छापा खबर


बालुवाटारबाट निस्केर लेनिन विष्ट प्रचण्डलाई भेट्न सोझै गए पेरिसडाँडा

बालुवाटारबाट निस्केर लेनिन विष्ट प्रचण्डलाई भेट्न सोझै गए पेरिसडाँडा

नेपालखबर
माघ २१, २०७७ बुधबार २:३४,

पूर्वमाओवादी लडाकुलाई धुमधामसाथ आफ्नो क्याम्पमा भित्र्याउने प्रधानमन्त्री केपी ओलीको योजनालाई स्वयं कालिबहादुर खामले अन्तिम क्षणमा पूरा हुन नदिएको बुझिएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ का खास मान्छेलाई थुतेर नेकपाको अर्को पक्षलाई मनोवैज्ञानिक दबाव दिने उद्देश्यका साथ गत साता बालुवाटारमा पूर्वमाओवादी लडाकुहरुको प्रवेश कार्यक्रम राखिएको थियो । तर, सबै बन्दोबस्त मिलाएपछि खामले सन्देश पठाइदिए, ‘पहिले मेरो मुद्दा फिर्ता हुनुप¥यो अनि मात्र खुलेर लाग्छु।’

बालुवाटारमा आयोजित कार्यक्रममा प्रवेश गर्ने अधिकांश पूर्वमाओवादी लडाकुलाई केन्द्रीय सदस्य बनाउँदै शपथ खुवाउने योजना बनाइएको बताइन्छ । तर, खामले अन्तिम क्षणमा मुद्दा फिर्ताको शर्त तेस्र्याइदिएपछि बालुवाटारको रणनीतिमा असर परेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

पूर्वमाओवादीका एकजना नेतासँग खामले भनेका छन्( ‘प्रधानमन्त्रीसँग एकचोटि भेटेको हुँ । मुद्दा फिर्ता भयो भने मात्र सोच्न सकिन्छ भन्ने खबर पठाइदिएको छु।’

गृहमन्त्री रामबहादुर थापा बादलको प्रत्यक्ष निर्देशनमा एयरपोर्टबाट फिर्ता गर्दै पासपोर्ट जफत गरिएका लेनिन विष्टले पनि आफूले मुलुकको प्रधानमन्त्रीलाई भेट्न गएको तर कुनै पार्टी विशेषको कार्यक्रममा नगएको प्रतिक्रिया दिएका छन्।

बालुवाटारमा गएको समाचार बाहिरिएपछि केही दिनअघि पेरिसडाँडा पुगेका विष्टले भनेका छन्, ‘केपी ओली समूहमा प्रवेश गर्नेवाला छैनौं,’ उनले थपे, ‘प्रधानमन्त्रीले हाम्रा कुरा सुन्छु भनेपछि सुनाउनैका लागि किन नजाने भनेर मात्र गएका हौं । गयौं, कुरा सुनायौं । उहाँले गर्छु पनि भन्नुभएको छ । तर, हामी पार्टी प्रवेश गरेका होइनौं।’

बालुवाटारले भने प्रचण्डलाई हेग पु¥याउन लेनिन विष्ट केपी ओली समूहमा प्रवेश गरेको शैलीमा प्रचार गरेको छ । यसअघि आफूले कुनै एउटा सन्दर्भमा बोलेको विषयलाई जोडेर बालुवाटारनिकट मिडियाले प्रचारबाजी गरेको उनको तर्क छ । उनले पेरिसडाँडामा नेताहरूसँग भनेका छन्, ‘प्रचण्डलाई हेग लैजाने कि बालुवाटार लाने?’

उनी भन्छन्, ‘बालुवाटारले हेग लैजाँदैन, यो उनीहरूको रणनीति मात्र हो ।’ केही दिनअघि विष्ट पेरिसडाँडा पुगेर नेताहरूसँग खुलस्त कुराकानी गरी फर्केको स्रोतको दाबी छ । बालुवाटारको भेटपछि उनी उता गएका हुन् । भेटमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँगै थिए। विष्टले आफ्ना कुरा प्रष्टसँग राखेको पेरिसडाँडा स्रोतले बताएको छ।

त्यसक्रममा उनले भनेका थिए, ‘म केपी ओली गुटमा प्रवेश गरेको होइन भनेर विज्ञप्ति निकालेको छु । सबैले बुझ्नुपर्ने कुरा के हो भने उहाँ मुलुकको प्रधानमन्त्री पनि हो । जोसुकै प्रधानमन्त्री हुँदा पनि भेट्ने र कुरा सुनाउने हो । यसपटक मौका पाइयो, सुनाइयो । उहाँले गर्छु पनि भन्नुभएको छ । गर्नुभयो भने राम्रो । त्यो काम पार्टीले गरेर हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad