छापा खबर


भट्टराई र यादवसँग देउवाले खोजे अंकगणितको सुनिश्चितता

भट्टराई र यादवसँग देउवाले खोजे अंकगणितको सुनिश्चितता

नेपालखबर
बैशाख १, २०७८ बुधबार ०:५६,

माओवादी केन्द्र र जसपाको एउटा समूहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान कांग्रेससँग प्रस्ताव गरेका छन् । तर, कांग्रेसले अविश्वासको प्रस्ताव पारित हुने अंकगणितीय सुनिश्चितता तयार भएपछि मात्र यो विकल्पमा जाने जवाफ दिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर अविश्वासको प्रस्ताव संसद्मा लैजाने विषयमा छलफल गरेका थिए।

स्रोतका अनुसार भेटमा देउवाले नयाँ सत्तासमीकरणबारे जसपामा एकमत बनिनसकेकाले हतारमा अगाडि बढ्दा जोखिम हुने बताएका छन् । उता नयाँ समीकरणलाई लिएर कांग्रेस र जसपाको एउटा समूहबीच घोचपेच देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेश शाहीले लेखेका छन्।

‘दुवै भेट नयाँ सत्तासमीकरणमा केन्द्रित थिए र अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल भएको हो । तर, कांग्रेस सभापति देउवाले अविश्वासको प्रस्ताव पारित हुने अंकगणितीय सुनिश्चितता खोज्नुभएको छ,’ भेटबारे जानकार एक नेताले भने, ‘अझै छलफल हुन्छ र एउटा निर्णयमा पुगिन्छ होला।’

कांग्रेसनिकट उच्च स्रोतका अनुसार जसपा एकमत नभई अविश्वासको प्रस्ताव अगाडि बढाउँदा जसपा विभाजन हुन सक्ने र त्यसले ‘ब्याक फायर’ हुने भय देउवामा छ । नयाँ सत्तासमीकरणका लागि निर्णायक मानिएको संसद्को चौथो शक्ति जसपामा अझै एकमत छैन । यद्यपि, नयाँ गठबन्धनका लागि माओवादी केन्द्र र जसपा कांग्रेसको नेतृत्व स्वीकार गर्न भने तयार देखिएका छन्।

सोमबार डा.भट्टराई र यादवले बुढानीलकण्ठस्थित निवासमै पुगेर कांग्रेसले अविश्वासको प्रस्ताव अघि बढाएको खण्डमा जसपालाई एकमतले निर्णय गर्न सहज हुने भन्दै अघि बढ्न देउवालाई अनुरोध गरेका छन् । पार्टीभित्र संसद्मा खेल सुरु नभएसम्म एकमतले निर्णय गर्न असहज भएपछि अविश्वासको प्रस्ताव ल्याउन डा। भट्टराई र यादवले प्रस्ताव गरेको स्रोतले बतायो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवाले संसद्मा अंकगणितको सुनिश्चितता नभएसम्म कांग्रेस अघि नबढ्ने अडान दोहोर्‍याएको बताए । ‘हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय गरिसकेका छौँ । त्यही विषय सभापतिले माओवादी केन्द्र र जसपासँगको बैठकमा राख्नुभएको थियो । अहिले पनि त्यही दोहो¥याउनुभएको हो,’ शर्माले भने, ‘संसद्मा अंकगणित नपुगेसम्म कांग्रेसले अघि बढ्ने हुँदैन । कांग्रेसले जस्तै एकढिक्का भएर सर्वसम्मत रूपमा एउटा निर्णय गरेर आउनुस् भन्ने जसपासँग हाम्रो आग्रह हो । त्यसपछि अर्को कदमका लागि सहज हुन्छ।’

जसपाभित्र वर्तमान प्रधानमन्त्री ओली वा कांग्रेस माओवादीसँग सत्ता सहकार्य गर्ने भन्ने विषयमा विवाद छ । प्रधानमन्त्री ओलीले विघटन गरेको संसद् पुनस्र्थापना दुई महिना पुग्न लाग्दा पनि सत्तासमीकरणबारे दलहरूबीच ठोस सहमति बनेको छैन । माओवादी केन्द्रले अविश्वासको प्रस्तावमा सहमति जुटे नयाँ सरकार गठनको प्रक्रिया सहज हुने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .