छापा खबर


प्रदेश २ मा मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने जसपाकाे तयारी

प्रदेश २ मा मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने जसपाकाे तयारी

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ०:११,

प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ।

मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

मुलुकमा सात प्रदेश रहेकामा ६ वटामा नेकपा नेतृत्वको एकल सरकार छ । प्रदेश २ मा जसपाले एकल सरकार बनाएको छ । राजपा र संघीय समाजवादी मिलेर २ नम्बर प्रदेशमा सरकार गठन गरेको भए पनि अहिले ती दल मिलेर जसपा बनेको हो।

जसपा नेतृत्वले २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतको अढाई वर्षे कार्यकाल पार्टीले सोचेअनुसारको प्रतिफल दिन नसकेको निष्कर्षसहित पूरै टिम परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी घोषणापत्र, मधेस आन्दोलनको भावना तथा जनताको चाहनाअनुसार राउत सरकारले काम गर्न नसकेको जसपाको निष्कर्ष छ।

मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टीबाट संसदीय दलको नेता चयन भएका थिए । राजपाबाट संसदीय दलको नेतामा जितेन्द्र सोनल छानिएका थिए । सोनल अहिले भौतिक योजना मन्त्री छन् ।

दुई दल एकीकरण भएकाले २ नम्बर प्रदेशमा जसपाको संसदीय दलको नेता चयन गर्नुपर्ने अवस्थासमेत आएको छ । अब पार्टी एकीकरण भइसकेको अवस्थामा दुई जना संसदीय दलको नेता नहुने र नयाँ बन्ने नेता नै मुख्यमन्त्री हुने जसपा स्रोतले जनाएको छ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका साथै वरिष्ठ नेतात्रय अशोक राई, डा.बाबुराम भट्टराई र राजेन्द्र महतोले २ नम्बर प्रदेश सरकार परिवर्तन गर्ने विषयमा गम्भीर आन्तरिक तयारी थालेको स्रोतको दाबी छ।

जसपा सचिवालयमा रहेका पाँचै जना नेतालाई मनिष सुमन, पारस साह, किशोरी यादव, शारदाशंकर कलवार, विन्देश्वर यादव, बावुलाल साह, कौशल यादव, प्रहलाद गिरी, सञ्जय यादव, अशोक यादवसहित १५ भन्दा बढी प्रदेश सांसदहरूले गत साता भेटेरै सरकार गठनका बारेमा छलफल गरेका छन्।

सचिवालयमा रहेका पाँचै जना नेताले केन्द्रबाट तोकेर कसैलाई पनि संसदीय दलको नेता नबनाउने भन्दै दलको नेता सांसदहरू आफैँले लोकतान्त्रिक पद्धतिअनुसार चयन गर्नुपर्ने जनाएका छन्।

यस्ता छन् मुख्यमन्त्रीका दाबेदार

२ नम्बर प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने तयारी भइरहेकै बेला नयाँ बन्ने मुख्यमन्त्रीले आफ्नो दाबेदारी प्रस्तुत गर्दै रणनीति बनाउन थालेका छन्।

उता, मुख्यमन्त्री राउत आफैँ पनि फेरि मुख्यमन्त्री बन्ने सोचमा छन् । भौतिक मन्त्री सोनल पनि मुख्यमन्त्रीको दाबी गर्न थालेका छन् । अर्थमन्त्री विजय यादव, सांसद मनिष सुमन, उपेन्द्र महतोसहित दर्जनभन्दा बढी नेताहरू नयाँ मुख्यमन्त्रीका दाबेदार रहेका छन्।

संसदीय दलको नेता भए सर्वसम्मत नभए निर्वाचनबाट पनि हुने रणनीतिमा यी नेताहरू रहेको जसपा स्रोतले जनाएको छ ।

सरकारमा रहेका राउत, सोनल, यादवलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने पक्षमा सचिवालयका कुनै नेता देखिएका छैनन् । सरकारमा भएकाले यी मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएका कारण संसदीय दलको नेता हुने सम्भावना कम रहेको जसपा स्रोतको दाबी छ।

सरकारमा नभएका तर प्रभावकारी काम गर्न सक्ने क्षमता भएका अन्य नेतालाई संसदीय दलको नेता बनाउने र उसैलाई मुख्यमन्त्री बनाएर जनताको काम सम्बोधन गर्ने पक्षमा सचिवालयका नेताहरू रहेका छन् ।

यी दाबेदारमध्ये सुमन शक्तिशाली देखिन्छन् । जसपाभित्रको शक्ति सन्तुलनअनुसार महतोले इच्छा राखेको भए पनि उनी निर्वाचन लड्ने पक्षमा छैनन् । निर्वाचन भएको अवस्थामा राउत, सोनल र सुमन भिड्ने पक्कापक्की रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad