छापा खबर


गुनासा बोकेर प्रदेशप्रमुखहरू चार दिनदेखि काठमाडौंमा, तर राष्ट्रपति र प्रधानमन्त्रीले दिएनन् भेटको समय

गुनासा बोकेर प्रदेशप्रमुखहरू चार दिनदेखि काठमाडौंमा, तर राष्ट्रपति र प्रधानमन्त्रीले दिएनन् भेटको समय

नेपालखबर
चैत ३, २०७६ सोमबार २:०,

संविधानले दिएको अधिकारसमेत प्रयोग गर्न नपाएको लगायत गुनासा लिएर सातै प्रदेशका प्रमुख काठमाडौं आएका छन्।

प्रदेशप्रमुखको कार्यालयमा दरबन्दीअनुसार, कर्मचारी नरहेको र अन्य साधनस्रोतसमेत अभाव भएको उनीहरूको गुनासो छ।

संविधानले प्रदेशप्रमुखका अधिकार ठोसरूपमै किटान गरे पनि त्यससँग जोडिएका ऐन, नियमावली र कार्यविधि नबनेकाले अधिकार प्रयोग गर्न नपाइएको प्रदेशप्रमुखहरूको भनाइ छ।

यही विषयलाई सम्बोधन गर्न उनीहरू राष्ट्रपति, प्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्षलाई भेटन काठमाडौं आएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

आइतबार प्रदेशप्रमुखहरूले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। भेटमा अधिकार र व्यवस्थापकीय दुवै पक्षमा छलफल भएको तथा नेकपा अध्यक्षले यो विषय प्रधानमन्त्री र पार्टीमा छलफलका लागि पहल गर्ने आश्वासन दिएका छन्।

काठमाडौं आएका प्रदेशप्रमुखहरूका लागि ललितपुरस्थित धापाखेलको डाउटाउन अपार्टमेन्टमा सरकारले सामूहिक आवासको व्यवस्था गरेको छ।

संविधानले प्रदेशप्रमुखहरूलाई दिएको अधिकार प्रयोगका लागि कानुन, नियमावली र कार्यविधि तत्काल बनाउन ध्यानाकर्षण गराएको प्रदेश २ का प्रमुख तिलक परियारले बताए।

‘प्रदेशप्रमुखलाई कार्यकारी अधिकार छैन, तर संविधानले खास–खास समयमा अधिकार प्रयोग गर्नसक्ने व्यवस्था गरेकाले कार्यान्वयनका लागि ऐन, नियम र कार्यविधि नभएपछि के अर्थ रह्यो र भन्ने हाम्रो भनाइ हो,’ प्रदेशप्रमुख परियारले भने।

जिम्मेवारी सम्हालेको साढे पाँच महिनापछि प्रदेशप्रमुखहरूले सामूहिक परामर्श गरेर प्रदेशका समस्या हल गर्ने प्रयास थालेका हुन्।

नेकपा अध्यक्ष प्रचण्डसँगको भेटपछि प्रदेशप्रमुखहरू प्रधानमन्त्री भेटेर स्वास्थ्य लाभको कामना गर्ने र आफ्ना विषय राख्ने गरी सिंहदरबार पसेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य रहेकाले भेट नभएको परियारले बताए।

राष्ट्रपति विद्या भण्डारीलाई पनि भेटेर प्रदेशप्रमुखहरूले आफ्ना समस्या, गुनासो र मागहरू राख्ने तयारीमा छन् । भेटका लागि उनीहरूले समय पनि मागेका छन् । तर, राष्ट्रपति भण्डारी अस्वस्थ रहेका कारण भेटवार्ताका लागि समय नपाएको प्रदेशप्रमुख परियारले बताए ।

भेटले जन्मायो विवाद
‘सेरोमोनियल’ भूमिका र जिम्मेवारीमा रहेका प्रदेशप्रमुखहरूले पदीय मर्यादालाई भुलेर निवासमै पुगेर दलका प्रमुखलाई भेटेर माग राखेको भन्दै उनीहरूको पछिल्लो कदमको आलोचना भएको छ।

नेकपाक प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेशप्रमुखहरूले कुन उद्देश्यले के कामका लागि भेटेको हो आफूलाई औपचारिक जानकारी नभएको बताए।

‘राष्ट्रिय पार्टीका नेताहरूको ध्यानाकर्षण गराएको भए बेग्लै कुरा हो, तर उहाँहरूले के उद्देश्यका साथ किन भेटघाट गर्नुभो, मलाई औपचारिक जानकारी छैन,’ श्रेष्ठले भने, ‘सामान्यतया उहाँहरूले संविधानले दिएको अधिकारभित्र रहेर संवैधानिक कर्तव्य पूरा गर्ने हो ।’

उता, समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा अहिले पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिस्ट प्रणाली नरहेको भन्दै प्रदेशप्रमुखहरूको गतिविधिको आलोचना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad