युक्रेन युद्धमा रुसको वास्तविक मन्सुवा के हो र उसको दाउ के छ, बुझ्न कठिन छ। यसको एउटा कारण हो– घटनाक्रमलाई बाहिरियाहरुले हेर्ने तरिका र क्रेमलिनले हेर्ने तरिकामा रहेको फरक। उदाहरणका लागि केहीलाई लाग्छ– युक्रेनमा सैन्य विजय हात पार्न रुस असफल भयो। तर, यसलाई मस्कोमा बिल्कुल अलग रुपमा लिइन्छ। अहिले धेरैजसो बहस युक्रेनलाई लडाइँमा जिताउन कसरी सहयोग गर्ने, उसलाई रुससँग सहमतिमा ल्याउन के गर्ने वा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो छवि बचाउने मौका कसरी दिनेजस्ता कुरामा केन्द्रित छन्। तर, यी बहस यथार्थका नजिक छैनन्।
यो युद्धलाई पुटिनले कसरी हेर्छन्– यसबारे रहेका पाँच गलत धारणालाई म यहाँ निवारण गर्नेछु। यदि पश्चिम आफ्नो तरिकामा प्रभावकारी हुन र जोखिमलाई कम गर्न चाहन्छ भने उसले परिस्थितिलाई अलग तरिकाले हेर्न आवश्यक छ।
मान्यता १ : पुटिनलाई थाहा छ, उनी हार्दैछन्।
यो धारणा बिल्कुल गलत हो। रुसको उदेश्य युक्रेनको ठूलो हिस्सा नियन्त्रणमा लिनु हो, त्यसैले जब रुसी सेना असफल हुन्छ, अघि बढ्न सक्दैन वा पछि हट्छ भने त्यो रुसको असफलता हो भन्ने गलत विचारबाट यो धारणा जन्मिएको हो।
तर, यो युद्धमा युक्रेनको भूमि कब्जा गर्नु पुटिनको मुख्य उदेश्य कहिल्यै पनि होइन। बरु, उनी उनले भन्ने गरेको ‘रुसविरोधी’ योजनामा सामेल युक्रेनलाई ध्वस्त पार्न चाहन्छन् र युक्रेनी भूमिलाई प्रयोग गरेर रुसविरोधी भूराजनीतिक गतिविधि गर्नबाट पश्चिमलाई रोक्न चाहन्छन्।
फलस्वरुप, रुसले आफूलाई असफल ठान्दैन। रुसीकरण (जसलाई रुसी प्रचारबाजीमा ‘नाजीमुक्त बनाउने’ भन्ने गरिन्छ) र ‘नेटोमुक्त’ (जसलाई ‘असैनिकीकरण’ भन्ने गरिन्छ) अर्थात् नेटोसँग फौजी सहकार्यमा रोक लगाउनेजस्ता रुसका माग पुरा नगरुञ्जेल न युक्रेन नेटोको सदस्य बन्नेछ न शान्तिपूर्वक बस्न नै सक्नेछ।
यी लक्ष्य पछ्याउन रुसले युक्रेनी भूमिभित्र सैन्य उपस्थिति कायम गर्नुपर्ने हुन्छ र युक्रेनी पूर्वाधारमा आक्रमण गरिराख्नुपर्ने हुन्छ। त्यसका लागि युक्रेनको ठूलो हिस्सा कब्जा गरिराख्नुपर्ने जरुरी छैन, न त राजधानी किभ नै कब्जा गर्न आवश्यक छ (पुटिनले सुरुमा किभ कब्जा गर्ने सपना देखेका रहेछन् भने पनि)। लुहान्स्क र दोनेस्कमाथिको नियन्त्रण समेत अतिरिक्त र स्थानीय उदेश्य हो। यो गत दुई दशकमा युक्रेनले लिएका गलत र पश्चिमासमर्थक भूराजनीतिक निर्णयको बदला लिने तरिका मात्रै हो।
पुटिनको नजरमा उनी यो युद्ध हारिरहेका छैनन्। वास्तवमा उनलाई आफूले जितिरहेको विश्वास हुनसक्छ। र, युक्रेनले हार नमानुन्जेल पर्खिन उनी खुसीखुसी तयार छन्।
मान्यता २ : पुटिनलाई आफ्नो छवि बचाउन पश्चिमले सहयोग गर्नुपर्छ, ताकि थप, सम्भवतः आणविक तनाव नबढोस्।
कल्पना गर्नुहोस्– युक्रेनले रुसको सबैजसो माग स्वीकार गर्यो। उसले क्रिमियालाई रुसको भूमि मान्यो र दोनबासलाई स्वतन्त्र पनि मान्यो। आफ्नो सेनाको आकार घटाउन पनि तयार भयो, कहिल्यै नेटोमा सहभागी नहुने बाचा पनि गर्यो। के त्यति गर्दा द्वन्द्व अन्त्य होला त? धेरैजसोले यसको जवाफ ‘हुन्छ’ भनेर दिए पनि उनीहरु गलत छन्।
हो, रुस युक्रेनसँग लडाइँ लडिरहेको छ। तर, भूराजनीतिक हिसाबले रुसलाई लाग्छ, ऊ युक्रेनको भूमिमा पश्चिमसँग युद्ध लडिरहेको छ। क्रेमलिनमा युक्रेनलाई पश्चिमाहरुको हातमा रहेको रुसविरोधी हतियारका रुपमा हेरिन्छ। र, त्यो हतियार ध्वस्त पार्दैमा पश्चिम विरोधी भूराजनीतिक खेलमा रुस स्वतः विजयी भइहाल्दैन। पुटिनका लागि यो रुस र युक्रेनबीचको युद्ध होइन, र युक्रेनी नेतृत्व स्वतन्त्र छैनन्, बरु उनीहरु पश्चिमका कठपुतली हुन्, त्यसैले तिनलाई नष्ट गर्नैपर्छ।
तसर्थ, युक्रेन जतिसुकै झुके पनि जबसम्म पश्चिमले रुसप्रतिको तरिका बदल्दैन र जबसम्म रुसको यो आक्रमणको मुख्य कारण गएको ३० वर्षसम्म मस्कोका भूराजनीतिक चासोलाई अमेरिकाले गरेको बेवास्ता हो भन्ने स्वीकार्दैन, तबसम्म पुटिनले युद्ध जारी राख्नेछन्।
यो पुटिनको लामो समयदेखिको वास्तविक उदेश्य हो। र, यो बदलिएको छैन। युक्रेनसामु रुसले पुरा गर्नै नसकिने माग तेर्स्याउनु पनि रुस र पश्चिमबीचको टक्करमा दाउ बढाउने क्रेमलिनको एउटा तरिका हो। पश्चिम एक रहन सक्छ कि सक्दैन भनेर जाँच्ने तरिका हो। आज पश्चिमले समस्यालाई गलत नजरले हेरिरहेको छ। पश्चिम रुसको युद्धलाई रोक्न आक्रमणका लागि रुसले तयार गरेका बहानाहरुलाई हेरिरहेको छ र पश्चिमा खतराप्रति पुटिनमा रहेको मनोग्रन्थीलाई बेवास्ता गरिरहेको छ। साथै, संकट बढाएर पश्चिमलाई रुसी सर्तअनुसार संवादमा आउन बाध्य बनाउने पुटिनको तरिकालाई पनि पश्चिमले देखेको छैन। यहाँनेर युक्रेन बन्धक मात्रै हो।
मान्यता ३ : पुटिन लडाइँमा मात्र होइन, घरेलु राजनीतिमा पनि हारिरहेका छन्, रुसमा पुटिनविरुद्ध जुनसुकै बेला कू हुन सक्छ।
यसको ठिक उल्टो चाहिँ साँचो हो, कमसेकम अहिलेका लागि। राजनीतिक स्थायित्व कसरी सुनिश्चित गर्ने र विरोधलाई कसरी रोक्ने भन्नेबारे रुसी सम्भ्रान्तहरु यति धेरै चिन्तित बनेका छन् कि उनीहरु सबै पुटिनको वरिपरि गोलबद्ध भएका छन्। किनभने राजनीतिक व्यवस्थालाई सुदृढ गर्न सक्ने र भद्रगोललाई रोक्न सक्ने एक मात्र नेता पुटिन हुन्।
सम्भ्रान्तहरु राजनीतिक रुपले दुर्बल, त्रसित र कमजोर छन्, पश्चिमा सञ्चारमाध्यममा युद्धपिपासु र आक्रामक भनेर प्रचार गरिएका पात्रहरु पनि। पुटिनले शासन गर्ने आफ्नो क्षमता (शारीरिक वा मानसिक) नगुमाउँदासम्म उनीविरुद्ध कदम चाल्नु भनेको आत्महत्यासरह हो। सैनिक तथा सम्भ्रान्तबीच फुट र वैमनश्य देखिए पनि, पुटिनको नीतिप्रति असन्तुष्टि प्रकट भए पनि उनको शासन अटल छ। पुटिनका लागि मुख्य खतरा भनेको उनी आफैँ हुन्। समय उनको प्रतिकूल हुँदा पनि सम्भ्रान्तहरुलाई ब्युँझिन मानिसहरुले अपेक्षा गरेभन्दा लामो समय लाग्नेछ। दैनिक शासन सञ्चालनमा पुटिन कति सहभागी हुन्छन्, यो त्यसमा भर पर्नेछ।
मान्यता ४ : युद्धविरोधी प्रदर्शनका कारण पुटिन डराएका छन्।
सत्य के हो भने पुटिनलाई युद्धसमर्थक प्रदर्शनको डर बढी छ। थुप्रै रुसीहरु ‘युक्रेनी नाजीहरु’को विनाश चाहन्छन्। उनीहरुको त्यो आतुरीलाई पनि पुटिनले विचार गर्नुपर्ने हुन्छ। जनचाहनाले पनि संकट बढाउन सक्छ। त्यसले पुटिनलाई अझ बढी आक्रामक र दृढ बन्न उक्साउन सक्छ। भलै यो क्रेमलिनको आफ्नै प्रचारबाजीको नतिजा किन नहोस्। यो अत्यन्त महत्वपूर्ण कुरा होः पुटिनले त्यो कालो राष्ट्रवाद जगाएका छन्, जसमा उनी झनझन् बढी निर्भर हुँदैछन्। पुटिनलाई जेसुकै भए पनि विश्वले रुसी जनताको यो आक्रमकता र पश्चिमविरोधी, उदारवादविरोधी दृढ विश्वासलाई झेल्नुपर्ने हुन्छ।
मान्यता ५ : पुटिन आफ्ना वरिपरिकासँग साह्रै निराश छन् र वरिष्ठ अधिकारीविरुद्ध मुद्दा चलाउने अनुमति दिएका छन्।
पश्चिममा खुबै बहस भएको विषय हो यो। पुटिनका पूर्व डेपुटी चिफ अफ स्टाफ भ्लादिस्लाभ सुर्कोव गिरफ्तार भएको, युक्रेन हेर्ने सुरक्षा अधिकारी सेर्गेइ बेसेदाक नजरबन्दीमा परेको र पुटिनको भित्री समूहमा हेरफेर भएको अनुमानका आधारमा यो कुरा उठेको हो। यी सबै हल्लाहरुलाई एकदमै सन्देहको नजरले हेर्नुपर्छ।
पहिलो कुरा त, यी हल्ला कुनै पनि साँचो पुष्टि भएका छैनन्। बरु बेसेदा र सुर्कोव दुवै पक्राउ नपरेको उच्च स्रोतको भनाइ छ। दोस्रो, पुटिन आफ्ना स्टाफसँग रिसाएका र निराश भएका हुनसक्छन्। तर, गम्भीर अपराध नगरुञ्जेल आफ्ना भित्रियाहरुलाई धरपकड गर्ने, हटाउने शैली उनको होइन। पुटिनका लागि अर्थ राख्ने एउटै कुरा भनेको व्यक्तिको नियत हो। त्यसैले, रुसको गुप्तचर निकायले आकलनमा कमजोरी गरे वा नराम्रो नियतबेगर पुटिनलाई नै गलत सूचना दिए भने पनि उनीहरुविरुद्ध कारबाही हुने छैन। तेस्रो, युक्रेनमा रुसको सैन्य अभियानको व्यवस्थापन पुटिन आफैँले नजिकैबाट गरिरहेका छन्। जसका कारण उनी मातहतका अधिकारीहरुले आफूखुसी निर्णय लिने ठाउँ निकै कम छ।
यी सबैको अर्थ के हो भने पुटिन हार्दैछन् भन्ठानेर युक्रेनलाई सहयोग बढाउँदै लैजाने कि पुटिन खतरनाक छन् भन्ठानेर उनलाई मनाउनतिर लाग्ने भन्ने जुन पश्चिमा द्विविधा छ, त्यो आधारभूत रुपमै त्रुटिपूर्ण छ।
युक्रेन युद्धबाट मात्र दुई वटा नतिजा निस्किन सम्भव छ। या त पश्चिमले रुसप्रतिको आफ्नो तरिका बदल्छ र रुसका चासोहरुलाई गम्भीरतापूर्वक लिन थाल्छ। जुन चासोले यो युद्धसम्म ल्याइपुर्यायो। या पुटिनको शासन पतन हुन्छ र रुसले आफ्नो भूराजनीतिक महत्वाकांक्षाको समीक्षा गर्छ।
अहिलेका लागि रुस र पश्चिम दुवै समय आफ्नो पक्षमा भएको र विरोधीको विनाश निश्चित रहेकोमा विश्वस्त देखिन्छन्। पुटिन राजनीतिक उथलपुथलबाट पश्चिम पीडित भएको सपना देख्छन्। पश्चिमाहरु पुटिन सत्ताच्यूत भएको वा उनलाई लागेको भनेर हल्ला चलेका थुप्रैमध्ये कुनै एक रोगबाट मृत्युको मुखमा पुगेको सपना देख्छन्। सही कोही पनि छैनन्। अन्ततः रुस र युक्रेनबीच त्यतिबेला मात्रै सम्झौता सम्भव छ, जतिबेला रुस र पश्चिमबीच सम्झौता हुन्छ। वा जब पुटिनको शासन ढल्छ।
र, यसले यो युद्ध कति लम्बिन्छ भन्ने देखाउँछ– घटीमा पनि वर्षौँसम्म।
(फरेनपोलिसी डटकमबाट। तात्याना स्तानोभाया कार्नेगी इन्डाओमेन्ट फर इन्टरनेसनल पिसकी अध्येता हुन्)
Shares
प्रतिक्रिया