निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्याइने भएको छ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पु¥याउने विषयमा सहमति जुटेको हो।
मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो। हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष छ।
संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद ६० भएमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनमा पनि कर्मचारीको उमेर हद ६० वर्ष नै हुनेछ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ। संघीय निजामती सेवा ऐन प्रदेश र स्थानीय सेवा ऐनको मार्गदर्शक ऐन हुनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरुमा संघीय निजामती सेवा विधेयकमा कर्मचारीको उमेर हद हाल कायम रहेकै ५८ वर्ष बनाउन प्रस्ताव गरेको थियो।
तर, हाल सो विधेयकमाथि छलफल गर्दा सांसदहरू कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याउन समहत भएको स्रोतले जानकारी दिएको छ । राज्य व्यवस्थामा छलफल हुँदा निजामती, स्वास्थ्य, र न्याय क्षेत्रमा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीको उमेर हद समान बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।
हाल स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारी र शिक्षकको उमेर हद ६० वर्ष रहेको छ भने न्यायाधीशको उमेर हद ६३ वर्ष छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीले सबै राष्ट्रसेवकको उमेरमा समानता कायम गर्नुपर्ने प्रस्ताव समितिसमक्ष राखेका थिए।
अब बन्ने संघीय निजामती सेवा ऐनमा नै स्वास्थ्य सेवालाई पनि गाभिने भएकाले स्वास्थ्य सेवामा रहेको उमेर हदको ६० वर्षे प्रावधानअनुसारकै व्यवस्था गर्नेगरी प्रस्ताव गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघीय निजामती सेवासम्बन्धी विधेयक राज्यव्यवस्थामा दफावार छलफल गर्नेक्रम सकिएको छ । सम्भवतः भदौको दोस्रो सातासम्म प्रतिनिधिसभामा पारित गर्नेगरी तयारी अगाडि बढाइएको बताइएको छ ।

प्रतिक्रिया