छापा खबर


यसरी प्राप्त हुँदैछ कांग्रेस सभापति देउवालाई दुबै हातमा लड्डु!

 यसरी प्राप्त हुँदैछ कांग्रेस सभापति देउवालाई दुबै हातमा लड्डु!

नेपालखबर
माघ २, २०७७ शुक्रबार ०:३५,

नेकपाका दुवै समूहले सत्ता साझेदारीसहित सहकार्यको ‘अफर’ गरे पनि तत्काललाई कांग्रेस तटस्थ बस्ने भएको छ।

कांग्रेसले सहकार्यका लागि पहिला नेकपा विभाजनको आधिकारिता खोजेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

संसद् विघटनसँगै प्राविधिक रूपमा विभाजित नेकपाको वैधानिकताको कानुनी लडाइँ निर्वाचन आयोग पुगेको छ । नेकपाको ओली र प्रचण्ड–नेपाल दुवै समूहले सहकार्यको प्रस्ताव ल्याए पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने फुटको आधिकारिकता नभइन्जेल औपचारिक रूपमा कसैसँग पनि सहकार्यको निर्णय नलिने तयारीमा छन्। संसद् विघटनपछि प्रचण्ड–नेपाल समूहले सडकसंघर्षमा सहकार्यको प्रस्ताव गरे पनि कांग्रेसले एकल आन्दोलन गरेको छ।

संसद् विघटनपछि सम्भावित समीकरणलाई लिएर नेकपाको प्रचण्ड–नेपाल समूहसँग देउवाले बुधबार पहिलो भेटवार्ता गरे । छलफलमा प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध संयुक्त संघर्षदेखि देउवा नै प्रधानमन्त्री बन्ने गरी सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका थिए।

बुधबार साँझ ५ बजे देउवा निवास पुगेका नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद् पुनस्र्थापना हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिमा पनि कांग्रेससँग सहकार्यको प्रस्ताव गरेका थिए । करिब दुई घन्टासम्मको संवादमा प्रचण्ड–नेपालले संसद् विघटनविरुद्ध संयुक्त संघर्षदेखि देउवा नै प्रधानमन्त्री बन्ने गरी सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका थिए।

यसबाहेक प्रचण्डले देउवालाई चुनावमा जोड दिनुको कारण सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको बताएका थिए । भेटमा प्रचण्डले कांग्रेसले पनि प्रतिनिधिसभा पुनस्र्थापनाको एजेन्डा बनाउन आग्रह गरेको कांग्रेस नेता रमेश लेखकले बताए । नेता लेखकका अनुसार सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आएर स्पष्ट नभइन्जेल कांग्रेसले नेकपासँग सहकार्य गर्दैन।

‘त्यसका लागि संयुक्त आन्दोलन गरौँ र त्यसपछिका सम्भावित सबै राजनीतिक मुद्दामा सहकार्य गरौँ,’ भन्ने प्रचण्डको अर्को प्रस्ताव थियो । जवाफमा देउवाले अदालतलाई प्रभाव पार्ने गरी संसद् पुनस्र्थापनाका पक्षमा बोल्न नहुने धारणा राखेका थिए।

‘तपाईंहरूसँग मिलेर आन्दोलन गर्न सक्दैनौँ, तपाईंहरू नै सरकारमा हुनुहुन्छ, तपाईंहरूकै पार्टीले संसद् विघटन गर्छ, अनि फेरि तपाईंहरू नै संयुक्त आन्दोलनका लागि सहकार्य गरौँ भन्नुहुन्छ, यो कसरी सम्भव छ?’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस नेता लेखकले भने, ‘पहिला तपाईंहरूको विवाद वारपार हुनुपर्‍यो नि?’

अहिले देउवालाई संसद पुनस्र्थापना भए वा नभए दुवै परिस्थितिमा दुवै हातमा लड्डु पर्ने अवस्था छ । संसद् पुनस्र्थापना भए पनि नेकपा विवादका कारण संसद्को अंकगणितबाटै देउवा पाँचौँपटक मुलुकको ‘प्रधानमन्त्री’ बन्न सक्छन् । कारणवश संसद् पुनस्र्थापना नभए निर्वाचनबाटै पार्टीले सरकारको नेतृत्व हासिल गर्न सक्ने कांग्रेसको ठहर छ । त्यसैले देउवा नेकपाको औपचारिक विभाजनको घोषणा पर्खाइमा छन्।

देउवानिकट केन्द्रीय सदस्य लेखक नेकपाका दुवै समूहबाट सत्ताको नेतृत्वको अफर आएको स्विकार्छन् । तर, नेकपा फुटको आधिकारिकता नभएसम्म देउवा यो वा त्यो गुटको समर्थनको पक्षमा छैनन् । ‘यो देशमा नेकपा भन्ने पार्टी छ, जो सरकारमा छ, एउटा गुट सरकारमा छ, अर्को विरुद्धमा छ, दुवै गुटले हामीलाई सहयोग गर भनिराख्नुभएको छ,’ लेखक भन्छन्, ‘उहाँहरूले नै संसद् विघटन गर्नुभयो, उहाँहरू नै एक–अर्कालाई दोष लगाइरहनुभएको छ । तर, कांग्रेसले अहिले नै कसैलाई सहयोग गर्नुपर्ने परिस्थिति बनेको छैन।’

सहमहामन्त्री डा.प्रकाशशरण महत पनि ओली र प्रचण्ड–नेपाल दुवै समूहको अफरबारे अहिले बोल्ने वेला नभएको बताउँछन् । ‘अहिलेसम्म पनि नेकपा एउटै पार्टी छ, त्यसैले हामीले योसँग, ऊसँग भनेर निर्णय लिन मिल्दैन । उहाँहरूको आफ्नो पार्टीभित्रको झगडा छ, तर पार्टी एउटै छ, त्यसैले उहाँहरू मिल्न पनि सक्नुहुन्छ, यसमा कांग्रेसको चासो छैन,’ सहमहामन्त्री महतले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad