छापा खबर


राजा महेन्द्रले ०१३ सालमा शिलान्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक

राजा महेन्द्रले ०१३ सालमा शिलान्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक

नेपालखबर
चैत २९, २०७७ आइतबार १:८,

ललितपुरको सातदोबाटोदेखि मकवानपुरको हेटौँडा जोड्ने कान्ति लोकपथ निर्माण थालिएको ६४ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । आयोजना निर्माणमा अहिलेसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन।

सडक निर्माणका लागि सेनाको नेतृत्वमा ०१३ मा ट्रयाक खन्न सुरु गरिएको थियो । यो काम ०१६ मा सकियो । त्यतिवेलै ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोकदेखि जिपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए।

राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ । तर, त्यसयता सडकको स्तरोन्नतिको काम कछुवा गतिमा समेत हुन नसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र सुदीप शिवाकोटीले लेखेका छन्।

काठमाडौंस्थित कान्ति लोकपथ सडक आयोजनाका अनुसार आर्थिक वर्ष ०७०र७१ यता मात्रै दुई अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ । त्यसअघि भएको खर्चको विवरण न आयोजनासँग छ, न सडक विभागसँग नै । ‘ट्रयाक खन्ने काम ०१६ मै सकिएको देखिन्छ । तर, सडक निर्माणको काम अझै हुन सकेको छैन । आयोजनामा पछिल्लो समय भएको खर्च विवरण त होला, तर पहिला कति भयो त्यसको हिसाब नै छैन,’ आयोजना कार्यालयका पूर्वप्रमुख कपिलविष्णु काफ्लेले भने।

यो आयोजना पछिल्लो १३ वर्षदेखि कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । त्यसअघि ललितपुर सडक डिभिजन र मकवानपुर सडक डिभिजन कार्यालयअन्तर्गत निर्माण हुँदै आएको थियो । तर, त्यतिवेला निर्माण कार्यले गति लिन सकेन ।

लोकपथको कुल लम्बाइ ९० किमि थियो । सडकको चौडाइ सुरुमा ५.५ मिटर तय भएको थियो । तर, पछि ८.५ मिटर निर्धारण गरिएको छ । लोकपथको ५१ किमि भाग मकवानपुरमा र बाँकी ३९ किमि खण्ड ललितपुरमा पर्छ । मकवानपुरको चौघडा–चुनडाँडा–मकवानपुरगढी–जितपुर–ठिंगना–बागमती हुँदै लोकपथ ललितपुरको बगुवा–कल्चेभिर–छपेली–झाँक्रीडाँडा–तिनपाने भञ्ज्याङ–टीकाभैरव हुँदै सातदोबाटोमा जोडिन्छ।

अहिलेसम्म आयोजनाको ८० प्रतिशत मात्रै भौतिक प्रगति छ । १५ किलोमिटरबाहेकको खण्ड कालोपत्रे गरिएको छ । चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने आयोजनाले जनाएको छ । तर, लामो समयदेखि आयोजनाले पटक–पटक म्याद सार्दै आएको छ।

निर्माण भएको सडकका विभिन्न खण्ड पनि बर्खाको बाढीपहिरोले क्षतविक्षत हुने गरेका छन् । कहीँ सडक धस्सिएको छ भने कतै पहिरोले बगाएको छ । कुनै ठाउँ पहिरोका कारण सडक पुरिएको छ । सार्वजनिक यातायातका साधन चलेका छैनन् ।

कान्ति लोकपथ निर्माण भए हेटौँडा–काठमाडौं दूरी एक सय ३२ किमि छोटिन्छ । अहिले मुख्यतया सञ्चालनमा रहेको हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा सडकको लम्बाइ दुई सय २२ किमि छ । कान्ति लोकपथ निर्माण भए ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवैको बचत हुन्छ।

सरकारको प्राथमिकतामा परेको भए कान्ति लोकपथलाई नै ‘फास्ट ट्रयाक’का रूपमा विकास गर्न सकिने अवस्था पनि थियो । यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुरको ठिंगनबाट निजगढ जोड्नुपर्ने हुन्थ्यो । ललितपुरको सातदोबाटोदेखि निजगढसम्म यो रुटको दूरी ८० किमि मात्रै हुन्छ । तर, ६४ वर्ष पुरानो लोकपथलाई उपेक्षा गरेर सरकारले फास्ट ट्र्याकमा मात्र अन्धाधुन्ध पैसा खन्याइरहेको छ।

९० किलोमिटर लामो कान्ति लोकपथको समानान्तर ७२.५ किलोमिटर फास्ट ट्रयाक निर्माण भइरहेको छ । तर, कुनै पनि सडकको निर्माण फास्ट ट्रयाकमा छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .