छापा खबर


पत्नीको हत्या गर्ने पूर्वडिआइजी कोइराला आज जेलमुक्त हुँदै, सर्वोच्चले किन गर्‍याे साढे ११ वर्ष कैद सजाय मिनाहा?

पत्नीको हत्या गर्ने पूर्वडिआइजी कोइराला आज जेलमुक्त हुँदै, सर्वोच्चले  किन गर्‍याे साढे ११ वर्ष कैद सजाय मिनाहा?

नेपालखबर
साउन ८, २०७७ बिहिबार २:४२,

जघन्य अपराधहरूमध्ये कर्तव्य ज्यानसम्बन्धी मुद्दालाई सबैभन्दा गम्भीर प्रकृतिको अपराध मानिन्छ । तर, सजायको अवस्था भने त्यस्तो छैन ।

कर्तव्य ज्यान मुद्दाका कैदीहरू अन्य जघन्य प्रकृतिका अपराधका मुद्दाभन्दा छिटो छुट्ने गरेका छन् ।

श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त हुँदै छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शिल्पा कर्णले लेखेकी छन्।

सर्वोच्च अदालतले १५ असारमा उनको सजाय घटाउने फैसला गरेको हो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो।

सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो । तर, अब उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ । जसका कारण उनी बिहीबार जेलमुक्त हुँदै छन्।

पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेको जस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।

यसमा मुख्य आधार कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ । अन्य मुद्दामा महिनौँपछि पूर्णपाठ तयार गर्ने सर्वोच्चले यो मुद्दाको पूर्णपाठ १५ दिनमै तयार गरिसकेको थियो।

प्रमाण लुकाउने गरी अपराध
०५० मा गीता ढकालसँग मागी विवाह भए पनि राजीखुसीमा नभई बुबाआमाको करले गरेको रञ्जन कोइरालाले बताएका छन् । विवाहको आठ वर्षपछि नै उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए । गीताले उनीमाथि काठमाडौं जिल्ला अदालतमा अंशचलान र मानाचामल मुद्दा हालेकी थिइन् । यही विवादका बीच तालिमका क्रममा चीनबाट २१ मंसिर ०६८ मा नेपाल फर्केको उनले प्रहरीलाई बताएका छन् ।

कोइरालाकी प्रेमिका भनिएकी तारा रेग्मी उनलाई लिन एयरपोर्ट पुगेकी थिइन् । २७ पुस मध्याह्न गीता बस्दै आएको घरमा गएको र उनले चार–पाँच लाख रुपैयाँ व्यापारको निम्ति मागेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । सोही क्रममा दुवैबीच विवाद हुँदा हात हालाहाल भएको र आफूले धकेल्दा गीताको टाउको ठोक्किएर लडेको प्रहरीसमक्ष उनले कबुलेका छन्।

सोही रात उनले मकवानपुरको मेत्राङमा पेट्रोल छर्केर गीताको शव जलाएका थिए । पछि फेरि ८ माघमा शव जले÷नजलेको हेर्न जाँदा उनलाई स्थानीयले पक्राउ गरेका थिए ।

डिआइजी भएको खुलेपछि तत्कालै छुटेकोमा पछि काठमाडौं आउने क्रममा उनी समातिएका थिए । १४ फागुनमा काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad