अभिनेता भुवन केसीको ‘ड्रिम्स’ चलचित्रबाट ‘डेब्यु’ गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘फिल्मी भविष्य’ लोभलाग्दो गरी अघि बढिरहेको छ।
पर्दामा निर्वाह गरिएका उनको भूमिकाले प्रशंसा बटुलिरहेकै छ। आधुनिक वा ग्रामीण जस्तोसुकै भूमिका निर्वाह गर्न खप्पिस साम्राज्ञी चुनौतीपूर्ण चरित्र मन पराउँछिन्।
‘उच्च परिवारमा हुर्किए पनि ममा अहं छैन,’ भन्छिन्, ‘सानै दुःख पनि मलाई ज्ञात छ।’ कुनै जमानाका नामी मोडेल महेशविक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहकी पुत्री हुन्, साम्राज्ञी। २ मंसिर २०५२ मा काठमाडौंमा जन्मिएकी उनी अहिलेकी व्यस्त नायिकामध्ये पर्छिन्। पछिल्लो फिल्म ‘रातो टीका निधारमा’ ग्रामीण भूमिकामा देखिएकी साम्राज्ञीसँग राजधानी दैनिक(असोज ११)का डब्बु क्षेत्रीले गरेको सटकट संवाद :
साम्राज्ञीलाई महँगी नायिका भन्छन् नि?
हो। म संख्याभन्दा गुणस्तरमा विश्वास गर्छु त्यसैले थोरै फिल्म खेल्छु, राम्रो गर्छु । त्यसो हुँदा अलि महँगी भएँ होला।

महँगी नायिकाको पारिश्रमिक भन्न मिल्छ ?
किन नमिल्नु ? २० लाख लिने गरेकी छु।
व्यस्तता दिनदिनै बढ्दो छ, हैन?
काम गर्ने बेलै यही हो।
पछिल्लो समय प्रेम सम्बन्धका कारण विवादमा पनि मुछियो नि?
त्यो मेरो नितान्त व्यक्तिगत कुरा हो।
नयाँ नायकसँग मात्रै देखिनुको कारण के हो?
काम नयाँ र पुरानो भन्ने हुँदैन । चरित्र सुहाउँदो छ भने नयाँमा पनि पुराना जतिकै प्रतिभा हुन्छ । नयाँसँग काम गर्दा ‘इजी’ महसुस हुन्छ त्यसैले पनि होला। अर्को कुरा ‘अफर’ पनि त्यस्तै आउने गरेका छन्। त्यहीअनुसार पछिल्लो समय ‘रातो टीका निधारमा’ मेरो जोडी अंकित शर्मा बनेका छन्।
कस्तो भूमिकाले बढी तान्छ?
गाउँले भूमिका मेरो रुचिको विषय हो केही फिल्मबाट प्रस्ताव पनि आए । व्यस्तताले गर्न सकेकी थिइनँ। तर, ‘रातो टीका निधारमा’ भने म गाउ“ले भूमिकामै छु।
फेरि यस्तै भूमिकामा देख्न सकिएला त?
सधैं फरक भूमिकामा नै देखिँदै आएकी छु।

विगतमा सहरी भूमिकामै केन्द्रित थियो नि?
यो प्रश्न मलाई मन परेन। हरेक किसिमको फिल्ममा काम गरेकी छु। भर्खरै रिलिज ‘मारुनी’मा ‘ट्रान्स जेन्डर’ भूमिकामा थिएँ । त्यो मेरो निकै फरक काम हो । ‘ड्रिम्स’पछिका हरेक फिल्ममा मलाई त्यस्तै भूमिकाको प्रस्ताव आए । काममा केही फरक गर्ने कोसिस गर्दै आएकी छु।


प्रतिक्रिया