ad ad

विचार


कोही पत्रकार किन बारम्बार युद्ध चर्काउन खोज्छन्?

कोही पत्रकार किन बारम्बार युद्ध चर्काउन खोज्छन्?

रेलवे प्लेटफर्ममा रुसी सेनाका ट्याङ्क (सीजीटीएन)


मारवान बिसारा
बैशाख २७ , काठमाडौँ

अरु सबै युद्धजस्तै युक्रेन युद्ध पनि पाप हो। यो भयानक कुकर्मले अहिलेसम्म हजारौँको ज्यान लिइसकेको छ, सिंगै सहरहरु ध्वस्त पारिसकेको छ र दसौँ लाखलाई विस्थापित पारिसकेको छ। विश्वको सुरक्षामा अकथनीय असर पारेको छ। 

तर, यो पाप कसको हो?

निश्चय नै यो युक्रेनको पाप होइन। युक्रेनका अनुभवहीन राष्ट्रपतिको नेटो सदस्य बनिछाड्ने ढिपी मूर्खता हुनसक्छ, तर यो अपराध होइन। 

पक्कै पनि यो रुसको अपराध हुनुपर्छ। कि अमेरिकाको?

वासिङ्टन र उसका विश्लेषकहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनलाई सम्पूर्णको पापको स्रोत मान्छन्। उनीहरु १९ औँ शताब्दीको रुसी साम्राज्य सम्झाउने गरी पुटिनले निरंकुशता र साम्राज्यवादी महत्वाकांक्षा पालेको अनि सार्वभौम मुलुक युक्रेनलाई टुक्राटुक्रा पार्न रक्तपातपूर्ण युद्ध सुरु गरेको आरोप लगाउँछन्। यो प्रक्रियामा पुटिनले पुरै युरोपलाई अस्थिर बनाइरहेको र विश्व व्यवस्था नै परिवर्तन गरिरहेको उनीहरुको दाबी छ।

काफी सत्य।

अर्कोतिर मस्को र उसका विश्लेषकहरु वासिङ्टनलाई सबै अन्तर्राष्ट्रिय दुष्ट्याइँको स्रोत मान्छन्। अमेरिकाले युक्रेनको राजनीतिमा हस्तक्षेप गरेको र रुसको सुरक्षालाई कमजोर बनाउन किभलाई प्रयोग गरेको आरोप लगाउँछन्। आफ्नो सीमासम्मै नेटो विस्तार भएपछि पश्चिमा समर्थित ‘युक्रेनी नाजीहरु’बाट रुसी नागरिकलाई बचाउन हस्तक्षेप गर्नुको विकल्प आफूसँग नभएको उनीहरुको दाबी छ।

काफी बढाइचढाइ।

उसोभए यहाँनेर को सही र को गलत छ त?

यसको उत्तर खोज्न एउटा पुरानो किस्सा सम्झिनुपर्ने हुन्छ। 

एक पटक एक व्यक्ति आफ्नो छिमेकीबारे गुनासो गर्न मुखियाकहाँ गएछन्। उनको कुरा सुनेपछि मुखियाले भनेछन्, ‘तिम्रो कुरा सही हो।’ केही समयपछि छिमेकी चाहिँ त्यस्तै गुनासो लिएर उनीकहाँ आएछ। मुखियाले फेरि भनेछन्, ‘तिम्रो कुरा सही हो।’ ऊ गएपछि मुखियाको छोराले विरोध गरेछ, ‘दुई जनै कसरी सही हुन सक्छन्?’

‘तिम्रो कुरा पनि सही हो छोरा,’ मुखियाले भनेछन्। 

म मुखिया होइन, तैपनि दुवै पक्ष सही हुनसक्छन् भन्ने म स्वीकार्छु र मेरो कुरा पनि सही होला भन्ने आशा गर्छु।

रुसले निश्चय नै झुठो बहाना बनाएर युक्रेनमाथि आक्रमण गरेको छ। किभ वा वासिङ्टनसँग साँच्चै उसलाई गुनासो थियो भने त्यसलाई उसले संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय अदालत लैजान सक्थ्यो। त्यो गर्नसक्ने क्षमता उसको थियो। तर, उसले युद्ध रोज्यो– कच्चा र पुरानो भइसकेको परम्परागत युद्ध।

क्रेमलिनलाई राम्रोसँग थाहा छ, युक्रेनका समस्यामध्ये थुप्रै ऊ आफैँले जन्माएको हो। २०१४ मा क्रिमिया टुक्र्याएर र पूर्वी प्रान्तहरुलाई टुक्र्याउन उक्साएर उसले अहिलेको संकट निम्त्याएको हो। 

पुटिनले पटकपटक स्पष्ट पारेका छन्– रुसको मनमा खासगरी युक्रेनले विशेष ठाउँ लिएको छ। र, त्यसलाई जानदिने पक्षमा उनी छैनन्।

अघिल्लो गर्मीमा प्रकाशित एउटा लेखमा पुटिनले भनेका छन्, ‘रुसी र युक्रेनीहरु एकै हुन्। एउटा सिंगो।’ मनमा साम्राज्यको मोह नभएको भए यो भावना एकदमै प्रिय हुने थियो। छोटकरीमा भन्नुपर्दा रुसी साम्राज्यको पुनरोत्थानका लागि युक्रेन अपरिहार्य छ।

युक्रेनमा जे भइरहेको छ, त्यो एउटा ढाँचाको हिस्सा मात्र हो। रुसले सोभियत संघबाट टुक्रिएका गणतन्त्रहरु जर्जिया, मोल्दोभा र कजाकस्तानमा यही साम्राज्यवादी महत्वाकांक्षाका कारण हस्तक्षेप गरेको थियो।

पुटिन भने आफ्नो प्रभावक्षेत्रमा अमेरिकाले हस्तक्षेप गरेपछि रुसले रक्षात्मक कदम मात्र चालेको दाबी गर्छन्। उनले पश्चिमा नेतृत्वको ‘नियममा आधारित विश्व व्यवस्था’, अझ भन्दा अमेरिकाले निरन्तर रुपमा गरेको अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र विश्वभरका राज्यहरुको आन्तरिक मामिलामा हस्तक्षेपका कारण उत्पन्न अव्यवस्थाको आलोचना र भर्त्सना गरेका छन्। 

२००८ मा अमेरिकाले युक्रेन र जर्जियालाई तुरुन्तै नेटो सदस्य बनाउन खोजेको र २०१४ मा रुसको समर्थनप्राप्त भिक्टर यानुकोभिचको सत्ता पल्टाउने कथित मैदान क्रान्ति भड्काएको पुटिनको आरोप छ। अहिले युक्रेनलाई हतियार दिएर रुसलाई कमजोर बनाउन अमेरिकाले छद्म युद्ध लडिरहेको र युद्धलाई लम्ब्याइरहेको उनको आरोप छ।

सोभियत संघका पूर्व सदस्य मुलुकहरुमा सत्ता पल्टाउने क्रान्तिहरुविरुद्ध पुटिन अडिग छन्।

ठिक यही विन्दुमा पुटिनले चीनका शासक सी चिनफिङमा रणनीतिक मित्र फेला पारेका छन्। लोकतन्त्र र मानवअधिकारको नाममा चिनियाँ र समग्र एसियाको राजनीतिक तथा सुरक्षा मामिलामा अमेरिकाको निरन्तर हस्तक्षेप र उक्साहटबाट सी पनि क्रुद्ध छन्। 

बदलामा अमेरिकाले अरुलाई गरेजस्तो रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्यो। फलस्वरुप डोनाल्ड ट्रम्पको विजयपछि पश्चिमा लोकतन्त्रहरु रक्षात्मक बने। 

अर्को शब्दमा भन्दा पुटिनले अमेरिकालाई जेजस्ता आरोप लगाइरहेका छन्, ती सबै काम उनी आफैँ पनि गरिरहेका छन्। अझ कच्चा तरिकाले। हो, अमेरिकाले अत्यन्त कुटिलतापूर्वक युक्रेनलाई रुसविरुद्ध प्रयोग गरेको छ। तर, मलाई के लाग्छ भने त्यो रुसले युक्रेनमाथि आक्रमण गर्ने कारण होइन, बहाना मात्र थियो।

तसर्थ, अमेरिका र रुस दुवैको भनाइमा केही सत्य र ज्यादा बढाइचढाइ छन्। यसले अहिलेको एकदमै विभाजित र सैन्यकृत वातावरणमा सञ्चारमाध्यमको भूमिकामाथि प्रश्न उठाउँछ। आखिर स्वतन्त्र प्रेसले मात्रै राज्यको शक्तिलाई प्रश्न गर्न सक्छ र युद्धको तथ्यलाई प्रचार गर्न सक्छ।

निरंकुशतन्त्र भएको रुसमा सरकारले युद्धका आलोचकहरुलाई धम्क्याएर चुप लगाएको छ– यसबाट म अलिकति पनि चकित छैन। तर, अमेरिकी विदेश नीतिको आलोचकहरुलाई पत्रकार र नागरिकहरुले नै गरेको विषाक्त आक्रमणबाट भने म स्तब्ध छु। तिनले उनीहरुलाई ‘पुटिनको पैसा खाएर देशद्रोह गरेको’ आरोप लगाएका छन्।

पत्रकारहरुलाई सरकारी लाइनअनुसार बोल्नलेख्न बाध्य गराइनु वा पत्रकारहरुले वासिङ्टन वा लन्डनमा अरुभन्दा अगाडि हुन स्वेच्छाले अझ जोसपूर्वक सरकारी लाइनको प्रचार गर्नुमध्ये कुन खराब हो, मलाई थाहा छैन।

दुर्भाग्यवश, दुई दशकअघिको विनाशकारी खाडी युद्धमा जे भएको थियो, त्यसकै पुनरावृत्तिको साक्षी हामी बसिरहेका छौँ। त्यतिबेला धेरैजसो प्रभावशाली एंग्लो–सेक्सन मूलधारका सञ्चारमाध्यमले अन्धतापूर्ण र मूर्खतापूर्ण तरिकाले सरकारी लाइन प्रचार गरेका थिए।

तिनै युद्धोन्मादी ‘आर्मचेयर’ पत्रकार र संग्रामी विश्लेषकहरु, जो विनाशकारी इराक युद्धमा सर्वथा गलत साबित भएका थिए, ले फेरि कुनै कारणवश पश्चिमा संस्थापनलाई उक्साउने र तिनलाई सैन्य ज्ञानले प्रबुद्ध तुल्याउनुपर्ने आवश्यकता महसुस गरे।

तर, सैन्य र गुप्तचर निकायले दिएका सूचना अझ भन्नुपर्दा मिथ्या सूचना यी ‘विचार निर्माताहरु’ले किन फैल्याइरहेका छन्? बारम्बार?

किन कुनै पत्रकारले युक्रेनमा रुसविरुद्ध फलाना हतियार चाहिएको छ भनेर सल्लाह दिन्छ? जबकि जारी युद्धको सैन्य पक्षबारे हरेक पत्रकारले जानेका सबै कुरा अमेरिकी र पश्चिमा सैन्य तथा गुप्तचर निकायले नै दिएका हुन्। तिनै निकायले ‘इराकको आणविक हतियार’ बारे भ्रम फैल्याएका होइनन्?

यसको कारण हाम्रो नजरबाट लुकेको छ। उनीहरु जनतालाई सम्बोधन गरिरहेका छन्, जर्नेल वा कुनै निर्णयकर्तालाई होइन। उनीहरु युद्धप्रति अमेरिकी समर्थनलाई सामान्यीकरण गरिरहेका छन् र सोही अनुसार जनधारणा निर्माण गर्ने काम गरिरहेका छन्। यो पत्रकारितामाथिको आत्मघाती अपराध हो। यसले उदार लोकतन्त्रमाथिको जनविश्वासलाई कमजोर तुल्याउँछ।

जब पश्चिमा सरकारहरु नैतिक आक्रोश व्यक्त गर्छन्, यी ‘विचार निर्माताहरु’ रुसप्रति अझ बढी आक्रोश व्यक्त हुनुपर्ने माग गर्छन्। अमेरिकी सरकारले जब पछिल्लो पटक युक्रेनलाई ३३ अर्ब डलरको सैन्य र आर्थिक सहयोग गर्यो, तब एउटा प्रभावशाली सञ्चारमाध्यमले आणविक युद्धको खतरालाई जान्दाजान्दै अमेरिकाले अझ ठूलो योगदान र अझ ठूलो जोखिम मोल्नुपर्ने माग राख्यो। 

त्यसैगरी, जब राष्ट्रपति जो बाइडेनले पुटिनलाई युद्ध अपराधी भन्दै उनलाई सत्ताच्यूत गर्नुपर्ने बताए, तब सञ्चारमाध्यमका विश्लेषकहरुले बाइडेनभन्दा एक कदम अघि बढेर पुटिनलाई दुष्ट भने र रुसमा सत्ता परिवर्तन गर्ने बाइडेनको टिप्पणी फिर्ता नलिन ह्वाइट हाउसलाई आग्रह गरे। 

यसको अर्थ विश्लेषकहरुले प्रतिरोध, मुक्ति र न्यायको वकालत गर्नुहुँदैन भनेको होइन। उनीहरुले त्यसको वकालत गर्नैपर्छ। युद्धका दुखान्तहरुलाई सार्वजनिक गर्ने विषयमा पत्रकारहरु पछि परेका छन् पनि भन्न खोजेको होइन। थुप्रैले यो काम गरेका छन्।

जब युद्धको कुरा आउँछ, तब सत्यमाथि प्रकाश पार्न सञ्चारमाध्यम आनिवार्य छ। तर, आफूले चाहेको नतिजा निकाल्न दबाब दिने काम सञ्चारमाध्यमको होइन। प्रचार होइन, बढीभन्दा बढी तथ्य उपलब्ध गराउने, युद्धमैदानको रणनीति होइन, युद्धको विश्लेषण पस्किने र हिंसा भड्काउने होइन, शान्ति प्रबद्र्धन गर्ने काम सञ्चारमाध्यमको हो। 

सञ्चारमाध्यमलाई हतियारजसरी प्रयोग गर्ने काम लोकतन्त्रलाई होइन, निरंकुशतन्त्रलाई बढ्ता सुहाउँछ। यसले कूटनीतिको सम्भावनालाई कमजोर तुल्याउँछ र समय आएपछि शान्तिपूर्ण सम्झौतामा पुग्न वा त्यसलाई स्वीकार्न कठिन बनाउँछ। जबकि शान्तिपूर्ण सम्झौता अनिवार्य हो, सारा युक्रेनीको हितका लागि, हामी सबैको हितका लागि।

(अल जजिराबाट)
 

बैशाख २७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad