ad ad

विचार


यसकारण पुटिनले युक्रेनमाथि आक्रमण गर्ने छैनन्

यसकारण पुटिनले युक्रेनमाथि आक्रमण गर्ने छैनन्

रुसले युक्रेनको सीमामा करिब एक लाख २७ हजार सैनिक जम्मा गरेको छ


एन्ड्रयु सालमन
माघ १३, २०७८ बिहिबार १०:१, काठमाडौँ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्लान् त? जे पनि हुनसक्छ। वास्तवमा सैन्य सफलताको कुरा गर्दा दोस्रो विश्वयुद्धपछिका कुनै पनि अमेरिकी राष्ट्रपतिभन्दा पुटिनको रेकर्ड राम्रो छ। उनले दोस्रो चेचेन युद्ध, जर्जियामाथिको हस्तक्षेप र क्रिमिया कब्जामा सफलता हासिल गरेका छन्। 

पश्चिमा मिडिया र राजनीतिक वृत्तमा त रुसले तुरुन्तै आक्रमण गर्ने प्रचारबाजी रातदिन जारी छ। तर, रुसका सैन्य विकल्पहरु उति राम्रा देखिँदैनन्। त्यसमाथि आक्रमणबाट प्राप्त हुने उपलब्धि युद्धको राजनीतिक र आर्थिक मूल्यभन्दा निकै तुच्छ छ।

अमेरिका आफैँमा विभाजित छ। पश्चिमा मुलुक भर्खरै अफगानिस्तानमा पराजित भएका छन्। यो स्मरण ताजा हुँदाहुँदै रुसले युक्रेनमा आक्रमण गर्ने उचित समय अहिले नै हो भनेर ठहर गर्ला त?

रुस ऐतिहासिक हिसाबले नै दुष्प्रचारमा माहिर रहँदै आएको छ। यो रणनीतिको मुख्य खम्बा हो, आफ्नो योजनालाई बढाइचढाइ प्रस्तुत गर्नु। र, अहिलेसम्मका संकेतहरुलाई हेर्दा पश्चिमा नीतिनिर्माता र सञ्चारमाध्यम रुसले थापेको यो ‘आक्रमण’ को बल्छीमा पुरै फसेका छन्। 

त्यसैले, पश्चिमलाई आफ्ना वैध गुनासाहरु स्वीकार्न बाध्य बनाउन रुसले दुष्प्रचारको हतियार प्रयोग गरिरहेको हुनसक्छ। रुस खासगरी आफ्नो प्रभाव क्षेत्रमा नेटोको विस्तार नहोस् भन्ने चाहन्छ।

सूक्ष्म रुपमा यो मामिलालाई अध्ययन गर्ने हो भने तत्काल युद्धको सम्भावना निकै कम छ।

रुस आफ्नो योजनामा सफल भइसक्यो!
सायद युक्रेनको सीमामा रुसी सैनिक जम्मा गरेर रुसले आफ्नो उदेश्य पुरा गरिसकेको छ। उसको उदेश्य थियो– दोनबास क्षेत्रमा युक्रेनी सेनाको आक्रमणलाई रोक्नु। कोइलाको धनी क्षेत्र दोनबासका बहुसंख्यक जनता रुसी जातका छन्। सो क्षेत्र रुस समर्थित विद्रोहीहरुको कब्जामा छ।

२०१४ मा युक्रेनको सेना पुरै निकम्मा देखियो। किनभने रुसले क्रिमिया कब्जा गर्दा उसले कुनै प्रतिक्रिया जनाउन सकेन। त्यही कमजोरीका कारण दोनबासमा विद्रोहीहरुसँग लड्न युक्रेन धेरै हदसम्म मिलिसियाहरुमा निर्भर रह्यो। तर, ती मिलिसिया संदिग्ध थिए। कतिपयले खुल्लमखुल्ला फासीवादी प्रतीकहरु प्रदर्शन गरेका थिए। 

तर, आज युक्रेनको सेना त्यसबेलाको भन्दा निकै ठूलो र बलियो छ। पश्चिमा मुलुकहरुको तालिम र हतियार पाएको छ। यही चासो जनवरी २५ मा रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले पनि व्यक्त गरेका थिए। ‘कसले कसलाई धम्की दिइरहेको छ? दोनबासमा सैन्य कारबाही गर्न युक्रेनलाई उत्तेजित पार्ने हिसाबले हाम्रा पश्चिमा मित्रहरुले यो सारा बबाल मच्चाइरहेको हुनसक्छन्,’ उनले भनेका थिए।

युक्रेनको शक्ति
निश्चय नै किभभन्दा मस्को निकै ठूलो सैन्य शक्ति हो। तर, लडाइँको मैदानमा उपलब्ध हुने जनशक्ति रुसको पक्षमा छैन।

धेरैजसो रिपोर्टअनुसार रुसले युक्रेनको सीमामा करिब एक लाख २७ हजार सैनिक जम्मा गरेको छ। र, ती सैनिक अजेय देखिन्छन्। रुसी सेनाले तोप पड्काएर सैन्य अभ्यास गरेको, हिउँले ढाकिएको मैदानमा बख्तरबन्द गाडी दौडाएको दृश्य सार्वजनिक गरेको छ। 

तर, रुसी सेनाले मोर्चामा त्यसभन्दा धेरै युक्रेनी सेनाको सामना गर्नुपर्ने हुन्छ। ग्लोबल फायरपावर नामक सुरक्षासम्बन्धी वेबसाइटका अनुसार अहिले युक्रेनसँग २ लाख सेना उपलब्ध छ। त्यसबाहेक रिजर्भमा अढाई लाख र ५० हजार मिलिसिया पनि छ। 

गतिलो हवाई शक्ति, तोपगोला, क्षेप्यास्त्र, साइबर क्षमता हुँदाहुँदै पनि रुसले युक्रेनमाथि आक्रमण गर्यो भने उसले निकै ठूलो, रक्तपातपूर्ण प्रतिकारको सामना गर्नुपर्ने हुन्छ। खासगरी त्यो लडाइँ लामो गुरिल्ला युद्धमा परिणत भयो भने। 

गत सेप्टेम्बरमा गरिएको एउटा सर्वेक्षणअनुसार ८१ प्रतिशत युक्रेनी जनता पुटिनप्रति नकारात्मक धारणा राख्छन्। 

अफगानिस्तान युद्ध र पहिलो चेचेन युद्धबाट घर फिर्ता आएका कफिनलाई क्रेमलिनका कसैले पनि बिर्सेका छैनन्। त्यसमाथि चुकाउनुपरेको राजनीतिक मूल्य झनै ठूलो थियो। 

यति ठूलो संख्यामा सैनिक तैनाथ गरेर र त्यसलाई अन्तर्राष्ट्रिय रुपमा प्रदर्शन गरेर अचानक आक्रमण गर्ने मौका रुसले गुमायो। ‘हामी यहाँ छौँ’ भनेर जसरी रुसले फौज प्रदर्शन गरेको छ, त्यो सोभियत अथवा रुसले अचानक गरेका सैन्य कारबाहीहरुभन्दा विल्कुल अलग रणनीति देखिन्छ। १९७९ मा सोभियतले अचानक काबुल कब्जा गरेको थियो भने रुसले २०१४ मा क्रिमिया।

अहिलेको सैन्य तैनाथी रुसले २०२१ को मार्चमा सुरु गरेको थियो। तर, विश्वभरको सञ्चारमाध्यमले यो तथ्यलाई भुलेको देखिन्छ। त्यतिखेर २२ हजार ४०० सैनिक उसले उतारेको थियो। क्रिमियामा ३२ हजार र दोनबासनजिक २८ हजार। जम्मा करिब ९० हजार। यो निकै सानो संख्या हो। किनभने विगतमा तत्काल ठूलो संख्यामा सैनिक ओसारपसार गर्ने क्षमता रुसले देखाइसकेको छ। २०१८ मा साइबेरियाको सैन्य अभ्यासमा ३ लाख रुसी सेना सहभागी भएका थिए। 

सम्भव देखिँदैन देशव्यापी आक्रमण र विजय 
मानौँ, पुटिन युद्ध नै चाहन्छन्। त्यस्तो स्थितिमा रुसी सैन्य कारबाही कसरी अघि बढ्छ त? रुसी सेना युक्रेन प्रवेश गर्ने तीन सम्भावित नाका छन्। दक्षिणमा बेलारुसबाट, पश्चिममा रुस तथा दोनबासबाट र उत्तरमा क्रिमिया र अजोव सागरबाट।

तर, देशव्यापी आक्रमण र विजय सम्भव देखिँदैन। खासगरी युक्रेनको सीमा पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियासँग जोडिएका कारण। किनभने ती क्षेत्रबाट गुरिल्लाहरु सहजै घुस्ने र भाग्ने गर्न सक्छन्। 

अर्कोतिर क्रिमिया र दोनबास अनि रोस्तोवलाई जोड्ने क्षेत्र रुसले कब्जा गर्न सक्छ। तर, कब्जा गरेपछि भने यसको रक्षा गर्न मुस्किल हुन्छ। किनभने यो २ सय किलोमिटर लामो छ।

त्यसैले सबैभन्दा सम्भावित परिदृश्य भनेको दोनबासलाई टुक्र्याउनु हो। तर, अमेरिकाले ठूलो आर्थिक नाकाबन्दी लगाउने धम्की दिइरहेको बेला यो विकल्पमा पनि नाफाभन्दा नोक्सान बढी छ। जबकि दोनबास यसअघि नै रुससमर्थित विद्रोहीको कब्जामा छ।

रुसले किभमा कठपुतली सरकार स्थापना गर्ने योजना बनाएको त्रास पनि देखिन्छ। २०१४ मा मस्को समर्थित सरकार ढालिएपछि नै युक्रेन–रुस संकट सुरु भएको थियो। तर, अहिलेको अवस्थामा यो विकल्प पनि सम्भव देखिँदैन।

बेला टर्दैछ
तीन वटा कारणले रुसले युक्रेनमाथि आक्रमण नगर्ने संकेत गर्छन्।

पहिलो, तीव्र गतिमा आक्रमण गरेर कब्जा गर्ने समय अन्त्य हुँदैछ। हिउँले ढाकिएको समयमा त्यो सम्भव हुन्थ्यो। तर, मार्चको सुरुदेखि बरफ पग्लिन्छ, जमिन हिलो हुन्छ र ‘बाटोघाटोबिनाको समय’ सुरु हुन्छ।

यसबाट रुसको समुद्री र हवाई टुकडी प्रभावित हुँदैनन्। तर, अहिलेसम्म सञ्चारमाध्यमले धेरै ध्यान दिएको स्थल सैनिकमा हो। दोस्रो विश्वयुद्धको इतिहासलाई हेर्दा पनि हिउँ पग्लेको समयमा रुसी मोर्चामा ठूला सैन्य कारबाही भएका थिएनन्। 

तसर्थ, रुसले चाँडै आक्रमण नगर्ने हो भने उसको सेनाले ठुल्ठूला कठिनाइ भोग्नुपर्ने हुन्छ।

दोस्रो, बेइजिङ हिउँदे ओलम्पिक सुरु हुन लागेको छ। उद्घाटन समारोहअघि पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने डिसेम्बरमै तय भएको छ।  

आफ्नो सबैभन्दा निकट मित्र मुलुकले देशको विशाल स्रोत र प्रतिष्ठा गाँसिएको उत्सव उद्घाटन गरिरहेका बेला पुटिनले युद्ध छेड्ने सम्भावना निकै कम छ।

तेस्रो, आक्रमणमा पुटिनले जति ढिला गर्छन्, अमेरिका, बेलायतजस्ता नेटो मुलुकले उति धेरै हतियार युक्रेन पठाउने मौका पाउँछन्। अर्को शब्दमा भन्नुपर्दा, रुसले जति पर्खियो, युक्रेन उति युद्धका लागि तयार हुँदै जानेछ।

यसले देखाउँछ– आक्रमणका विषयमा पुटिन गम्भीर हुन्थे भने उनले यसअघि नै आक्रमण गरिसक्थे।

रुस के चाहन्छ?
रुसको एउटा उदेश्य हो, रुसी बहुमत भएको दोनबास क्षेत्रलाई कायम राख्नु। क्रेमलिनको विश्व दृष्टिकोणका लागि पनि यो अत्यन्त महत्वपूर्ण छ। सोभियत युनियनको पतनपछि करोडौँ रुसीहरु विभिन्न मुलुकमा तितरबितर भए। तिनको भलाइलाई मस्कोले बेवास्ता गर्न सक्दैन। 

यही कारणले २०१४ मा क्रिमिया कब्जा गर्ने पुटिनको कदम रुसी जनतामाझ अत्यन्त लोकप्रिय भयो। किनभने क्रिमियामा रुसी जातिका मानिसको बहुमत थियो र ऐतिहासिक तथा रणनीतिक रुपले त्यो रुसका लागि महत्वपूर्ण थियो। 

तर, त्यसभन्दा ठूलो मुद्दा हो– पश्चिमसँग रुसको सम्बन्ध। १९९० मा बर्लिन पर्खाल ढल्दै गर्दा र सोभियत संघ विघटन हुँदै गर्दा पश्चिमाहरुले बाचा गरेका थिए– नेटो विस्तार हुने छैन। 

अमेरिकी दस्तावेजहरुका अनुसार तत्कालीन पश्चिम जर्मनीका विदेशमन्त्री हन्स डिट्राइख गेन्चरले रुसलाई भनेका थिए– पूर्वी युरोपको परिवर्तन र जर्मनीको एकीकरणले सोभियतको सुरक्षा चासोमा कुनै खतरा निम्त्याउनु हुँदैन।

र, सोभियत नेता मिखाइल गोर्बाचोभले ‘नेटोको विस्तार मान्य हुँदैन’ भनेर जोड गर्दा अमेरिकी विदेशमन्त्री जेम्स बेकरले भनेका थिए, ‘नेटोको अहिलेको सैन्य क्षेत्राधिकार पूर्वी दिशामा एक इन्च पनि विस्तार हुँदैन।’

तर, ती बाचाकसम पालना गरिएनन्। वार्सा प्याक्ट (सोभियत संघमा आबद्ध मुलुकहरुको सन्धि/गठबन्धन) हावामा बिलायो तर नेटो पहिलेभन्दा सक्रिय भयो। उसले त वार्सा प्याक्टका पूर्व सदस्यहरु पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियालाई पनि आफ्नो सदस्य बनायो। उत्तरतिर नेटो बाल्टिक सागरसम्म पुग्यो।

यससँगै अमेरिकी सेना, क्षेप्यास्त्र, क्षेप्यास्त्र प्रतिरोध प्रणाली र राडारहरु पूर्वतिर रुसको सीमानजिक सर्दै गए। जसले रुसको रक्षा रेखालाई कमजोर तुल्यायो। र, अहिले मस्कोलाई डर छ– युक्रेन पनि कतै नेटो सदस्य बन्ने त होइन? किनभने रुसको मुटुमा आक्रमण गर्ने सबैभन्दा सहज बाटो युक्रेन नै हो। 

२०२१ को नेटो शिखर सम्मेलनमा पनि युक्रेन र जर्जिया सदस्य बन्ने बताइएको थियो। त्यसका लागि नेटोले मार्गचित्र पनि अघि सारेको थियो। 

‘हामी गठबन्धनको कारबाहीहरुमा, नेटोको अभ्यासहरुमा र सेनामा युक्रेनको महत्वपूर्ण योगदानको उच्च कदर गर्छौँ,’ नेटोले भनेको थियो। 

अमेरिकाको नियतमाथि रुसले शंका गर्ने अरु कारण पनि छन्। अमेरिकाले १९७९ मा सोभियत संघसँग हतियारको मात्रा कम गर्ने सन्धि गर्यो तर त्यसलाई आफूले कहिल्यै अनुमोदन गरेन। पुटिनको कार्यकालमा पनि यस्ता घटना भइरहे।

२००१ मा वासिङ्टन एन्टी–ब्यालिस्टिक मिसाइल ट्रिटी (१९७२) र २०१९ मा इन्टरनेसनल न्युक्लियर फोर्सेस ट्रिटी (१९८७) बाट पनि बाहिरियो।

निश्चय नै परिस्थिति परिवर्तन हुन्छ र नेटो सदस्य मुलुकको सार्वभौसत्तामा कसैले प्रश्न उठाउन पाउँदैन। तर, रुसको गुनासोको आधारलाई निरर्थक भन्नु अदुरदर्शी कदम त हो नै, त्यो खतरनाक पनि बन्न सक्छ।

पुटिनः नायक कि खलनायक?
नेटो र अमेरिकाप्रतिको चासो वैध हुँदाहुँदै पनि पुटिनको धम्कीपूर्ण र आक्रामक व्यवहार आत्मघाती हुनसक्छ।

अमेरिकाले ल्याटिन अमेरिकालाई आफ्नो प्रभाव क्षेत्र मानिरहँदा विश्व रुसलाई सोभियत संघको पुरानो प्रभाव क्षेत्र प्रदान गर्न तयार छ कि छैन, स्पष्ट छैन। यस्तो स्थितिमा पुटिनले पश्चिमाहरु सामु एउटा ठूलो समस्या खडा गरेका छन्।

एकातिर, मस्कोको गुमेको गौरव फिर्ता गर्ने सपना स्पष्ट रुपमा पुटिनले प्रकट गरेका छन्। स्वदेश र विदेशमा उनको राजनीतिक व्यवहारले यो प्रस्ट पारेको छ। 

आन्तरिक विपक्षीलाई नष्ट गर्ने, विश्वभरका साइबर आक्रमणकारीलाई शरण दिने, घातक जासुसीमा लाग्ने, छिमेकीलाई धम्की दिने उनको व्यवहारले स्वाभाविक रुपमा उदार लोकतान्त्रिक मुलुकहरुलाई चिन्तित तुल्याउँछ। रुसको नौसैनिक अभ्यासले आयरल्यान्ड र स्वीडेनजस्ता मुलुकलाई समेत चिढ्याइरहेको छ।

अर्कोतिर, रुसी जनतामाझ पुटिनको वैधता र लोकप्रियता दुवै बलियोगरी स्थापित छ। बोरिस यल्तसिनकालीन तहसनहस रुसलाई उनले पुननिर्माण गरे। दोस्रो चेचेन युद्ध, जर्जिया, क्रिमिया, सिरियामा उनका सैन्य कारबाही सफल भए। खासगरी सोमालिया, इराक र अफगानिस्तानमा अमेरिकाले बेहोरेको बेइज्जतीको सन्दर्भमा। 

त्यसभन्दा बढी पश्चिमाहरुले २०१४ मा नाकाबन्दी लगाउनु अघिसम्म रुसको प्रतिव्यक्ति आय र रुसीहरुको जीवनस्तर वृद्धि भइरहेको थियो।

पुटिनलाई समर्थन नगर्ने मेरा एक रुसी मित्र भन्छन्, ‘सम्भवत पुटिन सबैभन्दा लोकप्रिय नेता हुन्। आधुनिक समयको मात्र होइन, सुरुदेखि अहिलेसम्मकै!’

यो कुरा निकै महत्वपूर्ण छ। यसको एउटा अर्थ के हो भने, पुटिन सहजै युद्धबाट पछि हट्न सक्छन्। सायद उनको छवि थोरै खराब हुनेछ तर उनले ठूलो दबाब बेहोर्नुपर्ने छैन। र, आगामी शुक्रबार यी कथित युद्धपिपासु पुटिनले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग यही संकटबारे वार्ता गर्नेछन्। 

अर्को ठूलो कारणले पनि यो कुरा महत्वपूर्ण छ।

रुस ठूला १० अर्थतन्त्र (जी१०) बाट बाहिरियो। उसलाई दक्षिण कोरियाले विस्थापित गर्यो। रुस उर्जा र हतियार बिक्रीमा ज्यादा निर्भर छ। तर, क्षेत्रफलका हिसाबले रुस विश्वकै ठूलो मुलुक हो। र, उर्जा आपूर्तिमा ऊ ठूलो खेलाडी हो। नेटो सदस्य मुलुक पनि रुसी इन्धनमा निर्भर छन्। 

रुससँग शक्तिशाली सेना छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य पनि हो ऊ। त्यसैले रुस, सजिलै, आरामले अप्रासांगिक बन्ने छैन।

चीनको शक्ति बढिरहेको छ, अमेरिकाको शक्ति घट्दै छ र युरोपेली संघ सदस्य मुलुकहरुबीच प्रभावकारी साझा विदेशनीति तयार गर्न असफल रहँदै आएको छ। यस्तो समयमा पश्चिमले पुटिनसँग कसरी सौदाबाजी गर्छ, त्यो हाम्रो युगको प्रमुख भूराजनीतिक मुद्दा बन्छ। 

(एसिया टाइम्सबाट) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .