छापा खबर


साँझ पर्नेबित्तिकै माइती र ससुराली भन्दै नेपाल प्रवेश गर्ने भारतीयको लर्को

साँझ पर्नेबित्तिकै माइती र ससुराली भन्दै नेपाल प्रवेश गर्ने भारतीयको लर्को

नेपालखबर
चैत २४, २०७६ सोमबार १:२३,

खुला सीमा नाकाको फाइदा उठाउँदै माइती-ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन्।

भारतमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका खबर आजको गोरखापत्र दैनिकमा विराटनगरबाट नवराज कट्टेलले लेखेका छन्।

नेपाल–भारतको मुख्य नाका रानी-जोगवनीमा ढाट लागेको छ। तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ।

खुला सीमा नाकाको ६३ किलोमिटर दूरी क्षेत्र दिनभर सुनसान हुने गरे पनि साँझ परेपछि माइती–ससुरालीमा पाहुनाको ताँती लाग्ने गरेको छ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायसँग सीमापार भारतीय क्षेत्रको संस्कृतिदेखि ज्वाइँ र बुहारीको नाता छ। वैध र अवैध दुवै खालको व्यापारदेखि नाता सम्बन्ध जोडिएका क्षेत्र भए पनि कोरोना सन्त्रासबाट जोगिन नेपाल आउनेबाट दक्षिणी क्षेत्रका बासिन्दा भने अहिले चिन्तामा छन्।

नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायको उपस्थिति रहनेगरेका कारण दिउँसो नाका सुनसान रहनेगरेको हो। तर साँझ परेपछि दुवैतर्फ खुला हुन्छ।

रातभर भने पूरै खुला हुने भएपछि सोही मौकामा नेपाल आउनेको लर्को लाग्ने गरेको सार्वजनिक माध्यमिक विद्यालय जहदाका शिक्षक अजय सिंहले बताए।

जहदाको नोचा, डमुरिया र तारिगामा नाकाबाट दैनिक दुई सय ५० को हाराहारीमा नेपाल प्रवेश गर्ने गरेको शिक्षक एवं स्थानीयवासी सिंहको भनाइ छ।

स्थानीयवासीले यसरी सीमा नाका हुँदै आउनेलाई रोक लगाउने प्रयाससमेत गरिसकेका छन् तर नेपालमा रहेका आफन्त भेटघाट गर्न आएको भनेपछि उनीहरूका आफन्तसँग सम्पर्क गर्दै एकिन गरेर छाड्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad