छापा खबर


राष्ट्रिय सभा उपनिर्वाचन : अब बादलसँग लड्लान् कि भाग्लान् डा.खिमलाल देवकोटा?

राष्ट्रिय सभा उपनिर्वाचन : अब बादलसँग लड्लान् कि भाग्लान् डा.खिमलाल देवकोटा?

नेपालखबर
जेठ २, २०७८ आइतबार २:१,

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले असहयोग गरेपछि संघीय सरकार बनाउन नसकेको विपक्षी गठबन्धन राष्ट्रिय सभा उपनिर्वाचनमा पनि दबाबमा देखिएको छ।

सत्तारुढ एमालेको आन्तरिक राजनीतिमा फेरबदल आएपछि राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जोखिममा परेका खबर अजको नयाँ पत्रिका दैनिकमा दिपेश शाहीले लेखेका छन्।

पार्टीको आन्तरिक विवाद समाधानउन्मुख देखिएपछि एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापालाई ‘राहत’ भएको छ । तर, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहबाट प्रस्तावित भएका, तर स्वतन्त्र उम्मेदवारी दिएका डा.खिमलाल देवकोटालाई कठिन अवस्था पैदा भएको छ।

कांग्रेस, माओवादी र जसपाको डा.बाबुराम भट्टराई–उपेन्द्र यादव समूहको समेत समर्थन लिएर उम्मेदवारी दिएका डा.देवकोटाबारे खनाल–नेपाल समूहले लिने अन्तिम निर्णयले उनको हारजितको सुनिश्चितता गर्नेछ।

ओली र नेपाल कार्यदल बनाएर पार्टी विवाद टुंग्याउन सहमत भएका छन्, जसले संघीय सरकार गठन गर्ने विपक्षी गठबन्धनको योजना असफल भएको थियो । स्रोतका अनुसार देवकोटालाई उम्मेदवार बनाउने नेपालको प्रस्तावमा देउवा र प्रचण्डले समर्थन गरेका थिए।

बागमती प्रदेशमा आगामी ६ जेठमा हुने राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचनमा एमालेकै दुईजना उम्मेदवार उठेपछि गृहमन्त्री थापा जोखिममा परेका थिए । विपक्षी दलहरूको गठबन्धनले एमालेकै असन्तुष्ट पक्षका देवकोटालाई बनाएसँगै जोखिममा परेका गृहमन्त्री थापाका लागि चुनावी नतिजा आफ्नो अनुकूल बनाउन केही राहत त भएको छ, तर एमाले विवाद अझै अन्तिम सहमतिमा नपुगेकाले ढुक्क हुने अवस्था भने बनिसकेको छैन।

पछिल्लो समय पार्टी एकता कायम राख्ने भन्दै ओली र खनाल–नेपाल समूहले वार्ता र संवाद थालेपछि थापाको जित्ने सम्भावना बलियो बनेको हो । एमालेका दुवै पक्षले पार्टीको उम्मेदवार थापा नै भएको बताएका छन् । खनाल–नेपाल पक्षका नेता तथा संघीय संसद्को प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता जीवनराम श्रेष्ठले एमालेको उम्मेदवार थापा नै भएको बताए ।

‘खिमलालजीको उम्मेदवारी एमालेसँग सम्बन्धित विषय होइन । उहाँ विपक्षी दलहरूको साझा उम्मेदवार हुनुहुन्छ । प्रस्तावक र समर्थक नै कांग्रेस र माओवादी भएर उम्मेदवारी दर्ता गराउनुभएको छ,’ नेता श्रेष्ठले भने, ‘हाम्रो सद्भाव रहनु एउटा कुरा हो, हामी नेकपा एमाले भएर उहाँलाई समर्थन गरेका थिएनौँ, सक्दैनौँ ।’

श्रेष्ठले एमाले विभाजन भइसकेको अवस्था भएको भए फरक परिस्थिति हुने भए पनि पार्टी एकै भएको अवस्थामा आफ्नो कुनै भूमिका नरहने बताए । उनले उम्मेदवार देवकोटा संविधानले कल्पना गरेको विज्ञ र राष्ट्रिय व्यक्तित्वका हिसाबले विपक्षी दलको मात्रै उम्मेदवार भएको र आफ्नो उम्मेदवार थापा नै भएको बताए ।

देवकोटा एमालेकै बुद्धिजीवी संगठनमा आबद्ध व्यक्ति हुन् । यसअघि उनले एमालेकै तर्फबाट बागमती प्रदेशको योजना आयोगमा नियुक्त भएर पछि राजीनामा दिएका थिए । विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार भएसँगै उनको पार्टी सदस्यतासमेत खारेज भएको श्रेष्ठको भनाइ छ । ‘उम्मेदवारी दर्ता गराएसँगै उहाँको बुद्धिजीवी संगठनबाट समेत स्वतः कारबाही भइहाल्छ । पार्टीको नियमअनुसार उहाँ पार्टीको सदस्य हो भनेर मान्नै भएन,’ उनले भने ।

यस्तै, ओली पक्षका नेता आनन्दराम पोखरेलले पनि थापा नै पार्टीको एकल उम्मेदवार भएको बताए । थापाविरुद्ध भोट हाल्नेलाई कारबाही हुने उनको भनाइ छ । पोखरेलले खनाल–नेपाल पक्षले सार्वजनिक रूपमा आफ्नो उम्मेदवार भनेरसमेत नभनेकाले पार्टीको एकमुस्ट भोट थापालाई जाने बताए । ‘सूर्य चिह्नबाट उठेको उम्मेदवार भनेपछि सबैले भोट हाल्नुपर्छ । जसले हाल्दैन ऊ स्वाभाविक रूपमा कारबाहीको भागीदार बन्छ,’ उनले भने।

तर, कांग्रेस नेता एनपी साउदले उम्मेदवारी फिर्ता नलिएसम्म आफूहरूले डा.देवकोटालाई नै मत दिने बताए । ‘केपी ओलीविरुद्ध गठबन्धन बनाउने सल्लाह र प्रदेशको अंकगणितसमेत हेरेर डा. देवकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो । उहाँ ले उम्मेदवारी कायम राख्नुभयो भने हामी उहाँलाई नै मतदान गर्छौ,’ उनले भने ।

यस्तो छ बागमतीको अंकगणित
राष्ट्रिय सभा निर्वाचनमा मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । बागमती प्रदेश सभामा एक सय १० सांसदको ५२ सय ८० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधिको ४२ सय ८४ गरी जम्मा ९५ सय ६४ मतभार छ । यसमध्ये सबैभन्दा बढी एमालेका प्रदेश सभामा ५७ मध्ये एकजना सांसद पशुपति चौलागाईंको निधन भएसँगै ५६ जना र स्थानीय तहमा एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन् । यसको कुल मतभार पाँच हजार ८२ हुन्छ ।

कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । जसको कुल मतभार २२ सय ८० हुन्छ । त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको जोड्दा ३९ सय ७८ मतभार हुन आउँछ । एमाले एकढिक्का हुँदा थापाको जित सुनिश्चित हुन्छ । यस्तै, राप्रपाले पनि मत आग्रह गरेको खण्डमा थापालाई सघाउने निर्णय गरेको छ । राप्रपासँग स्थानीय र प्रदेश सभामा गरी कुल एक सय ३२ मतभार रहेको छ । यसले थापाको जित थप सुनिश्चित गर्नेछ ।

राष्ट्रिय सभाका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले भने परिणाम जेसुकै आए पनि युद्धको मोर्चामा होमिसकेपछि लड्नुपर्ने बताए। ‘म दायाँबायाँ, तलमाथि हुँदैन, सतिसालजस्तै उभिन्छु । राजनीतिमा निष्ठा र इमानदारिता सबभन्दा महत्वपूर्ण हो र त्यो हरेक व्यक्तिमा लागू हुन्छ । म कांग्रेस र माओवादी केन्द्रको उम्मेदवार हो । उहाँहरूले विश्वास र भरोसा गरिसकेपछि यसमा दृढ रहन्छु । परिणाम जेसुकै आओस्, युद्धको मोर्चामा होमिसकेपछि लड्नुपर्छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .