छापा खबर


गुन्द्रुक र ढिँडोसहितको नेपाली खाना विश्वसामु चिनाउँदै सन्तोष

गुन्द्रुक र ढिँडोसहितको नेपाली खाना विश्वसामु चिनाउँदै सन्तोष

नेपालखबर
मंसिर २०, २०७७ शनिबार २:३३,

बिबिसीको ‘मास्टर सेफ युके–२०२० च्यालेन्ज’ का प्रतिस्पर्धी सेफ सन्तोष साह विश्वसामु नेपाली खाना चिनाउन लागिपरेका छन्।

सिरहाको कर्जन्हा गाउँका ३५ वर्षीय साह उक्त प्रतिस्पर्धामा नेपाली खानाकै कारण विशेष चर्चा पनि कमाइरहेका खबर आजको नागरिक दैनिकमा स्मृति ढुंगानाले लेखेकी छन्।

‘संसारभर चर्चा कमाएको मास्टर सेफ युकेको फाइनलसम्म नेपाली परिकार पु¥याउन लागिपरेको छु,’ उनले भने, ‘विश्वसामु नेपाली खानाको पहिचान दिलाउने जिम्मेवारी निर्वाह गर्दैछु।’ उक्त प्रतिस्पर्धामा सहभागी हुन उनले पाँच वर्षदेखि तयारी गरेका थिए।

प्रतिस्पर्धामा उनले नेपाली शैलीमा अक्टोपसको परिकार बनाई त्यससँगै कर्कलाको परिकार, भाङ र टिम्मुरको अचार पस्केका थिए। सो परिकारका लागि उनले निर्णायकमण्डलबाट तारिफसमेत पाए।

उनले त्यहाँ जेरीदेखि करेलाको अचारसम्म तयार पारेर प्रस्तुत गरिसकेका छन्। अहिले उनी ‘मास्टर सेफ युके’ को उपाधितिर भन्दा पनि नेपाली खानाको प्रचारमा बढी केन्द्रित भएका छन्। ‘हामीले गुन्द्रुक र ढिँडोलाई गरिबले खाने खानाको संज्ञा दियौं,’ उनले भने, ‘तर तिनको स्वाद विदेशीलाई मन पर्न सक्छ भन्नेतर्फ कहिल्यै सोचेनौं। हाम्रो खाना बनाउने विधि सामान्य भए पनि स्वादिलो छ भन्नेबारे विश्वसामु प्रचार लाग्दै लागेनौं।’

नजिकको तीर्थ हेला भनेझैं झन्डै २० वर्ष भारतीय खानाका विभिन्न परिकार तयार गरेर नेपाली खानालाई बेवास्ता गरेकोमा उनलाई पछुतो छ।

‘नेपाली खानामा विविधता छ,’ उनले भने, ‘हिमाल, पहाड र तराईको विभिन्न भूभागमा फरक स्वादका परिकार बन्छन्। तर हामीले कहिल्यै विश्वसामु परिचित गराउन जोड दिएनौं,’ उनले भने, ‘प्रतिस्पर्धामा उपाधि पाइएला वा नपाइएला, मेरो एउटै लक्ष्य भनेको प्रतिस्पर्धाको फाइनलसम्म नेपाली खानाका परिकार पु¥याउने हो, ताकि विश्वलाई नेपाली खानाबारे जानकारी होस्।’

‘हामीले गुन्द्रुक र ढिँडोलाई गरिबले खाने खानाको संज्ञा दियौं र तिनको स्वाद विदेशीलाई मन पर्न सक्छ भन्नेतर्फ कहिल्यै सोचेनौं। हाम्रो खाना बनाउने विधि सामान्य भए पनि स्वादिलो छ भन्नेबारे विश्वसामु प्रचार गर्नतिर लाग्दै लागेनौं।’

नेपालदेखि बेलायतको ‘मास्टर सेफ युके’ सम्म पुग्न थुप्रै संघर्ष गरेको उनी बताउँछन्। बाल्यकालमा बुवाको निधन भएपछि पाउरोटी र पोलिथिन बेचेर घर र स्कुल खर्च जुटाउन लागिपरेका थिए। दाजुहरू बिहेवारी गरेर अलग भएपछि आमा र आफ्ना लागि खर्च जुटाउनुपर्दा पढाइमा केन्द्रित हुन नसकेको उनी बताउँछन्। १५ वर्षकै उमेरमा गाउँका दाजुभाइसँग होटलमा काम गर्न उनी भारतको गुजरात गए।

‘त्यतिबेला होटलमा भाँडा माझेर मासिक नौ सय भारु पाउँदा म दंग परेको थिएँ,’ उनले भने। होटलमा सेतो पहिरनमा ठाँटिएका सेफहरूले खाना पकाइरहेको दृश्यबाट प्रभावित भएका उनले त्यतिबेलै त्यही पेसा अँगाल्नुपर्छ भन्ने अठोट लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad