छापा खबर


सिसिएमसीले कोटा प्रणाली तोकेर अक्सिजन आपूर्ति भद्रगोल बनाउँदा सयौँ संक्रमितको मृत्यु

 सिसिएमसीले कोटा प्रणाली तोकेर अक्सिजन आपूर्ति भद्रगोल बनाउँदा सयौँ संक्रमितको मृत्यु

नेपालखबर
जेठ ५, २०७८ बुधबार २:५१,

सिसिएमसीले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाउँदा गत साता ठूलो संख्यामा कोरोना संक्रमितले ज्यान गुमाए।

कैलालीको टीकापुर अस्पतालमा गत २७ र २८ वैशाखमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु भयो । बिरामीको चापअनुसार अक्सिजन उपलब्ध नहुँदा संक्रमितले ज्यान गुमाउनुपरेको थियो । २९ वैशाखमै महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा पनि अक्सिजन सकिएर पाँचजनाको मृत्यु भयो।

अक्सिजन अभावकै कारण २९ वैशाखमा नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ६ संक्रमितले ज्यान गुमाए । बिहान आठ बजेदेखि करिब आधा घन्टा अक्सिजन आपूर्ति बन्द हुँदा छटपटिँदै बिरामीको इहलीला समाप्त भयो।

२९ वैशाखमा अक्सिजन अभावका कारण रुपन्देहीमा नौजनाले ज्यान गुमाए । बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पाँच र भैरहवाको भीम अस्पतालमा उपचाररत चारजनाले ज्यान गुमाएका थिए । भीम अस्पतालमा केहीबेर अक्सिजन आपूर्ति बन्द भएको थियो।

३० वैशाखको राति राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन सकिएपछि बिरामी र कुरुवाको रुवाबासी मच्चियो । चिकित्सकहरू पनि भयभित भए । सेन्टरका निमित्त निर्देशक डा। सन्तोष पौडेल अक्सिजनको खोजीमा रातभर उद्योग घुमे, तर पाएनन् । अन्ततः अक्सिजन अभावका कारण त्यो राति ट्रमा सेन्टर र वीर अस्पतालमा १४ बिरामीले ज्यान गुमाए।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाएपछि कोरोना संक्रमणबाट गत साता मृत्यु भएका यी केही उदाहरण मात्रै हुन् । अक्सिजन अभावका कारण त्यो साता ठूलो संख्यामा संक्रमितले ज्यान गुमाए । तर, स्वास्थ्य मन्त्रालयले पुनः जिम्मा लिएपछि अक्सिजन आपूर्ति केही सहज भएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

 मन्त्रालयले कोटा प्रणाली पनि खारेज गरेको छ । सिसिएमसीले स्वास्थ्य मन्त्रालयको काममा हस्तक्षेप गर्दै गत २७ वैशाखमा अक्सिजन आपूर्ति र व्यवस्थापनको जिम्मा आफैँ लिएर कोटा प्रणाली लागू गरेको थियो । सेना र प्रहरीले अस्पतालहरूले प्रयोग गर्दै आएका सिलिन्डर अक्सिजन उद्योगबाट नियन्त्रणमा लिन थालेका थिए । सिसिएमसीको निर्णयपछि अस्पतालहरूमा अक्सिजनको चरम अभाव हुन थालेको थियो, जसले गर्दा पछिल्लो साता संक्रमणबाट मृत्यु हुनेको संख्यासमेत बढेको थियो।

सिसिएमसीले कोटा प्रणाली लागू गरेको एक सातामा संक्रमणबाट एक हजार दुई सय ८१ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २७, २८, २९, ३० र ३१ वैशाखमा क्रमशः एक सय ३९, दुई सय २५, एक सय ६८, दुई सय १४ र दुई सय तीनजनाको मृत्यु भएको थियो । त्यस्तै, १ जेठमा एक सय ८७ र २ जेठमा एक सय ४५ जनाको मृत्यु भएको थियो । २८ वैशाखमा मृत्युदर १।०५ प्रतिशत पुगेको थियो, जुन कोरोनाको दोस्रो लहरयताको सबैभन्दा धेरै हो।

सिसिएमसीले हचुवाका भरमा अक्सिजनको कोटा निर्धारण गरेको भन्दै निजी तथा सामुदायिकसँगै सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालयसँग असन्तुष्टि जनाएका थिए । चौतर्फी विरोध भएपछि चार दिनमै सिसिएमसीले अक्सिजन व्यवस्थापनबाट हात झिकेको थियो।

अहिले स्वास्थ्य मन्त्रालयले अक्सिजन सहजीकरणका लागि ११ तहका सहसचिव डा.प्रकाश शाह र डा. रोशन न्यौपानेको नेतृत्वमा दुईवटा छुट्टाछुट्टै टिम बनाएको छ । अस्पतालहरूले विगतमा जुन उद्योगबाट अक्सिजन लैजाने गरेका थिए तिनै उद्योगबाट आपूर्ति हुने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .