छापा खबर


किन घटेन काठमाडौँमा सङ्क्रमण? यस्तो छ अवस्था

किन घटेन काठमाडौँमा सङ्क्रमण? यस्तो छ अवस्था

नेपालखबर
असोज ६, २०७७ मंगलबार ३:२७,

निषेधाज्ञा खुलेसँगै राजधानी काठमाडौंमा  भीडभाड बढेको छ तर कोरोना (कोभिड–१९)को सङ्क्रमण बढ्ने क्रम पनि रोकिएको छैन।

सडक, बजार तथा पसलमा भीडभाडसँगै काठमाडौँ महानगरपालिकाका ३२ वटै वडा कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ महानगरमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहँदा निषेधाज्ञा खुलेपछि सेवाग्राहीको चाप पनि वडा कार्यालयहरूमा बढ्न थालेको हो।

निषेधाज्ञा खुलेसँगै दैनिक सरदर एउटा वडामा मात्र विभिन्न कामका लागि कम्तीमा पनि एक सय सेवाग्राही प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आउने गरेको जानकारी सम्बद्ध वडा प्रमुखहरूले दिएका छन्।

यसअघिको बन्दाबन्दीले गर्दा वडा कार्यालय नियमित रूपमा सञ्चालन नहुँदा सम्पत्ति र घरबहाल कर बुझाउन सेवाग्राही वडा कार्यालय धाउने गरेका छन्। वडा कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै महानगरपालिका क्षेत्र कोरोनाको झनै केन्द्र बन्दै गएको छ। 

महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले निषेधाज्ञा खुलेसँगै महानगरपालिकाका वडा कार्यालयमा सेवाग्राहीको भीड बढेको बताए।

उनले भने, 'महानगरपालिका क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिमध्ये ७० प्रतिशतले स्वास्थ्य मापदण्ड अपनाए पनि ३० प्रतिशत नागरिकले बेवास्ता गर्दा महानगरपालिकामा कोरोनाको उच्च जोखिम बढेको हो।'

स्वास्थ्य मापदण्ड पालना नगर्ने ३० प्रतिशत मानिसमध्ये पनि १० प्रतिशत नागरिकले भने कोरोना सङ्क्रमण समाप्त भइसक्यो जस्तो गरी बिनामास्क हिँडडुल गर्दा जोखिम बढेको उनले बताए।

महानगरपालिकामा भेटिएका सङ्क्रमितमध्ये २० प्रतिशत मात्र स्थानीय र बाँकी विभिन्न जिल्लाबाट काठमाडौँ आएका व्यक्ति भएको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख ज्ञानबहादुर ओलीले जानकारी दिएको खबर आजको गोरखापत्रमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad