ad ad

विचार


तीन कारणले नेपाललाई चाहिन्छ अमेरिका

तीन कारणले नेपाललाई चाहिन्छ अमेरिका

डा. अनिल सिग्देल अमेरिकाको वासिङ्टनस्थित थिङ्कट्याङ्क ‘नेपाल म्याटर्स फर अमेरिका’ का संस्थापक हुन्


अनिल सिग्देल
बैशाख १८, २०७९ आइतबार ९:३७, वासिङ्टन

नेपाल र अमेरिकाबीचको सम्बन्ध निकै पुरानो हो। तर, पछिल्ला वर्षहरुमा, खासगरी अमेरिकाले नेपाललाई दिएको एमसीसी अनुदानका सन्दर्भमा यी दुई मुलुकबीचको सम्बन्धको कडा परीक्षण भएको छ। नेपालमा भएका बहस मुख्यगरी नेपालमा अमेरिकी नीति र ठूला परियोजनामा अमेरिका सहभागी हुँदा पर्ने असरमा केन्द्रित देखियो। लोकतान्त्रिक समाजमा यो सामान्य अभ्यास हो। तर, यो बहसमा अमेरिका र नेपालबीचको बलियो द्विपक्षीय सम्बन्धले नेपालको सार्वभौमसत्तालाई सुदृढ बनाउँछ भन्ने तथ्यलाई भने नजरअन्दाज गरियो।

जुनसुकै द्विपक्षीय सम्बन्धमा पनि असमझदारी हुन्छन्। अत्यन्त निकट साझेदार र गठबन्धनका सहयात्रीबीच समेत अविश्वास रहन्छ। कुनै पनि सम्बन्ध सर्वगुणसम्पन्न हुँदैन। यो समग्र खेलको एउटा हिस्सा मात्र हो। तर, जहाँसम्म नेपालको हितको कुरा छ, अमेरिकासँग नेपालको सम्बन्ध आधारभूत रुपमा तीन कारणले महत्वपूर्ण छः सम्प्रभुताको सिद्धान्त र लोकतान्त्रिक शासन व्यवस्था, हिमाली क्षेत्रमा भूराजनीतिक सन्तुलन र आर्थिक विकास तथा स्थिरता।

सम्प्रभुता र लोकतन्त्र
कुनै पनि राष्ट्रको अस्तित्व कायम राख्न सम्प्रभुता र भौगोलिक अखण्डता आधारभूत सर्त हुन्। तर, नेपालजस्ता मुलुकका लागि यी कुरा चुनौतीरहित छैनन्। यस्ता सिद्धान्त संयुक्त राष्ट्रसंघको बडापत्रमै प्रतिस्थापित गरिए पनि विश्व व्यवस्था मूलतः ‘यथार्थवाद’का आधारमा सञ्चालित छ। यसको अर्थ हो– महाशक्ति मुलुकले कमजोर राष्ट्रहरुको स्वतन्त्रता र सम्प्रभुताको सम्मान गर्छन् नै भन्ने छैन। यसको उदाहरण हामी यतिखेर दक्षिण एसियासहित विश्वभर देखिरहेका छौँ। 

आफ्ना नीति पालना गर्ने सवालमा अमेरिकाले एकरुपता कायम नगरे पनि वासिङ्टन यी सिद्धान्त र मान्यताको पक्षमा छ। र, उसले यो विश्व व्यवस्था स्थापना गर्न र टिकाउन महत्वपूर्ण भूमिका खेलेको छ। खासगरी दोस्रो विश्वयुद्ध अन्त्यपछि निर्मित विश्व व्यवस्थामा यो कुरा साँचो हो, किनभने त्यसयता विश्वमा अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।

नेपालको सन्दर्भमा राणा शासनको अन्त्यदेखि नै अन्तर्राष्ट्रिय समुदायमा नेपालका लागि अमेरिकाको सहयोग र विश्वमञ्चमा पहिचान अत्यन्त महत्वपूर्ण थियो, छ र भविष्यमा पनि रहनेछ। साना मुलुकहरु अन्तर्राष्ट्रिय समुदायका जग हुन्, त्यसैले उनीहरुको हित र निर्णयको अधिकारलाई शक्ति राष्ट्रले सम्मान गर्नुपर्छ भन्ने नेपालको परराष्ट्र नीतिको मान्यता अमेरिकाको मान्यतासँग मिल्दोजुल्दो छ। 

भूराजनीतिक सन्तुलन 
भारत र चीनजस्ता शक्तिशाली मुलुकको बीचमा अवस्थित नेपालले स्वायत्ततापूर्वक निर्णय गर्ने सवालमा जहिले पनि तनाव महसुस गर्ने गरेको छ। विगतमा पनि यस्तो अवस्था थियो, अहिले पनि छ र भविष्यमा पनि यो कायम रहनेछ। त्यसैले सन्तुलन कायम गर्नका लागि यो क्षेत्रभन्दा बाहिरको शक्तिलाई यहाँ निम्त्याउनु र सहभागी गराउनु नेपालका लागि अत्यन्त महत्वपूर्ण छ। नेपालप्रति भारतको व्यवहारमा बारम्बार र चीनको व्यवहारमा कहिलेकाहीँ हामीले देखेका छौँ– आफ्नो स्वार्थपूर्ति हुने भयो भने उनीहरुका लागि नेपालको सार्वभौम अधिकार कम महत्वपूर्ण हुन पुग्छ।  

विश्वका थुप्रै मुलुकका प्रतिनिधि नेपालमा छन्। उनीहरु नेपालमा क्रियाशील पनि छन्। नेपालले १७१ मुलुकमा कूटनीतिक सम्बन्ध स्थापना गरिसकेको छ। तैपनि, पछिल्लो समयमा नेपालले भारतबाट अनुचित दबाबको सामना गर्नुपरेको छ। उदाहरणका लागि नेपालले संविधान घोषणा गर्दा नाकाबन्दी लगाउनेदेखि कालापानीमा नेपालको भौगोलिक अखण्डताको ठाडो उल्लंघन गर्नेसम्मका भारतको कदमलाई लिन सकिन्छ।

चीनले पनि नेपालको प्राथमिकता र निर्णयलाई प्रभावित तुल्याउने प्रयास गर्दै आएको छ। कठिन भूराजनीतिक परिस्थितिमा अघि बढ्न नेपाललाई अप्ठेरो पर्ने गरेको छ। पछिल्ला वर्षहरुमा भारत र चीनबीचको शत्रुता बढेको छ। र, उनीहरु आपसी युद्धको निकट आइपुगेका छन्। यी दुईलाई एकअर्काको सन्तुलनमा राख्न नेपाललाई रणनीतिक स्वायत्तताको नीति आवश्यक पर्छ। जसमा नेपालसँग सक्रिय र मित्रवत् सम्बन्ध रहेको विश्वशक्ति अमेरिका निकै महत्वपूर्ण हुन पुग्छ। 

आर्थिक विकास र स्थायित्व
आर्थिक वृद्धि र विकासलाई तीव्रता दिने नेपाललाई ठूलो चाहना छ, जुन उचित पनि छ। त्यो लक्ष्य प्राप्त गर्न एकाध साझेदार वा छिमेकी मात्र नेपाललाई पर्याप्त हुने छैनन्। छिमेकीहरु त आफ्नो स्वार्थ पुरा नहुञ्जेल नेपाललाई सघाउन समेत इच्छुक हुने छैनन्। नेपाललाई अहिले त्यस्तो रणनीतिको खाँचो छ, जसले एउटा साझेदारसँग नेपालले मिलेर काम गर्दा अर्को साझेदारलाई पनि आकर्षित गर्न सकोस्। उदाहरणका लागि नेपालमा अमेरिकाको एमसीसी परियोजनाका कारण भारत र चीन पनि नेपालमा आर्थिक सहभागिता बढाउन बाध्य हुन सक्छन्। 

केही वर्षअघि भारत र चीनले नेपालको आर्थिक वृद्धिलाई सहयोग गर्न विकास साझेदारी गर्ने बाचा गरेका थिए। तर, नेपालले अपेक्षा गरेअनुरुप नेपाल–भारत वा नेपाल–चीन वा नेपाल–भारत–चीन त्रिपक्षीयजस्ता कुनै पनि साझेदारी अघि बढेन। यहाँनेर हामीले के बुझ्न जरुरी छ भने भारत र चीनले नेपाललाई मात्र होइन, विश्वका अन्य थुप्रै मुलुकलाई सहयोग गर्ने बाचा गरेका छन्। किनभने आफ्नै स्वार्थका कारण उनीहरुले त्यस्तो बाचा गर्नुपर्ने हुन्छ।

लगानी गरेपछि उनीहरु कूटनीतिक अथवा अन्य रणनीतिक प्रभाव पार्न खोज्छन्। त्यसमाथि पनि उनीहरुको मुख्य उदेश्य भनेको आफ्ना कम्पनीका लागि आर्थिक नाफा सुनिश्चित गर्नु हो। नेपालले चाहेजसरी भारत र चीनले त्यतिबेला मात्रै सहयोग गर्नेछन्, जतिबेला नेपालले उनीहरुको रणनीतिक स्वार्थलाई स्वीकार गर्छ। र, त्यो काम नेपालका लागि सजिलो छैन। ‘सबैसँग मित्रता’को नीति नै नेपालका लागि सुरक्षित छ र यसमा नेपालले चलखेल गर्ने स्थान पनि पाउँछ। तथापि, सो नीतिले विकासको लक्ष्य हासिल गर्न नेपाललाई अपेक्षाअनुरुप सहयोग भने गरेको छैन। तसर्थ, यो परिस्थितिमा सो खाडललाई पुर्ने काम अमेरिकाले गर्छ। यद्यपि, आफ्नो स्वार्थपूर्ति गर्ने सवालमा अमेरिकाको पनि रणनीतिक तर्क हाम्रा छिमेकीहरुको भन्दा खास फरक छैन। 

त्यसबाहेक, नेपालको आर्थिक व्यवस्थापन र स्थायित्वका लागि अमेरिकाको भूमिका महत्वपूर्ण बन्न पुग्छ। किनभने प्रमुख पश्चिमा ऋणदाता संस्थाहरु अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा सञ्चालित छन्।

त्यस्ता संयन्त्रहरुबाट बाहिरिएर नेपाल एकदम अलग बाटोमा जानुपर्छ भन्ने उग्र आवाजहरु हामी नेपालमा सुनिराख्छौँ। यस्तो कुरा मनपर्नुका पछाडि नेपालीहरुसँग आआफ्नै राष्ट्रवादी र भावनात्मक कारण छन्। तर, त्यस्तो कदम व्यावहारिक हुँदैन र यसले ठूलो हानि समेत गर्न सक्छ। यसको पछिल्लो उदाहरण हो श्रीलंका। जो यस्तै भावुक नीति र आर्थिक कुप्रबन्धको सिकार बनेको छ।

अमेरिकासँग जनस्तरको सम्बन्धबाट नेपालीहरुलाई थुप्रै फाइदा छ। किनभने अमेरिकामा नेपाली डायस्पोरा बढ्दो छ। यस्तो सम्बन्धबाट लगानी र प्रविधि हस्तान्तरणको सम्भावना पनि वृद्धि हुन्छ। यसबाट कसरी बढीभन्दा बढी फाइदा लिने भन्ने चाहिँ नेपाली सरोकारवाला र नीतिनिर्मातामा भर पर्छ। महत्वपूर्ण पक्ष के छ भने नेपालमा अमेरिकी स्वार्थका बारेमा रहेका सन्देहहरुको सन्दर्भमा पक्कै पनि नेपालले होसियारी अपनाउन र आफ्ना नीतिहरुको मूल्यांकन राम्ररी गर्न जरुरी छ। 

द्विपक्षीय सम्बन्धमा रहेका जुनसुकै सन्देहभन्दा विश्वभर धेरै सहयोगी र साझेदार भएको महाशक्ति अमेरिकासँगको सम्बन्धबाट पक्कै पनि नेपाललाई ज्यादा फाइदा हुन्छ।

(डा. अनिल सिग्देल अमेरिकाको वासिङ्टनस्थित थिङ्कट्याङ्क ‘नेपाल म्याटर्स फर अमेरिका’ का संस्थापक हुन्)

नेपाल–अमेरिका सम्बन्धका ७५ वर्ष– थप स्टोरी :
१. ७५ वर्षका १२ मोडः नेपाल आउन चाहन्थे अमेरिकी राष्ट्रपति, राजतन्त्र गएपछि सेनासँग खास सम्बन्ध

२. ७५ वर्षमा नेपाल र अमेरिकाले एकअर्कालाई अँगालो हालेनन्, तिरस्कार पनि गरेनन्ः भेषबहादुर थापा (अन्तर्वार्ता)

३. काठमाडौँमा ‘हाइप्रोफाइल’ अमेरिकी राजदूतबीच विश्व तरंगित पार्ने बिहे, पर्साको झुपडीमा हनिमुन

४. राजा वीरेन्द्रलाई ह्वाइटहाउसको त्यो स्वागत

५. शताब्दी पुरानो ‘चमत्कारी वीरगन’: अमेरिकीको घरघरमा, नेपालको संग्रहालयमा

६. राजा महेन्द्र अमेरिकाकै राष्ट्रपतिको जेट चढेर सिकार गर्न गए, खर्च नतिर्दा बदनाम भए

७. सीआईएको हतियारले चीनसँग लडे, भारत भाग्दै गर्दा नेपाली सेनाबाट मारिए

८ महेन्द्रले ‘कू’ गर्नुअघिको गोप्य अमेरिकी रिपोर्टः दुई देशलाई भिडाउन नेपाली माहिर छन्

९. डोली चढेर आएको त्यो अमेरिकी मिसन, जसले दियो नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .