ठाउँ हिँडाएकाले चिसो निकै भएको उनले बताए । काँडाले घोच्दा जीउमा जताततै कोतरिएको छ। आर्थिक अनियमितता गरेको र आफ्नो पार्टीविरुद्ध सुराकी गरेको आरोपमा नेत्रविक्रम चन्द समूहले शाहीलाई अपहरण गरेको थियो। प्रहरीले करिब १९ घण्टापछि आइतबार साँझ ६ बजे कालीकोटको शुभकालिका गाउँपालिकाको छाती जंगलबाट उनलाई अपहरणमुक्त गरेको थियो। उक्त जंगल क्षेत्र कालीकोट सदरमुकाम मान्मबाट पूर्वतर्फ करिब ४ घण्टा पैदल दूरीमा पर्छ । अपहरणमुक्त हुँदाको क्षण निकै त्रासदीपूर्ण भयो।

अपहरणकारी समूहले उनलाई छातीको जंगलमा पुर्‍याएका थिए। भीरको गोरेटो । साँझको समय। प्रहरीले घेरा हालिसकेको रहेछ। त्यो थाहा पाएपछि उनीहरू भाग्न खोजे । प्रहरीले एक्कासि फायर खोल्यो । ‘पूरै अँध्यारो थियो, म भित्तामा ओत लागें, उनीहरू कता तितरबितर भए थाहा भएन,’ उनले भने, ‘नजिकै आएका प्रहरीलाई म अध्यक्ष हुँ भनेपछि समातेर आफूसँग लिए ।’ रातारात प्रहरीसँग कालीकोट पुगेकोउनले बताए ।

अपहरणपछि शाही अहिले दैलेख प्रहरीको सुरक्षामा छन् । शाही अपहरण भएको खबर प्रहरीले बिहान करिब ५ बजे पाएको थियो । लगत्तै सुर्खेतस्थित प्रदेश प्रहरी कार्यालयले सम्भावित सबै इकाईलाई निगरानी राख्न आदेश दिएको थियो । प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीका अनुसार शाहीको खोजीमा १ सय ६० जना प्रहरी परिचालन गरिएको थियो । कालीकोटबाट खटिएको प्रहरी टोलीले सकुशल अपहरणमुक्त गरेकोउनले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad