ad ad

विचार


प्रकाशमानसँग त्यो जम्काभेट, रवीन्द्रको यो दोस्रो पराजय

प्रकाशमानसँग त्यो जम्काभेट, रवीन्द्रको यो दोस्रो पराजय

सीताराम बराल
मंसिर ६, २०७९ मंगलबार १७:२९, काठमाडौँ

मतदानका दिन काठमाडौँ–१ का दुई मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रबीच बानेश्वरस्थित रत्नराज्य स्कुलको बुथमा भेट भयो। 

मिश्रसँग भेट हुनासाथ कांग्रेस उम्मेदवार सिंहले व्यङ्ग्य गरे, ‘ओहो  रवीन्द्रजी! पाँच वर्षअघि पनि हाम्रो भेट भएको थियो। त्यो बेला तपाईं फरक पार्टी र फरक चुनाव चिह्न (साझा पार्टी, तराजु चिन्ह) बाट उठ्नु भएको थियो। यसपटक अलग पार्टी र चिह्न (राप्रपाको हलो) बाट उठेका बेला भेट भयो। हाम्रो भेट पाँच वर्षपछि यसैगरी हुनेछ। तर, त्यो बेला कुन पार्टी र चिन्हबाट उम्मेदवार हुनुहुन्छ कुन्नि!’

सिंहको व्यङ्ग्यको जवाफ मिश्रले पनि छेड हानेरै फर्काए।

‘अब अर्काे पटक उम्मेदवारका रुपमा सम्भवतः हाम्रो भेट नहोला,’ मिश्रले सिंहलाई जवाफ दिए, ‘किनकि, तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौँ– १ का मतदातालाई अब म चाहिएको छ।’ 

अर्काे निर्वाचनमा यी दुई काठमाडौँ–१ का प्रतिस्पर्धी होलान्–नहोलान्, त्यो भविष्यको कुरा हो। तर, काठमाडौँ–१ का मतदातालाई ‘आफू चाहिएको’ भन्दै सिंहसामु मिश्रले गरेको दाबी निर्वाचन परिणामले पुष्टि गरेन। 

किनकि १ सय २९ मतअन्तरले मिश्रलाई पराजित गर्दै काठमाडौँ–१ मा कांग्रेस उम्मेदवार सिंहले चौथो पटक विजय हासिल गरिसकेका छन्।   

२०७४ को निर्वाचनमा करिब ९ सय मतअन्तरले सिंहसँग पराजित मिश्र यो निर्वाचनको परिणाम कसैगरी गुमाउन चाहँदैनथे। आफैँ संस्थापक अध्यक्ष रहेको विवेकशील साझा पार्टीलाई तहसनहस पारेर मिश्रले राप्रपा रोज्नुको कारण यही थियो, सायद। 

अघिल्लो संसदीय निर्वाचनमा मिश्र काठमाडौँ–१ मा पराजित भए पनि विवेकशील साझा ‘वैकल्पिक शक्ति’ को रुपमा उदाउने बलियो सम्भावना थियो। किनभने स्थानीय तह निर्वाचनमा रञ्जु दर्शना र किशोर थापाले प्राप्त गरेको मत परिणामलाई मध्यनजर गर्दै दुई पार्टीबीच एकता गरेर ‘विवेकशील साझा पार्टी’ निर्माण भएको थियो।

‘विवेकशील साझा पार्टी’ बन्नुअघि मिश्र नेतृत्वको साझा पार्टीमा अनुभवी र परिपक्व मानिसहरुको बाहुल्य थियो। उज्वल थापा नेतृत्वको विवेकशील साझा पार्टी ‘समाजका लागि केही गरौँ’ भन्ने रचनात्मक सोच र इमान्दार भावका युवाहरुले भरिभराउ थियो। 

आमनिर्वाचन–२०७४ मा काठमाडौँ–१ मा मिश्रले प्राप्त गरेको प्रतिस्पर्धी मत रचनात्मक र सेवाभावका युवाहरु सामेल विवेकशील नेपाली पार्टी र अनुभवी व्यक्तित्वहरु सामेल साझा पार्टीबीचको एकताले जगाएको आशाको परिणाम थियो। 

गत स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरु र यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले नेपालमा वैकल्पिक राजनीतिका लागि फराकिलो स्थान रहेछ भन्ने पुष्टि गरिसकेको छ। 

यस्तै, तरक्की विवेकशील साझाले गर्न नेतृत्वमा धैर्य आवश्यक थियो। राजनीतिमा धैर्यको ठूलो महत्व हुन्छ भन्ने बुझेका कांग्रेस उम्मेदवार सिंहले आइतबार (४ मंसिर) को त्यो जम्काभेटमा मिश्रलाई धैर्य गर्न सुझाव पनि दिएका थिए। 

तर, मिश्रले धैर्यको महत्व बुझेनन्, उनले पद र अवसरवादलाई नै राजनीतिमा सफलताको पहिलो हतियार ठाने। आफ्नै सहयोद्धा (उज्वल थापा, जो विवेकशील साझा पार्टीका सहसंयोजक थिए) को असामयिक निधनका कारण पार्टीभित्र सिर्जित रिक्ततालाई मिश्रले अवसरका रुपमा उपयोग गर्न खोजे।  

कोभिड संक्रमणका कारण १८ जेठ २०७६ मा उज्वल थापाको असामयिक निधनपछि मिश्रको अवसरवाद सतहमा आयो। थापाको रिक्तताका बीच मिश्र आफैँ संस्थापक रहेको विवेकशील साझा पार्टीलाई तहसनहस पार्ने गरी अगाडि बढे।  

साझा पार्टीको स्थापनापछि मिश्रले आफ्नो दल राजतन्त्रवादी हुनै नसक्ने सार्वजनिक वाचा गरेका थिए। तर, ठूला राजनीतिक दलहरुको सत्तामुखी चरित्रका कारण राजतन्त्रको पक्षमा थोरै आकर्षण देखिन थालेपछि उनी पनि एकाएक ‘राजतन्त्रवादी’ हुन पुगे। 

कुनै व्यक्ति ‘राजतन्त्रवादी’ हुनु नै खासमा राजनीतिक विचारको वकालत गर्नु हो। तर, मिश्रले एकातिर राजतन्त्रलाई नेपालको ‘अपरिहार्य आवश्यकता’ को रुपमा व्याख्या गरे। अर्कोतिर ‘विचारभन्दा माथि देश’ भन्ने तर्क गर्न थाले। 

उनका यी तर्क–दाबी आफैँमा विरोधाभाषपूर्ण थिए। यो विरोधाभाषको जगमा अवसरवाद लुकेको थियो। 

यो ‘अवसरवादी दर्शन’ काठमाडौँ–१ मा जसरी पनि चुनाव जित्ने योजनाको उपज थियो। 

उनले एकातिर पार्टीभित्र हुँडलो सिर्जना गर्न ‘विचारभन्दा माथि देश’ दस्तावेज ल्याए। तर केही समयपछि आफैँ राप्रपामा पसे। जसले उनको ‘अवसरवादी राजनीति’ लाई नराम्रोसँग उदाङ्गो पारिदियो।

विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको असामयिक निधनका कारण यी सब ‘हुनेहुनामी’ गर्न मिश्र सफल भए। 

थापाको असामयिक निधनपछि मिश्रलाई पार्टी कब्जा गर्न मौका मिल्यो। किनभने पूर्व विवेकशील नेपाली पार्टी’ तर्फबाट पार्टीमा थापाको उचाइका नेता थिएनन्। 

पार्टीको वैचारिक दर्शन नै परिवर्तन गर्ने मिश्रको प्रयासको मिलन पाण्डे, रञ्जु दर्शना, समीक्षा बाँस्कोटा लगायतका युवाहरुले प्रतिरोध गरे। 

तर, मिश्रले सिर्जना गरेको हुँडलोका कारण विवेकशील साझा निकै कमजोर बनिसकेको थियो। त्यसको स्वाभाविक असर स्थानीय तह निर्वाचन–२०७९ मा पर्यो। 

२०७४ को स्थानीय तह निर्वाचन (काठमाडौँ महानगरपालिका) र आम निर्वाचन (काठमाडौँ–१) मा त्यत्रो तहल्का मच्चाएको पार्टी ३० वैशाख (२०७९) मा सम्पन्न स्थानीय निर्वाचन परिणामअनुसार ‘धुलोमा मिले सरह’ भयो। 

आफ्नै पार्टी जलाएपछि त्यही खरानीको टीको लगाएर मिश्र कहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवास (बालकोट) धाउन थाले, कहिले राप्रपा अध्यक्ष लिङ्देनसँग गुप्तवार्ता गर्न थाले। 

यी भेटघाटको उदेश्य ‘देश’ थिएन, काठमाडौँ–१ थियो, जहाँ उनी यसपटक जसरी पनि जित्न चाहन्थे। झण्डै आधा दर्जन उपाध्यक्ष रहेको राप्रपामा ‘मानका खातिर मान’ जस्तो ‘थप एक उपाध्यक्ष’ बनेर उनले राप्रपाको झण्डा बोके। 

त्यसअघि ओलीले प्रदान गरेको एकमुठी सिक्का बोकेर बालकोटबाट निस्केको कुरा मिश्र आफैँले सार्वजनिक गरेका थिए। यसले गर्दा काठमाडौँ–१ का लागि यसपटक मिश्रले ओलीको आशीर्वाद प्राप्त गर्नेछन् भन्ने कतिपयको अनुमान थियो। 

तर, न उनी ओलीको आशीर्वाद प्राप्त गर्न सफल भए, न त विजयको माला लगाउन नै। सो निर्वाचन क्षेत्रमा तीन–तीन पटक विजय हासिल गरेका ‘थोत्रा उम्मेदवार’ प्रकाशमान सिंहसँग उनले पराजय भोग्नु पर्यो। 

नेपालको सन्दर्भमा निर्वाचन भनेको ‘खराब’ मध्येबाट ‘असल’ को चयन गर्नु हो। अवसरका लागि आस्था र दर्शन नै परिवर्तन गर्नुजत्तिको खराब काम राजनीतिमा अरु हुँदैन। तर, त्यस्तो दुराचार प्रदर्शन गर्न मिश्रलाई रत्तिभर लाज भएन।   

त्यसैले, यसपटकको प्रतिस्पर्धामा काठमाडौँ–१ का मतदाताले थोत्रा उम्मेदवार भए पनि सिंहलाई ‘कम खराब’ ठाने, उनलाई जितका लागि (मात्र पुग्ने) मत दिए। 

काठमाडौँ–१ मतदाताको नजरमा सिंहको तुलनामा मिश्र ‘ज्यादा खराब’ ठहरिए। उनी दोस्रो पटक पराजित भए। 

आफ्नै सन्ततिहरु समेत बेघरबार हुने गरी घर जलाउने ‘राजनीतिक अपराध’ नगरेको भए मिश्रले यसपटक पक्कै यस्तो परिणाम बेहोर्नु पर्ने थिएन। 

राजनीतिक इमान र धैर्य कायम राख्नसकेको भए, बालेन शाह र उनीजस्ता उम्मेदवार छनोट गर्ने नेपाली मतदाताले मिश्रमाथि पनि अन्याय गर्ने थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .