ad ad

छापा खबर


दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए

दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए

नेपालखबर
असार १२, २०७८ शनिबार २३:३८,

कोभिड महामारीबीच अक्सिजन र भेन्टिलेटर अभावमा जनताको जीवन जान थालेपछि सरकारले विश्वसमुदायसँग सहयोगको लागि हात फैलायो।

‘नेपालको स्वास्थ्य प्रणाली ‘क्र्यास’ भयो भन्दै विश्व स्वास्थ्य संगठनले अपिल गरेपछि संसाभरबाट सहयोग पनि जुट्यो । तर, दाताले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो भेन्टिलेटर अहिले विभिन्न अस्पतालका स्टोरमा थन्किएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर छन् । तर, सञ्चालनमा आठ मात्रै छन् । महामारीका वेला केन्द्रबाट पठाइएका तीनमध्ये दुईवटा स्टोरमा थन्क्याएर राखिएको छ । जडान गर्ने जनशक्ति नहुँदा ती भेन्टिलेटर थन्किएका हुन् । अस्पताल आफैँले खरिद गरेका अन्य दुई पनि बिग्रिएकाले स्टोरमा थन्क्याइएको महाकाली अस्पतालका स्टोर प्रमुख तिलक जोशीले जानकारी दिए।

कोरोना महामारीका वेला सुविधासम्पन्न उपकरण थन्किएपछि बिरामीको उपचारमा समस्या भोग्नुपरेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले आइसियू सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग पटक–पटक माग गर्दासमेत जनशक्ति नदिएको बताए।

कोभिड दोस्रो लहरको हटस्पट बनेको सुदूरपश्चिममा नियति दर्दनाक छ । उपचार अभावमा थुप्रैले ज्यान गुमाए । तर, प्राण बचाउन सहयोगी मानिने भेन्टिलेटर थन्किएर बस्यो । कारण हो, जनशक्ति अभाव ।

संघ र प्रदेश सरकार तथा दातृ निकायबाट समेत गरी टीकापुर अस्पतालले यसै वर्ष १२ वटा भेन्टिलेटर प्राप्त गरेको छ । तर, जनशक्ति नहुँदा ती प्रयोगविहीन छन् ।

प्रदेश सरकारले सात महिनाअघि टीकापुर अस्पतालमा दुईवटा भेन्टिलेटर जडान गरेको थियो । त्यसयता, अस्पताललाई संघीय सरकारले चार वटा र युएनडिपीले एउटा भेन्टिलेटर दिएको छ । यहीबीचमा कोरोना संक्रमण दर उच्च हुँदा अस्पतालमा बिरामीको चाप बढ्यो । कोरोना संक्रमितले अस्पतालबाट भेन्टिलेटरको सुविधा भने पाएनन् । उपकरण भएर पनि चलाउने जनशक्ति नभएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितलाई अस्पतालले अन्यत्र रेफर गर्नुप¥यो । कोरोना संक्रमित केहीले अस्पतालमै ज्यान गुमाए ।

‘भेन्टिलेटर सुविधा भएको केहीको ज्यान जोगाउन सकिन्थ्यो होला,’ टीकापुर अस्पतालका मेसु डा। रेमकुमार राईले विवशता पोखे, ‘चलाउने जनशक्ति नभएपछि उपकरण भएर मात्र के गर्नु?’

मंगलबार मात्र नेपाल अविष्कार केन्द्रले टीकापुर अस्पताललाई पाँचवटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । अहिले जानकी गाउँपालिकाले तलब दिने गरी भेन्टिलेटर चलाउन एकजना एनेस्थेसियोलोजिस्ट नियुक्तिको प्रक्रिया अगाडि बढाइएको मेसु राईले बताए । भवन र जनशक्तिको अभावले पाँचवटा मात्रै भेन्टिलेटर चलाउने अस्पतालको तयारी छ । प्रदेश सरकारले मागेमा बाँकी भेन्टिलेटर दिइने उनले बताए।

सुदूरपश्चिमका सातवटा अस्पतालमा जडान गरिएका भेन्टिलेटर जनशक्ति नहुँदा थन्किएका छन् । प्रदेश सरकारले यस वर्ष सेती र महाकाली प्रादेशिक अस्पतालमा तीन–तीन तथा टीकापुर अस्पताल र डडेल्धुराबाहेक पहाडका अन्य ६ वटा जिल्ला अस्पतालमा दुई–दुईवटा भेन्टिलेटर जडान गरेको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका सातमध्ये तीन भेन्टिलेटर अझै जडान हुन सकेको छैन । अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बेड अभावमा प्राप्त भेन्टिलेटर जडान नगरिएको जानकारी दिए । उनले छिट्टै बेडको व्यवस्था गरेर जडान गरिने बताए ।

संघीय सरकारबाट लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयमा आएका सात भेन्टिलेटर भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल, कपिलवस्तु अस्पताल, भेरी अस्पताल र दाङमा पठाइएको डा। पुष्प पौडेलले जानकारी दिए ।

कोरोना कहरका वेला गण्डकी प्रदेश सरकारले प्राप्त गरेका भन्टिलेटरमध्ये दुईवटा भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन् । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार स्याङ्जा जिल्ला अस्पतालमा पठाइएको एउटा भेन्टिलेटर र पर्वत अस्पतालमा पठाइएको भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएका हुन् ।

दमौली अस्पतालमा संघीय सरकारबाट चारवटा भेन्टिलेटर प्राप्त भएका छन् । जनशक्ति अभावले सबै भेन्टिलेटर सञ्चालनमा समस्या रहेको मेडिकल सुपरिडेन्टेन्ट सुनील पौड्यालले बताए । ‘भेन्टिलेटर सञ्चालन गर्न विशेषज्ञ चाहिन्छ । यहाँ कसैले पनि चलाउन जानेका छैनन् । जनशक्ति अभावका कारण म चौबिसै घन्टा खटिनुपरेको छ,’ उनले भने, ‘एकजना एनेस्थेसिओलोजिस्ट र फिजिसियन तत्कालै आवश्यक परेको छ ।’

कोरोना महामारी सुरु भएयता विभिन्न देशबाट नेपाललाई सहयोगमा प्राप्त भएकामध्ये एउटा भेन्टिलेटर उदयपुर जिल्ला अस्पतालमा पठाएको स्वास्थ्य मन्त्रालयको दाबी छ । भेन्टिलेटर वितरण गरिएका जिल्लाको सूचीमा उदयपुरको पनि नाम छ । तर, जिल्ला अस्पतालमा हालसम्म भेन्टिलेटर पुगेको छैन।

जिल्ला अस्पतालका सूचना अधिकारी वृषबहादुर खत्रीले संघीय सरकारबाट हालसम्म भेन्टिलेटर प्राप्त नभएको बताए । आर्थिक वर्ष ०७६÷७७ मा अस्पतालले करिब एक करोड रुपैयाँमा दुई थान भेन्टिलेटर खरिद गरेको थियो । तर, दुवै भेन्टिलेटर अहिलेसम्म सञ्चालनमा छैनन् । दक्ष जनशक्ति अभावका कारण थन्किएको सूचना अधिकारी खत्रीले जानकारी दिए।

कोरोनाको दोस्रो लहरबीच गत वैशाखमा प्रदेश २ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताल सिराहमामा चारवटा भेन्टिलेटर जडान गरिएको छ । तर, विशेषज्ञ चिकित्सक नभएकाले सबै भेन्टिलेटर सञ्चालनमा छैनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .