छापा खबर


जुत्ताबाट पत्ता लाग्यो दम्पतीका हत्यारा

जुत्ताबाट पत्ता लाग्यो दम्पतीका हत्यारा

नेपालखबर
पुस १७, २०७६ बिहिबार १:५,

दुई महिनाअघि काभ्रेमा दम्पतीको हत्या भएको घटनाको प्रहरीले अनुसन्धान टुंग्याएको छ ।

पुराना सिक्का र नगद लुट्नका लागि दम्पतीको हत्या भएको प्रहरीले जनाएको छ । गत १९ कात्तिकमा नमोबुद्ध–८ दाप्चामा श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमायाको हत्या भएको थियो ।

हत्यामा संलग्न उदयपुरका किरणकुमार मगर र सुमन राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार पक्राउ गरेको हो ।

‘वास बस्ने बहानामा योजना बनाएरै उनीहरू लुटपाटका लागि त्यो घरमा गएका रहेछन्,’ सिआइबीका एसपी बेलबहादुर पाण्डेले भने, ‘पछि घम्साघम्सी भएपछि हत्या गरेको उनीहरूले बताएका छन् ।’

 मोबाइललगायत प्राविधिक कोणबाट अनुसन्धान गरी विभिन्न व्यक्तिमाथि सोधपुछ गरिएको थियो । घटनाका वेला प्रयोग भएको जुत्ता निर्माण मजदुरहरूले घरको ढलान तथा प्लास्टरमा लगाउने प्रहरीले थाहा पायो।

त्यसपछि प्रहरी अनुसन्धान निर्माण मजदुरतर्फ सोझियो । गाउँमा घर ढलान गर्न गएका दुई युवकमाथि प्रहरीले अनुसन्धान गर्दा निशाना सही साबित भयो ।

डिएसपी बस्नेतका अनुसार पक्राउ परेकाले नै श्रेष्ठदम्पतीको घरमा केही महिनाअघि प्लास्टर गरेका थिए । त्यो घरमा दुईजना मात्र बस्ने र प्रशस्त पुराना सिक्का भएको आशंकामा लुट्न भनेर उनीहरू काठमाडौंबाट अघिल्लो दिन गएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार उनीहरू सो घरमा पुग्दा बेलुकाको करिब नौ बजिसकेको थियो, श्रेष्ठदम्पती सुतिसकेका थिए । उनीहरू झ्यालबाट घरभित्र छिरे । घरमा कोही छिरेको थाहा पाएपछि श्रेष्ठदम्पती उठेका थिए ।

उदयपुरबाट काठमाडौं जान लागेको र रात परेकाले वास बस्न आएको बहाना उनीहरूले बनाए । आफ्नो घर बनाउने मजदुरहरू नै आएपछि श्रेष्ठदम्पतीले उनीहरूलाई खाना खुवाए । सँगै मदिरा पिएर दम्पती सुत्न भनी माथिल्लो तलामा गए, उनीहरू तल्लो तलामा सुते ।

बेलुका पैसालगायत धनमाल चोर्न भनेर उनीहरू माथिल्लो तलामा गएको थाहा पाएपछि श्याम कृष्ण उठे । ती युवकले थप मदिरा खान मन लागेकाले बोलाउन आएको बहाना गरे । श्यामकृष्णले थप मदिरा पनि दिए । चोर्न सहज नहुने देखेपछि उनीहरूले श्याकृष्णलाई नियन्त्रण गर्न खोजे । घाँटी अठ्याएपछि श्यामकृष्णले पनि प्रतिकार गरे ।

त्यसपछि जुटको डोरीले बाँधेर खुर्पाले हानी श्यामकृष्णको हत्या गरे । हल्ला भएपछि रुकुमाया तल्लो तलामा आइन् । श्रीमान्को हत्या भएको देखेपछि उनी झ्यालबाट भाग्ने प्रयास गरिन् । तर, उनीहरूले रुकुमायालाई पनि खुर्पा र बियरको बोतलले हानेर हत्या गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad