यो साता नेपाली राजनीतिक वृत्तमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विशेष चर्चामा रह्यो। राप्रपा एक्कासि चर्चामा आउनुको कारण थियो- उसको एकता महाधिवेशन। महाधिवेशनले तर्जुमा गर्ने राप्रपाका भावी कार्यदिशा र नेतृत्वबारे त चर्चा र बहस हुने नै भयो, त्यसैमाथि थपिए– दुई थापा।
एक थापा थिए– राप्रपाको स्थापनादेखि हाल (यसपटक हार हुनुअघि) सम्म त्यसको बागडोर सम्हालिरहेका अध्यक्ष कमल थापा। राप्रपामा एकछत्र राज गरिरहेका कमल थापा आफ्नो पार्टीको महाधिवेशनको सेरोफेरोमा सकारात्मक र नकारात्मक दुवै पाटोबाट चर्चामा आउनु स्वाभाविक थियो। उनले आजसम्म गरेका कामको मूल्यांकन र समीक्षाका क्रममा कतै ताली बजे त कतै गालीका स्वर गुञ्जिए।
अनि राप्रपाको एकता महाधिवेशन अवधिभर चर्चाको शिखरमा रहेकी अर्की थापा हुन्– चर्चित र लोकप्रिय नायिका रेखा थापा।
तर चर्चाको शिखरमा रहेका यी दुवै थापा राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा पछारिए। अध्यक्षका लागि कमल थापाका प्रतिद्वन्द्वी थिए– राजेन्द्र लिङ्देन। विडम्बना! नेपाली राजनीतिमा ‘खली’ खाएका राजनीतिज्ञ कमल थापाको निशानामा भने भर्खरै राजनीतिको मैदानमा पर्दापण गरिरहेकी रेखा थिइन्। राजनीतिक यात्रामा जेठो र कान्छोको कुरा गर्ने हो भने कमल थापाको तुलनामा रेखा थापा भर्खरै वामे सर्न थालेको ‘बच्चा’ मान्न सकिएला। तर कमल थापा महाधिवेशनका बेला कसैसँग आतंकित थिए भने तिनै रेखासँग थिए।
कमल थापा रेखासँग यतिसम्म भयभीत देखिए कि रेखाको प्रसंगहीन अन्तर्वार्ताको भिडिओ क्लिप आफ्नो सामाजिक सञ्जालमा राखेर ‘नो कमेन्ट’ भन्नसमेत भ्याए। यसपछि सामाजिक सञ्जालमा रेखा समर्थक र कमल थापा समर्थकबीच ‘नो कमेन्ट’ ह्यास ट्यागमा वाकयुद्ध नै चल्यो। कमल थापा र रेखा थापा एकअर्काका अन्तर्वार्ताविरुद्ध कटाक्ष गर्न चुकेनन्। नेपाली राजनीतिका चतुर खेलाडी मानिने कमल थापा भर्खर राजनीतिमा पदार्पण गरेकी रेखा थापामाथि एकोहोरो खनिइरहँदा दर्शक/स्रोता, कार्यकर्ताहरूलाई पक्कै पनि असहज र अशोभनीय महसुस भयो होला।
तर कमल थापाले यति कुरा राम्रै बुझेका थिए कि रेखा थापाको आवरणमा आएको ‘नेतृत्व पुस्तान्तरण’को हस्तक्षेपकारी आवाज र हुरीबतासले आफूलाई बढार्न सक्छ, खरानी बनाउन सक्छ। यसैकारण उनी रेखाविरुद्ध उत्रिएका थिए। नेतृत्व ‘पुस्तान्तरण’ वा ‘हस्तान्तरण’ जे भने पनि त्यो आवाज नायिका रेखा थापाको मुखबाट बुलन्द हुनु भनेको ढोल पिटेसरह थियो। युद्धभूमिमा शंखनाद गरेसरह थियो। जुन कुरा देश–दुनियाँलाई सुनाउनु र स्थापित गर्नु थियो। राजनीतिमा रेखाको प्रवेश र महामन्त्री पदमा उम्मेदवारी दिने साहसलाई नजिकबाट नियालिरहेका सञ्चारमाध्यमबाट त्यो आवाज एकसाथ राप्रपा महाधिवेशनका प्रतिनिधि तथा आम नेपालीमाझ पुग्यो र स्थापित भयो। जसका सामु कमल थापा टिक्न सकेनन् र अन्ततः ढले।
महामन्त्री पदमा उठेकी रेखा थापाकी प्रतिद्वन्द्वी थिइन्– कुन्ती शाही। ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं कमल थापा मैदान आफ्ना प्रतिद्वन्द्वी राजेन्द्र लिङ्देनलाई खाली छाडदिएर रेखा थापामाथि खनिइरहे, बर्सिइरहे। फलतः राजेन्द्र लिङ्देनले खाली मैदानमा मज्जैले गोल हानिदिए। अध्यक्ष नै सारा शक्ति खर्चेर रेखा थापाविरुद्ध उत्रिएपछि र रेखा पनि उनैको विरोधमा व्यस्त रहँदा उता कुन्ती शाही महामन्त्री पदमा बिनाअवरोध विजयी हुन सफल भइन्। एकअर्काविरुद्ध भिडिरहेका दुवै थापा हारे। उनीहरूका प्रतिस्पर्धीले जिते।
प्राविधिक रूपमा निर्वाचन हारे पनि रेखा थापाले वास्तविकतामा जितेकी छन्। किनकि उनले जोडदार रूपमा उठाएको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने आवाज अन्ततः कार्यान्वयन भएको छ। उनको मुद्दाले जितेको छ। माओवादी जनयुद्धकालमा युद्धकलाका रूपमा चिनिने ‘पूर्वमा हल्ला मच्चाएर पश्चिममा आक्रमण गर्ने’ रणनीतिको झल्को दिएको छ, राप्रपाको एकता महाधिवेशनले।
महाधिवेशन अवधिभर अध्यक्ष कमल थापाको आमनेसामने उभिएर रेखाले आफूविरुद्ध खनिन उत्प्रेरित गरिरहिन् र राजेन्द्र लिङ्देनलाई गोल हान्न मैदान खाली हुने वातावरण बनाइदिइन्। यसरी रेखाले आफू त हारिन्, तर राप्रपाको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण र प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिनुपर्ने आफ्नो बलियो मुद्दालाई विजयी गराइन्। कुनै पनि पार्टी र त्यसका कार्यकर्ताले हम्मेसी नयाँ नेतालाई विश्वास गर्दैनन्। रेखाको राजनीतिक यात्रा हेर्ने हो भने राप्रपामा उनी नयाँ नेता नै हुन्। तैपनि उनले प्राप्त गरेको मतलाई कम आँक्न मिल्दैन। उनले पाएको मत सम्मानजनक र आशलाग्दो नै मान्नुपर्ने हुन्छ।
लेखक उदय जीएमसँग रेखा थापा
नेपाली चलचित्र नगरीमा सबैभन्दा लामो समयसम्म एकछत्र राज गरेकी सुपरस्टार हुन्– रेखा थापा। वृद्धदेखि बालक उमेरसम्मकाले चिन्ने नाम हो– रेखा थापा। चलचित्र निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेदपछि पनि रेखाले आफ्नै ब्यानरमा आफैं निर्माता, आफैं निर्देशक र आफैं नायिका बनेर धेरैवटा चलचित्र बनाइसकेकी छन्। हिरोको वरिपरि नाच्ने र रोइकराइ गर्ने नेपाली नायिकाको परिभाषा नै फेरिदिएकी छन्, उनले। महिला नै चलचित्रको हिरो बन्नसक्छे भन्ने मान्यता उनले स्थापना गरेकी छन्।
नेपाली चलचित्र जगतलाई डेढ सय हाराहारीमा चलचित्र दिइसकेकी रेखालाई कहिले समाजसेवाको तृष्णा जाग्छ, कहिले चलचित्र क्षेत्रको सर्वाङ्गीण विकासको भोक लाग्छ त कहिले सामाजिक परिवर्तनको हुटहुटी; अनि कहिले समाजमा व्याप्त अशिक्षा, बेरोजगारी, रुढिवाद, पुरातन सोच, अन्धविश्वास, बेथिति, कुरीति, कुसंस्कार, लैंगिक हिंसा र विभेद, सामाजिक, आर्थिक, भौगोलिक र जातीय विभेदलाई जरैदेखि निमिट्यान्न पार्ने भावना उनमा जाग्छ। विकृति, विसंगति, भ्रष्टाचारको जग हल्लाउने हिम्मत पलाउँछ यिनमा। र, यिनले अन्तमा यी सबैको टुप्पामा देख्छिन्- राजनीति। सबै कुराको मियो- राजनीति। सबै कुराको केन्द्र- राजनीति। सबै कुराको धुरी- राजनीति।
समाजका जुन क्षेत्रमा हात हाले पनि सबै कुराको निर्धारण राजनीतिले गर्ने र टुप्पोमा राजनीति नै देखिएपछि राजनीति नै किन नगर्ने? यही प्रश्नले रेखालाई डोर्यायो, राजनीतिको छेउछाउ। माओवादीको आन्दोलनमा पुगिन्। कलाकार देखेपछि नाच्न र गाउन भनियो। नाचिन् उनी। सँगै नाचे माओवादी अध्यक्ष प्रचण्ड पनि। कुरा काट्नेले निहुँ पाए। प्रचण्डसँग जोडेर उनको हुर्मत लिन खोजे। संविधान सभा निर्वाचनमा टिकट पनि पाइन्, तर मतदाता नामावलीमा रेखाको नामै भेटिए पो! तैपनि उनी माओवादीकै आसपास उभिइरहिन्। सम्भवतः ४/५ हजारको केन्द्रीय समिति सदस्यको सूचीमा रेखाको नाम पनि टाँसियो होला कतै। माओवादीभित्रको आन्तरिक कलह, किचलो र संघर्षका बीच डा. बाबुराम भट्टराईसँग प्रभावित भएर रेखा उनको नजिक पनि नपुगेको कहाँ हो र! खै, त्यहाँ पनि टिकेको देखिएन।
हक्की र विद्रोही स्वभाव अनि हिन्दु धर्मप्रतिको आस्था र लगावले आफू सुहाउँदो पार्टी भेटियो- राप्रपा। विद्रोहीजस्तो लाग्ने रेखाका स्टाटस र अभिव्यक्तिका कारण कसैकसैले उनलाई तत्कालीन भूमिगत पार्टी नेकपा र नेता नेत्रविक्रम चन्द ‘विप्लव’सँग जोड्न पनि भ्याए। तर रेखाका लागि नेपालमा क्रियाशील सबै राजनीतिक दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी नै आफ्नो रोजाइ र अनुकूलको पार्टी भएको सत्य हो।
संघीय गणतान्त्रिक मुलुक र २१औं शताब्दीको युगमा राजसंस्था पुनस्र्थापनाको मुद्दा उल्टो बाटो पो हो कि? कुनै विशेष धर्मप्रति राज्य सापेक्ष बन्नु हुँदैन भन्ने नेपालको संविधान २०७२ को मूल मर्मविपरीत हिन्दूराष्ट्रको नारा अप्रासंगिक पो भइसक्यो कि? मूलतः यी दुई नारा र मुद्दाले राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्य निर्धारण गर्नेछन्। भन्न त राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ‘सदनबाट नभए सडकबाट राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना गराउँछु’ भनेर भनिसकेका छन्।
यो उद्घोषले कति जनताको मन जित्ने हो र उनी कति विश्वस्त हुने हुन्, त्यो भविष्यले नै देखाउला। नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने नायिका रेखा थापाले बुलन्द पारेको आवाजको एक झोक्काले नै कमल थापालाई उडायो, तर राजसंस्था र हिन्दुराष्ट्रको नारा र मुद्दामा अडेको राप्रपाको भविष्य सरल रेखामा अगाडि बढिहाल्ने सम्भावना देखिँदैन।
हक्की, निडर र विद्रोही स्वभावकी नायिका रेखा थापाको राजनीतिक रेखा पनि यी दुई नारा र नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमता र कार्यकुशलताले कोर्नेछ।
(उदय जीएम नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष हुन्।)
Shares
प्रतिक्रिया