छापा खबर


कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव

कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव

नेपालखबर
फागुन १२, २०७६ सोमबार ०:५३,

कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन्।

सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए ।

सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहिताको समेत उल्लंघन गरेका छन्।

गत ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्ताका लागि आचारसंहिता जारी गरेका थिए।

तर, प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे।

तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइयो।

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि जन्मोत्सव कार्यक्रममा पुगे।

गाउँपालिकाले प्रधानमन्त्रीको जन्मदिनलाई भव्य बनाउन ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्ल्याक्स र ६९ कलसको व्यवस्था गरेको थियो । कलस बोकेर स्कुले बालबालिका प्रधानमन्त्रीको स्वागतमा उभिएका थिए । गाउँ गाउँबाट बृद्धबृद्धालाई गाडीबाट कार्यक्रममा ल्याउने व्यवस्था गरिएको थियो।

तेह्थुम जानुअघि प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद, मन्त्रीहरू, सचिवालय टिम र उच्च अधिकारीहरूको उपस्थितिमा सरकारी निवास बालुवाटारमा पनि केक काटेका थिए ।

उनलाई शुभकामना दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुबास नेम्बाङलगायतका मन्त्री तथा नेताहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली ०२२ सालमा जन्मस्थान आठराइ (तत्कालिन इवा गाविस–२ तीनसल्ले) छाडेर राजनीतिमा सक्रिय भएका थिए ।

दुई बर्षपछि ०२४ मा पिता मोहनप्रसाद परिवारसहितै झापा झरे । त्यसपछि ओलीको आठराइ ओहोरदोहर पनि हरायो ।

नेकपाले गत ५ माघमा जन्म दिवस, पास्नी, ब्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सिमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता÷कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको थियो ।

आचारसंहितामा छोराछोरीको विवाहसमेत सरल र मितव्ययी बनाउन निर्देशन दिइएको छ । तर, ओलीको जन्म दिनलाई उत्सवकै रुपमा मनाउन पार्टी नेतृत्वमै रहेको गाउँपालिकाले सार्वजनिक बिदा मात्र दिएन, केन्द्रदेखि स्थानीय तहसम्मले तामझाममा राज्य कोष लाखौं रकम समेत खर्च गरे।

मन्त्रीहरू हेलिकप्टर चढेर र तीन दर्जनभन्दा बढि गाडीका लस्करसहित सरकारी अधिकारी र पार्टी नेताहरू ओलीको जन्म घर पुगे । ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ। छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ आचारसंहितमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad