ad ad

विचार


यस्तो हुनेछ चिनियाँ मोडल

यस्तो हुनेछ चिनियाँ मोडल

विश्वको आर्थिक केन्द्र बन्दै गरेको चीनको सांघाई (चाइना डेली)


डा. एन्डी सेई
भदौ २०, २०७८ आइतबार २२:४८, काठमाडौँ

चिनियाँ नेताहरु यतिबेला साझा समृद्धिको बारेमा कुरा गरिरहेका छन्। पछिल्लो नीतिलाई यही साझा समृद्धिले मार्गनिर्देश गरिरहेको छ। यो अकुत धन भएकाहरुका लागि सम्पत्ति समाजतिरै फिर्ता गर्ने संकेत हुनसक्छ। जसलाई वितरणको तेस्रो चरण पनि भन्ने गरिन्छ। अर्थतन्त्र हाँक्ने तरिकामा हालै देखिएका परिवर्तनलाई पनि एकै ठाउँ जोडेर हेर्दा चिनियाँ मोडलले आकार ग्रहण गर्दै गएको देखिन्छ। 

चिनियाँ नेताहरु आफ्नो मुलुकको आर्थिक मोडललाई चिनियाँ विशेषतासहितको समाजवादी बजार अर्थव्यवस्था भन्ने गर्छन्। यो लम्बेतान सुनिन्छ। तर, यसमा समावेश तीन शब्द– चिनियाँ, समाजवादी र बजार– ले यतिखेर उचित सार ग्रहण गरेको छ।

विश्व अर्थतन्त्रको १७ प्रतिशत हिस्सा चीनले ओगट्छ। दुई दशकमा यो अंक दोब्बर हुनसक्छ। आफ्नै वजनको कारणले मात्रै पनि विश्वमा चिनियाँ मोडलले दुरगामी प्रभाव पार्छ। यतिबेला विश्व चिनियाँ शताब्दीमा प्रवेश गर्दैछ भन्नु अत्युक्ति हुँदैन। 

चीनको समृद्धि सर्वप्रथम त पूर्वी–एसियाली परिघटना हो। जापान, दक्षिण कोरिया र अहिले चीनले के प्रदर्शन गरेका छन् भने पूर्वी–एसियाली मुलुकहरु उत्पादन क्षमतामा पश्चिमी मुलुकहरुकै हाराहारीमा पुग्न सक्षम छन्। त्यसैले आर्थिक मोडल गौण महत्वको कुरा भयो। 

चीनको अहिलेको प्रतिव्यक्ति आय धनी पश्चिमा मुलुकहरुको आयको एक चौथाइदेखि एक तिहाइसम्म मात्र छ। तर, परिस्थिति चीनको पक्षमा छ। यतिबेला चीन सरकारले थुप्रै गल्ती गरे पनि आर्थिक वृद्धि रोकिने स्थिति छैन। 

चिनियाँ आर्थिक मोडलको दूरगामी राजनीतिक महत्व रहन्छ। यसको पहिलो पक्षलाई नियालौँ– यो चिनियाँ मोडल हो। चिनियाँ सभ्याताको विशेषता हो– राजनीतिक नेतृत्वको वरिपरि सबै जनतालाई एकताबद्ध तुल्याउनु। चीनका पहिलो सम्राट पुस्तक जलाउँथे। त्यही बेलादेखि हेर्ने हो भने चिनियाँ सभ्यता विशाल भूगोलका सबै मानिसलाई एउटै र उस्तै बनाउनमा केन्द्रित देखिन्छ। 

सबैलाई एकै बनाउने तरिका भनेको विचार नियन्त्रण नै हो। किताब जलाएर होस् वा उच्च पदका लागि सबैभन्दा प्रतिभाशालीलाई परीक्षाको सही उत्तर पहिले नै घोकाएर होस्, त्यो काम गरिन्थ्यो। आधुनिक सन्दर्भमा यसको अर्थ के हो भने शिक्षा वा सञ्चारमाध्यममा पुँजीले महत्वपूर्ण भूमिका खेल्न पाउँदैन। 

एकाधिकार रोक्ने नाममा ठूला प्रविधि कम्पनीहरुलाई कस्ने पछिल्लो काम त्यसैको एक हिस्सा हो। सम्पूर्ण सामग्रीको सिर्जना सरकारले नियन्त्रण गर्नेछ। 

दोस्रो पक्ष हो– आर्थिक जीवनको सबै आयाममा राजनीतिक सत्ताको केन्द्रीय भूमिका। ठूला निजी व्यवसाय चिनियाँ समाजका लागि नयाँ तत्व हुन्। र, यस्ता व्यवसाय वैकल्पिक शक्ति केन्द्र बन्न सक्छन्, जसले परम्परागत चिनियाँ पदानुक्रमलाई भत्काउँछ।

पछिल्लो समय चीनमा व्यवसायहरुमा कम्युनिस्ट पार्टीका संगठन खोलिएका छन्। निजी क्षेत्रका प्रमुख कामकारबाही सरकारको नियन्त्रण रहने सुनिश्चित गर्न यो काम गरिएको हो। ठूला निजी कम्पनीका संस्थापकहरुले छाडेपछि ती कम्पनीको व्यवस्थापन छान्नमा सरकारको प्रभाव रहने सम्भावना हुन्छ। जस्तो राज्यको स्वामित्वमा रहेका संस्थाहरुमा हुने गर्छ। 

बजार त प्राकृतिक रुपले नै चिनियाँ संस्कृतिमा छ। त्यसमाथि साधनस्रोतको अनुकूलन सधैँ चिनियाँ सभ्याताकै हिस्सा थियो। जब मौका आउँछ, मानिसहरुले त्यसको भरपुर फाइदा उठाउँछन्। 

विश्वयुद्ध नहुन्जेल र अव्यवस्थाका कारण उत्पादन अत्यन्त महंगो नहुञ्जेलसम्म चीनले पश्चिमसँग व्यापार गरिरहेकै थियो। अहिले पश्चिमसँगको व्यापारमा चीनले प्राप्त गरेको नाफा वास्तवमा सामान्य अवस्थाको पुनर्बहाली मात्र हो। 

यसैले बजारले स्वभाविक रुपमा चीनमा समृद्धि ल्याउँछ।

केहीले असमानतालाई बजारको प्रतिस्पर्धासँग जोड्छन्। तर, चीनमा असमानताको समस्या त्यति गम्भीर छैन। किनभने धेरैजसो चिनियाँहरु अत्यन्त प्रतिस्पर्धात्मक छन्। उदाहरणका लागि सुकिलामुकिला कर्मचारी र कठिन शारीरिक श्रम गर्ने श्रमिकबीचको विभाजन बाँकी विश्वमा जति खराब छ, चीनमा त्यति छैन। 

सबैजसो अभिभावक आफ्ना सन्तानलाई सुकिलामुकिला कामदार बनाउन जोड लगाउँछन्। जसका कारण चीनमा त्यस्ता कामदार अत्यधिक छन् भने शारीरिक श्रम गर्ने श्रमिकको अभाव छ। त्यसैले निर्माण क्षेत्रका मजदुर र घरेलु कामदारको तलब सम्भ्रान्त कलेजबाट स्नातक गरेका कर्मचारीहरुको भन्दा धेरै उच्च छ। 

चिनियाँहरु प्रतिस्पर्धात्मक भएकैले अकुत धन कमाउनुलाई बजारको शक्तिको नतिजा होइन, बजारलाई विकृत तुल्याउने सरकारको शक्तिसँग गाँसेर हेर्ने गरिन्छ। उदाहरणका लागि अहिले चीनमा देखिएको सम्पत्तिको विशाल असमानता सरकारी नीतिबाटै सिर्जित हो।

सरकारको मौद्रिक तथा आर्थिक नीति र ऋण लिँदाको राजनीतिक प्रक्रियाले विद्यमान सम्पत्तिको वितरणलाई निर्देशित गरेको छ। जजसले ऋणमा पहुँच पाए, तिनले बेलैमा जमिन जोड्न पाए र ठूलो धन जम्मा गर्न सके। 

चीनको ‘हुको’ प्रणालीले सहरका बासिन्दालाई फाइदा पु¥यायो। सहरी विकासका लागि बस्ती स्थानान्तरण गर्दा उनीहरुले फाइदा उठाए।

मुख्यगरी यिनै दुई कारणले अहिले देखिएको सम्पत्तिको असमानता पैदा गरेको हो। 

चिनियाँ मोडलको समाजवादी पक्षबारे अहिले धेरैको ध्यान केन्द्रित छ। किनभने वर्तमान नीति सम्पत्तिको पुनर्वितरणमा केन्द्रित छ। उच्च तहका कर्मचारी र व्यापारीको साँठगाँठबाट ठूलो सम्पत्ति आर्जन गरिएको छ भन्ने शंकाले पुनर्वितरणलाई लोकप्रिय बनाएको छ। किनभने चीनको पुरानो व्यवसायको मोडल त्यही हो। 

शाही युग छँदा चीन निकै समतावादी थियो। अन्यथा त्यति थोरै जमिनबाट दशौँ करोड मानिसलाई खुवाउन पुग्ने थिएन। सम्पत्तिको ठूलो हिस्सा भ्रष्टाचारको माध्यमबाट कर्मचारीको उच्च तहले हात पारेको थियो। नयाँ सम्राटले आफ्नो बाबुको शासनमा धेरै धनी भएका केही उच्च तहका कर्मचारीको टाउको छिनाउने गर्थे।

सम्पत्ति पुनर्वितरण गर्ने त्यो एउटा अचुक उपाय थियो। तर, अहिले हामी त्यति क्रुर छैनौँ। अहिले धनी व्यक्तिहरुसँग आफ्नो सम्पत्ति सरकारबाट अनुमतिप्राप्त उपकारी संस्थाहरुलाई दान दिने विकल्प उपलब्ध छ।

के यो उचित छ त? बितेको चार दशकमा चीनमा जति धन संग्रह भएका छन्, त्यो सस्तो श्रममा आधारित छ। चीनले आम रुपमा प्रयोग हुने सामग्री आविष्कार गरेको छैन। जापानको भन्दा ठिक उल्टो। धेरै धन प्रायः कि उच्च तहका कर्मचारीहरुको सहयोगबाटै कमाइएको छ कि भाग्यवश।

त्यसैले त्यो सम्पत्ति खोसिँदा पनि त्यसको खासै धेरै असर पर्दैन। उतिबेला झिसमिसेमै माछा बजारमा धनीमानीको टाउको छिनाइन्थ्यो। त्यसकै आधुनिक समतुल्य हो दान। जुन धनीमानीका लागि सजिलो सम्झौता हो।

चिनियाँ मोडलमा यी प्रमुख तत्व देखिन्छन्ः राज्यको स्वामित्वको पुँजीले सबैभन्दा ठूलो र महत्वपूर्ण क्षेत्र ओगट्छ। प्रतिस्पर्धात्मक हिस्सा निजी पुँजीले लिन्छ। ठूला र सफल निजी कम्पनी राज्यको कडा नियन्त्रणमा हुन्छन्। धेरैजसो मानिसलाई रोजगारी दिने साना उद्यमहरुलाई आफूखुसी गर्न दिइन्छ। अकुत धन फेरि समाजमै फर्काइन्छ। र, विचार नियन्त्रणको काम राज्यबाहेक अरु कसैले गर्दैन।

राम्रो, नराम्रो जे भए पनि भविष्य यही हो। 

(साउथ चाउना मर्निङ पोस्टबाट। डा. एन्डी सेई सांघाईस्थित अर्थशास्त्री हुन्। उनले मोर्गन स्टेन्ली र विश्वबैंकमा काम गरिसकेका छन्)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .