ad ad

विचार


अमेरिकी दूतावासको गोप्य रिपोर्ट भन्छ– सी भाग्यको आभा भएका कम्युनिस्ट ‘राजकुमार’

अमेरिकी दूतावासको गोप्य रिपोर्ट भन्छ– सी भाग्यको आभा भएका कम्युनिस्ट ‘राजकुमार’

सी चिनफिङले बुबाबाट एउटा पाठ सिकेका छन्ः पार्टीले तिमीलाई जस्तो व्यवहार गरे पनि पार्टीमा विश्वास राखिराख


केरी ब्राउन
असोज २६, २०७९ बुधबार २१:४८,

पश्चिमाहरुको नजरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ एक व्यक्तिको एकलौटी चल्ने निरंकुश शासकजस्तो देखिन सक्छन्। त्यो स्वाभाविक पनि छ। एक दशकअघि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हातमा लिएपछि सीले पार्टीका विभिन्न गुटहरुबीच शक्ति साझेदारीको व्यवस्था कायम गरेका छन्। र, विश्वकै सबैभन्दा ठूलो राजनीतिक संगठनमध्ये एक मानिने कम्युनिस्ट पार्टीलाई परिवर्तन गरेर एकीकृत तुल्याएका छन्। पार्टीमा जहाँसुकै उनका शब्द, विचार र तस्बिर छाएको देखिन्छ। २०१६ मा बोल्दै उनले एक पटक माओ चेतुङले दिएको अभिव्यक्ति दोहोर्याएका थिए– चीनको ‘पूर्व, पश्चिम, उत्तर, दक्षिण र केन्द्र’ पनि कम्युनिस्ट पार्टी नै हो। उनको यो भनाइ आफ्नै बारेमा पनि हुनसक्छ।

सी यतिबेला पार्टीको सर्वोच्च नेताको रुपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गर्ने संघारमा छन्। आइतबारदेखि हुने कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनले सो निर्णय गर्नेछ।

सीले यतिधेरै प्रश्नरहित शक्ति एकट्ठा गर्ने अपेक्षा गरिएको थिएन। कतिपयका लागि त यो अवान्छित पनि हो। सी सत्तामा आउँदै गर्दा चीन अति जटिल, अति विशाल र अति पुँजीवादी भइसकेकाले उसले कसैगरी कुनै न कुनै प्रकारको राजनीतिक बहुलता अपनाउने अपेक्षा व्यापक रुपमा गरिएको थियो। सामाजिक सञ्जाल, बढ्दो मध्यम वर्ग र आधुनिकीकरणले निश्चय नै त्यसतर्फ डोर्याउने अपेक्षा थियो। तर, सीले चीनलाई त्यसको विपरीत दिशामा लगे। र, उनले आफ्नो पकड चीनको सीमाभन्दा बाहिरसम्म फैलाएको देखिन्छ। 

तर, यति सजिलै यस्तो कसरी हुनसक्छ? त्यो पनि बिनाकुनै रक्तपात? निश्चय नै एक व्यक्तिको चाहनाको भरमा मात्र यस्तो हुनै सक्दैन।

सबैको नजर सीमाथि टिकेको छ। तर, अन्ततः उनको जीवन, उदेश्य र राजनीति वास्तवमा उनको होइन। त्यो कम्युनिस्ट पार्टीको हो। हो, यतिबेला आधुनिक चीनको सत्ता एक निरंकुश शासकले चलाइरहेका छन्। तर, सीले पार्टीको सेवा गर्छन्, नकि व्यक्तिको। र, अनौठो कुरा, सी पनि अरुजस्तै पार्टीको कैदी हुन्।

आफ्नो विदाइको लामो समयपछि पनि पार्टीको शासन टिक्ने सुनिश्चितता उनले गर्न सक्छन् कि सक्दैनन्, चीनको इतिहासमा सीको स्थान यसैमा निर्भर छ। ताकि ‘केन्द्रीय मुलुक’ को प्राचीन भूमिकामा चीनलाई पुनर्स्थापित गर्ने पार्टीको आधारभूत उदेश्य पुरा गर्न सकियोस्।

१९ औँ र २० औँ शताब्दीमा पश्चिमा मुलुकहरुले चीनमा मच्चाएको लुटपाट, १९१२ मा चिनियाँ साम्राज्यको पतन र त्यसपछिको बर्बर जापानी आक्रमणदेखि नै यो उदेश्य र अभियानले आकार लिन थालेको हो। 

मुलुक टुटेर छरिएका टुक्राहरुलाई कम्युनिस्ट पार्टीले बटुल्यो। अतीतको त्यो लज्जालाई मेटाउने, चीनको शक्ति पुनर्स्थापित गर्ने र ‘गुमेका’ ताइवानजस्ता भूमि फिर्ता गर्ने कम्युनिस्ट पार्टीको राष्ट्रवादी लक्ष्य नै सीको त्यो शक्तिको स्रोत हो। गुमेको भूमि फिर्ता गर्ने चाहनाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि डोर्याएको हुनसक्छ। तर, चिनियाँ कम्युनिस्ट पार्टीको जीवन नै यसमा आधारित छ।

सी पुराना उच्च तहका नेता सी चोङसुनका छोरा हुन्। उनले बुबाबाट कम्तीमा एउटा पाठ सिकेका छन्ः पार्टीले तिमीलाई जस्तो व्यवहार गरे पनि पार्टीमा विश्वास राखिराख।

माओ युगमा खोसुवामा परेका सीका बुबा वर्षौंसम्म नजरबन्दमा बस्न बाध्य भए। माओको मृत्युपछि मात्रै उनको राजनीतिक पुनर्स्थापना भयो। सांस्कृतिक क्रान्तिका बेला माओवादी विद्यार्थी लडाकुहरुले सीको परिवारको घर तोडफोड गरे। त्यो घटनामा सीकी एक बहिनीको मृत्यु समेत भयो। सीका बुबालाई जनताको शत्रु भन्दै सडकमा घुमाइयो। उनकी आफ्नै आमाले बुबाको भर्त्सना गर्नुपर्ने अवस्था आइपर्यो। सी आफैँ पनि ‘किसानबाट सिक्न’ सात वर्ष गाउँ पठाइए। 

अनुभवबाट खारिएका सीले विश्वास कायम राखे। बेइजिङस्थित अमेरिकी दूतावासले २००९ मा तयार गरेको एउटा गोप्य रिपोर्टअनुसार त्यो कष्टदायी क्षणमा सीका साथी रहेका एक व्यक्तिले उनलाई भाग्यको आभा भएको एक युवाका रुपमा सम्झना गरेका छन्। कम्युनिस्ट ‘राजकुमार’ भनिनेमध्येका उनले पार्टीको नेतृत्व आफ्नो जन्मजात अधिकार भएको विश्वास गर्ने गरेको र त्यसमा नजर टिकाइराखेको सो रिपोर्टमा उल्लेख छ। उनका पुराना साथीका अनुसार पार्टीले मात्रै चीनको शक्ति पुनर्स्थापित गर्नसक्छ भन्नेमा विश्वस्त सी भौतिक लाभबाट भ्रष्ट हुन सक्दैनन्। सी शक्तिको मातले कहिले बिग्रेलान् भन्ने प्रश्नमा ती साथीले यस्तो जवाफ दिएका थिए। 

२०१२ मा सी सत्तामा आउँदासम्ममा पूँजीवादतर्फको चीनको परिवर्तनले पूर्णता पाइसकेको थियो। तर, नयाँ समस्या खडा भएका थिए। उनका पूर्ववर्ती हु चिन्ताओ नेतृत्वको दशक खेर गएको अवसर थियो। त्यसबेला राष्ट्रिय कायाकल्पको महान लक्ष्यलाई बिर्सिइएको थियो। भ्रष्ट स्थानीय अधिकारीहरुले आफ्नो क्षेत्रमा क्षुद्र तानाशाहजसरी शासन चलाएका थिए। सरकारको बलजफ्ती, व्यापक भ्रष्टाचार, श्रमिकहरुको खराब अवस्था र चरम प्रदुषणको विरोध चर्किन थालेको थियो।

सीको शासनकालका सुरुवाती वर्षहरुमा भ्रष्टाचारविरोधी अभियानले व्यापकता पायो। आफ्ना विरोधीहरुलाई समाप्त पार्न सीले यो अभियानको आड लिएको आरोप पनि लगाउने गरिन्छ। तर, सी मुख्यगरी पार्टीलाई अझ शक्तिशाली पार्ने र आफ्नो छवि स्थापित गर्ने ठूलो लक्ष्यबाट निर्देशित थिए। 

यो प्रयासमा उनले कुनै ठूलो र अर्थपूर्ण विरोधको सामना गर्नुपरेन। जुन आश्चर्यलाग्दो कुरा हो। माओ जतिसुकै सर्वशक्तिमान किन नहुन्, उनले पनि विनाशकारी नीतिहरु लागू गर्दा विरोधको सामना गर्नुपर्यो। बजार सुधारको कार्यक्रम ल्याउँदा तेङ स्याओपिङको विरोध भयो। र, अझ बढी सुधार गर्नुपर्ने माग राख्ने शक्तिलाई चियाङ जमिनले चित्त बुझाउनुपर्यो। तर, सीका मामिलामा आन्तरिक असन्तुष्टिको हल्ला बेलाबेलामा चले पनि पार्टीमा उनको लगभग कुनै विरोध भएन।

यसको आंशिक कारण राष्ट्रवादी लक्ष्यको प्रभावकारिता पनि हो। जसले चिनियाँ नागरिकहरुलाई मार्क्सवाद–लेनिनवादका चिसा तर्कभन्दा कयौँ गुणा बढी आकर्षित तुल्याउने गर्छ। गत फेब्रुअरीको बेइजिङ हिउँदे ओलम्पिकका क्रममा प्रदर्शित देशभक्तिपूर्ण गौरव वास्तविक थियो। जब कोरोना महामारीका लागि अमेरिकाले चीनलाई दोष दियो, त्यतिबेलाको चोटग्रस्त आक्रोश पनि वास्तविक थियो। ती चिनियाँहरु जो कम्युनिस्ट पार्टीको शासनको विरोधमा छन्, उनीहरु पनि आफ्नो मुलुकलाई उत्तिकै माया गर्छन्।

सी भाग्यमानी रहे, त्यसैले आफ्ना पूर्वजहरुको प्रगतिलाई अघि बढाउन सफल भए। यसमा उनको सीप र कौशलले पनि काम गर्यो। इन्टरनेटले केन्द्रीकृत निरंकुश शासनमाथि खतरा पैदा गर्न सक्थ्यो। तर, सीको सरकारले अल्गोरिदम, अनुहारको पहिचान र विद्युतीय निगरानीमार्फत अझ विस्तृत तरिकाले पार्टीको शक्ति लागू गर्यो। २० औँ शताब्दीको धेरैजसो समय प्रविधिमा पछौटे रहेको चीन अहिले विश्वको सबैभन्दा आधुनिक प्रविधि भएको निरंकुश शासन बनेको छ।

सीको यो उल्लेखनीय रुपमा शक्तिशाली शैली सम्पूर्ण रुपमा उनको आफ्नो मात्र होइन। न त यो उनको व्यक्तिगत लक्ष्य, महत्वाकांक्षा र अहंको विषय नै हो। चीन एक पटक फेरि शक्तिशाली भएको छ। सीको एउटै जिम्मेवारी भनेको त्यसलाई बिग्रिन नदिनु हो। त्यसैकारणले उनको नेतृत्व जोखिम लिन चाहँदैन। त्यसैकारणले असन्तुष्टहरुलाई एकदमसँगले दबाइन्छ। स्थायित्व कायम गर्ने उनको धुनको सबैभन्दा चरम अभिव्यक्ति अन्तर्राष्ट्रिय आलोचना र आन्तरिक कष्टको जोखिमको बाबजुद सिन्जियाङमा गरिएको संरचनागत दमन हो। सम्झौताहीन शून्य कोभिडको नीति पनि त्यसैको परिणाम हो।

अनुशासन र नियन्त्रणका यी र अन्य उदाहरणहरु विजयअघि अन्तिम उत्कर्षको लडाइँको तयारी गरिरहेको कमान्डरको आदेश समान छन्। त्यो भनेको महाशक्तिका रुपमा चीनको पुनर्स्थापना हो। सायद कुनै दिन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा अमेरिकालाई चीनले विस्थापित गर्न पनि सक्छ। सी र पार्टीका उनका सहकर्मीहरुलाई राम्ररी थाहा छ, एउटै गलत कदमले सबथोक बर्बाद पार्न सक्छ। 

निश्चय नै कुनै दिन सी विदा हुनेछन्। तर, उनको नेतृत्वको शैली अर्थात्, बहाल चिनियाँ नेताको सार्वजनिक व्यक्तित्व निर्माण गर्ने, त्यसलाई सबैखाले खतराबाट बचाउने र चीनलाई बलियो, सम्मानित र डरलाग्दो समेत बनाउने विशाल परियोजना कायम रहिरहनेछ। यसमा पहिले नै अत्यधिक लगानी भइसकेको छ।

(द न्युयोर्क टाइम्सबाट। केरी ब्राउन किङ्स कलेज लन्डनस्थित लाउ चाइना इन्स्टिच्युटका निर्देशक हुन्। उनले द वर्ल्ड एकोर्डिङ टु सीसहित चिनियाँ राजनीतिबारे अनेक पुस्तक प्रकाशित गरेका छन्। उनी बेलायती विदेश सेवाका पूर्वकर्मचारी पनि हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .