ad ad

छापा खबर


यसरी सम्भव भयो प्रदेश २ मा ओलीविरुद्ध सत्ता सहकार्य

यसरी सम्भव भयो प्रदेश २ मा ओलीविरुद्ध सत्ता सहकार्य

नेपालखबर
जेठ २७, २०७८ बिहिबार २:२८,

‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’

प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजवादी पार्टी (जसपा) का उपनेता रामआशिष यादवद्वारा व्यक्त यो भनाइप्रति यहाँका सबै दलको सहमति छ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्।

पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न थालेपछि ओलीविरुद्ध मोर्चा कसेको विपक्षी गठबन्धनले प्रदेशमा समेत यो अभियान फैलाउँदै लगेको खबर आजको नागरिक दैनिकमा सिरहाबाट मिथिलेश यादवले लेखेका छन्।

ओली नेतृत्वको एमाले, माओवादी केन्द्रसहितका दलले २०७४ सालको आम निर्वाचनमा तालमेल गर्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको थियो। तर एमाले र माओवादी केन्द्र अलग्गिएसँगै नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्तारोहणनजिक पुगेको छ।

तीन वर्षअघि एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलहले दुई पार्टी पुरानै अवस्थामा फर्काइएपछि कांग्रेसका लागि सत्तारोहण सहज बनेको हो। त्यसमा पनि एमालेकै नेपाल समूह ओलीको विपक्षमा उभिएपछि कांग्रेसलाई प्रदेश २ सरकारमा सहभागी हुन सहज बनेको हो।

प्रदेश २ सरकारबाट जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई हटाएर उपेन्द्र पक्षले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने पहल गरेको थियो। कांग्रेस तीन महत्वपूर्ण मन्त्रालयसहित सत्ता सहकार्यमा सहभागी भइ नै सकेको छ भने माओवादी केन्द्रले पनि सरकारमा सहभागिता पक्का गरिसकेको छ।

सत्ता साझेदारी गराउने प्रयत्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरमै छन्। कांग्रेससँग कुरा मिलिसकेपछि अब माओवादी केन्द्रका नेताहरूसँगको छलफलमा उनी केन्द्रित भएका छन्। जसपाद्वारा वार्ताका लागि गठित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति अहिले सक्रिय भएर लागेको छ।

जसपाले कांग्रेसलाई दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेको थियो। सुरुमा मुख्यमन्त्री दाबी गरेको कांग्रेसले तीन मन्त्रालय मागेपछि बुधबार दिनभरिको छलफलबाट सोहीअनुरूप नै सहमति भएको थियो। माओवादीले पनि तीनवटा मन्त्रालय दाबी गरेको छ। ‘हामीले तीन मन्त्रालय मागेका छौं, उहाँहरूले एउटाको कुरा गर्नुभएको छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक दिलीप साहले भने, ‘तर छलफल सकारात्मक रूपमा अघि बढिरहेको छ।’ दुईवटा मन्त्रालयमा कुरा मिलिसकेको समेत उनले बताए।’

यस्तो छ अंक गणित

प्रदेश २ मा हाल १ सय ४ जना सांसद छन। यसअघि १ सय ७ सांसद रहे पनि माओवादी केन्द्रले तीन सांसदलाई निष्कासन गरेपछि सो संख्या १ सय ४ मा झरेको हो। प्रदेशमा अहिले सबैभन्दा ठूलो दल जसपा नै हो। जसपाको दुवै पक्षका (समाजवादी र राजपा) गरी ५५ सांसद छन्।

अहिले संसदभित्रको अंकका आधारमा सरकार गठनका लागि ५३ सांसद आवश्यक पर्छ । जसपा ‘टुक्रिँदा’ यादव पक्षीय जसपासँग ३५ सांसद छन् । ठाकुर पक्षीय जसपाका २५ सांसद भए पनि पाँच सांसदले यादवतिरै हस्ताक्षर गरेका छन् । त्यसकारण ठाकुर पक्षसँग २० जना मात्र सांसद छन्।

सोमबार ठाकुर पक्षको संसदीय दल बैठकमा १५ सांसद मात्र उपस्थित थिए । यादव पक्षले ठाकुर पक्षका थप पाँच सांसदलाई आफूतिर ल्याइसकेको दाबी गरेको छ । प्रदेशमा एमालेसँग २१ सांसद छन् । ती पनि ओली र नेपाल समूहमा विभक्त छन् । प्रदेश २ मा तेस्रो ठूलो दल कांग्रेस हो । कांग्रेससित १९ सांसद छन् । माओवादीसँग पनि आठ सांसद छन् ।

रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीको सांसद संख्याएक छ । प्रदेश २ को यही गणितका आधारमा जसपा उपेन्द्र पक्षका ३५ सांसद, कांग्रेसका १९ र माओवादीका आठ सांसद जोड्दा ६२ सांसद पुग्छ । एमाले नेपाल समूहको पनि साथ यही गठबन्धनलाई छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .