गएको सातालाई अधिकांश इतिहासकारहरुले (यदि कोही भाग्यमानी यो आत्मविध्वंसको युग पार हुनेगरी बाँच्न सफल भयो भने) रुस–युक्रेन युद्धको त्यस्तो मोडका रुपमा सम्झिनेछन्, जहाँबाट पछि फर्किन सम्भव छैन।
गत साता दुई द्वन्द्वरत राष्ट्रपतिको भाषण विश्वले सुन्न पायो। एउटा भाषण थियो– वयोवृद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनको। उनी युक्रेनप्रतिको समर्थन प्रकट गर्न किभसम्म पुगेका थिए। अर्को थियो, क्रुद्ध भ्लादिमिर पुटिनको भाषण।
दुवैको भाषण आश्वस्त तुल्याउने खालको थिएन। बाइडेनले आफ्नो सरंक्षकत्वमा रहेका युक्रेनीहरुलाई ५० करोड डलर थप सहयोग उपलब्ध गराउने वाचा गरे।
बाइडेनको भाषणलगत्तै युक्रेनलाई दिने भनेर वाचा गरेको तर दिइनसकेको अब्राम्स ब्याटल ट्यांक चाँडै उपलब्ध गराउने संकेत पेन्टागनले दियो।
अर्को भाषण पुटिनले गरे। जसले मंगलबार साँझ दुई घण्टा बोले। भाषणमा उनले युक्रेनमाथि सम्पूर्ण जित हासिल गर्ने वाचा दोहोर्याए। र, अमेरिकालाई ‘शैतान पक्षधर’ र ‘बाल यौन दुराचारी’हरुले कसरी शासन गरेका छन् भन्ने बताए।
धेरैजसो पश्चिमा सञ्चारमाध्यमले पुटिनको भाषणबारे उल्लेख गरेनन्। जसले उल्लेख गरे, तिनले पनि ठाडै खिल्ली उडाए। पुटिनको भाषण गन्थनका हिसाबले फिडेल क्यास्ट्रोको जस्तो थियो। उनले पश्चिमप्रति यति छद्म धार्मिक आरोपहरु लगाए, जसलाई सुनेर इरानका मुल्लाहहरु समेत लजाउँछन्। तर, पुटिनका शब्दका निश्चित सार छन्।
पुटिनले लडाइँप्रति आफ्नो प्रतिबद्धता पहिलेजत्तिकै रहेको संकेत मात्र गरेनन्, त्यसलाई अझ चर्काउने पनि बताए। अमेरिकाले लडाइँ चर्काएकोमा आफूले जवाफ दिन लागेको उनको भनाइ थियो।
वास्तवमा पुटिनले नेटोप्रति पहिलो पटक महत्वपूर्ण धम्की दिएका छन्। अमेरिकाले युक्रेनमा राखिएका आफ्ना लामो दुरीमा प्रहार गर्न मिल्ने हतियार नहटाए त्यसलाई सिधै लक्षित गर्ने पुटिनले बताए।
नेटो र अमेरिका दुवैले पार गर्न नहुने रेड लाइन यहीँनेर छ।
यी हतियारलाई युक्रेनले रुसभित्र आक्रमण गर्न प्रयोग गर्नेछ। निश्चय नै आत्मरक्षाको अधिकार युक्रेनलाई छ। तर, उसले यो काम अमेरिकी हतियारको बलमा मात्र गरिराखेको छ। पुटिनको नजरमा अमेरिका र नेटो युद्धमा प्रत्यक्ष सहभागी छन्। त्यस्ता हतियारले रुसमाथि आक्रमण भए त्यसको जिम्मेवारी अमेरिकीहरुको काँधमा जाने उनले बताए।
अझ महत्वपूर्ण कुरा के छ भने, यदि रुसले ती हतियारलाई निसाना बनायो भने त्यसमा अमेरिकीहरुको ज्यान जाने कुरा यसै बुझ्न सकिन्छ। किनभने जसरी रुसले आफ्नो एस–४०० हवाई प्रतिरक्षा प्रणाली सिरियामा राख्दा सँगै आफ्नो मान्छे पनि तैनाथ गरेको छ, त्यसैगरी अमेरिकाले लामो दुरीको हतियार तैनाथ गरेको ठाउँमा निस्सन्देह केही भए पनि अमेरिकीहरु राखेको छ।
त्यसमाथि, ती हतियार छेउछाउ अमेरिकी सैनिकहरु गुप्तरुपमा खटाइएको हुने सम्भावना पनि ज्यादा छ। त्यसैले ती हतियारलाई रुसले निसाना लगाउँदा अनेकौँ अमेरिकीहरु मारिने आकलन गर्न सकिन्छ।
अतः केही घण्टाको फरकमा दुई राष्ट्रपतिले गरेका यी भाषणबाट बुझ्न सकिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको अहिले शान्ति सम्झौताको कुनै आशा छैन।
आणविक युद्धतर्फ लम्किँदै
पुटिनले ओबामाको कार्यकालदेखिको न्यु स्टार्ट आणविक सन्धिबाट बाहिरिने डरलाग्दो घोषणा पनि गरे। सो सन्धिले अमेरिका र रुसले राख्न सक्ने रणनीतिक आणविक हतियारको संख्या सीमित तुल्याएको थियो।
निश्चय नै यो सन्धिले रुसी पक्षलाई अनेकौँ निर्णायक फाइदा दिएको थियो। जसमा तत्कालीन राष्ट्रपतिहरु ओबामा र दिमित्री मेद्भेदेव (पुटिनको आशीर्वादप्राप्त) ले हस्ताक्षर गरेका थिए।
यद्यपि, रुसले हतियार नियन्त्रण सम्झौताहरुलाई समर्थन गर्दै आएको लामो इतिहास छ। जुन शीतयुद्धका दिनसम्म पुग्छ।
त्यसैले, आफैँले जोडदार रुपमा प्रतिरक्षा गर्दै आएको सम्झौताबाट पछि हट्ने निर्णय पुटिनले गर्दा वासिङ्टनका नीति निर्माताहरुको रौँ ठाडो हुनुपर्ने हो। तर, अमेरिकाबाट आएका सारा वक्तव्यले युक्रेनलाई आँखा चिम्लेर सहयोग गर्ने वासिङ्टनको जोसलाई अझ बलियो बनाउने काम मात्र गरेको छ।
यो सन्धिबाट बाहिरिने पुटिनको निर्णयले के बताउँछ भने उनी युक्रेन युद्ध जित्ने सुनिश्चितता गर्न चाहन्छन्। यस हिसाबले सम्झौता सम्भव छैन। रुसका लागि शान्ति सम्झौता स्वीकार्य हुने एउटै अवस्था भनेको निर्णायक रुपले रुसी सेनाको हार नै हो।
रुसले लडाइँमा ठूलो क्षति बेहोरेको पनि छ। तर, पछिल्लो समय युक्रेनले पनि उच्च क्षति बेहोरिरहेको छ। युक्रेनीहरुभन्दा विपरीत रुसीहरु लाखौँलाख सैनिकलाई लडाइँमा पठाइरहन सक्छन्। जबसम्म रुसको ठूलो सेनाले युक्रेनको सानो सेनालाई मैदानमा नामेट पारिरहन्छ र तिनको लासमाथि चढेर अघि बढिरहन्छ। कम्तीमा रुसको योजना यस्तै देखिन्छ।
र, आवश्यक परेको खण्डमा आफ्नो सेनाले यो कठिन काम पुरा गर्ने सुनिश्चिताका लागि पुटिनले आणविक हतियार पनि तैनाथ गर्नेछन्।
छैन पछि फर्किने ठाउँ
एक वर्षपहिले द्वन्द्व सुरु हुनुभन्दा अघि नै युक्रेनीहरुले आफ्नो उदेश्य स्पष्ट पारिसकेका छन्– हामी क्रिमियासहित पूर्वी युक्रेन फिर्ता गर्न चाहन्छौँ।
त्यो पनि एउटा रेडलाइन हो, जसलाई पार गरे मस्कोले आणविक युद्धको जोखिम मोल्न सक्छ। रुस सेवास्तोपोलस्थित आफ्नो नौसैनिक शिविर गुमाउन सक्दैन। यदि उसले त्यो शिविर गुमायो भने ऊ प्रमुख शक्ति रहँदैन। किनभने त्यसपछि ऊ महत्वपूर्ण काला सागर क्षेत्रबाट पछि हटेर एक्लिनेछ।
त्यसैले युक्रेनले क्रिमिया फिर्ता गरुन्जेल पुटिन चुप लागेर तमासा हेरिरहलान् भन्ने पश्चिमा नेताहरुले सोचेका हुन् भने उनीहरु विशुद्ध स्वैरकल्पनामा बाँचिरहेका छन्। पुटिनको लम्बेतान भाषणको गुदी कुरा यही नै थियो। यो युद्ध अन्त्य हुँदैछैन। वार्ताद्वारा समाधान पनि हुने छैन, कम्तीमा हालका लागि र पश्चिमको पक्षमा हुनेगरी।
बाइडेनले भने राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको सरकारलाई समर्थन दिइराख्ने स्पष्ट पारेका छन्। त्यति मात्र होइन, किभबाट फर्किंदै गर्दा उनले त्यहाँ आफ्नो ‘मुटुको एउटा टुक्रा छाडेको’ भन्दै ट्विट पनि गरे।
कति असल!
युक्रेनप्रति बाइडेन कति प्रतिबद्ध छन् भने उनले आफ्नै देशको ओहायोस्थित इस्ट प्यालेस्टाइनमा भएको रासायनिक दुर्घटनालाई राम्ररी सम्बोधन गर्न समेत अस्वीकार गरेका छन्। जसलाई बाइडेनका आलोचकहरुले ‘अमेरिकाको चेर्नोबिल’ भनेका छन्।
तर, रासायनिक पदार्थ पोखिएको क्षेत्रका आफ्ना नागरिकलाई सघाउनुको सट्टा बाइडेनले मुठी फुकाएर करदाताको पैसालाई विदेशी मुलुक युक्रेनमा खर्च गरिरहेका छन्। त्यो पनि राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा।
यसले पनि देखाउँछ, बाइडेन युक्रेनका लागि कुन हदसम्म जान सक्छन् भनेर।
हाम्रो पालामा छैन शान्तिको आश
चीन अहिले रुसका तर्फबाट द्वन्द्वमा प्रत्यक्ष सहभागी हुन खोज्दैछ। यसको अर्थ रुसका लागि अझै चलखेल गर्ने ठाउँ बाँकी छ। जबकि पश्चिमका लागि रुस एक्लिन जरुरी छ।
युद्ध आफ्नो पक्षमा हुँदै जाँदा रुसले किन शान्तिको खोजी गर्ला?
सम्झौताको कोसिसको सट्टा अर्को विश्वयुद्ध हाम्रो सामु आइपुगेको छ। पश्चिमा र रुसी दुवै नेताहरुको संयुक्त घमण्ड र अज्ञानताले यस्तो स्थिति निम्त्याएको हो। जसले युद्धको सुरुदेखि अहिलेसम्म यो द्वन्द्वका बारेमा गलत हिसाब निकालेका छन्।
पहिलो विश्वयुद्धमा जस्तै निश्चय नै यो विश्वयुद्धका पनि कोही विजेता हुने छैनन्।
तर, आफ्नो रणनीतिक कार्ड राम्ररी खेल्ने हो भने चिनियाँ कम्युनिस्ट पार्टीले ठूलो फाइदा लिन सक्छ। किनभने उसका दुई सबैभन्दा ठूला रणनीतिक प्रतिस्पर्धीहरु– रुस र अमेरिकाले दक्षिणी युरोपको अर्थहीन सीमा विवादमा एकअर्कालाई खाने छन्। त्यसैले नै बेइजिङले युक्रेनको युद्धमा रुसलाई सघाउने सम्भावना ज्यादा छ।
इतिहासकारहरुले पछि फर्केर हेर्नेछन् र यो समयका नेताहरु कति मूर्ख रहेछन् भनेर छक्क पर्नेछन्। उनीहरुले एउटा कुरा ख्याल गर्नेछन्ः रुस–युक्रेन युद्धको पहिलो वार्षिकीमा रुसी र अमेरिकी राष्ट्रपतिले दिएको भाषण त्यही क्षण थियो, जुन क्षणबाट यो द्वन्द्व वास्तविक अर्थमा विश्य युद्ध बन्न पुग्यो।
सबथोक प्राप्त गरेका मानिसहरु यतिसाह्रो गैरजिम्मेवार बनेर सानो विवादमा त्यो सबथोक खेर फालेको देखेर उनीहरु अचम्भित हुनेछन्।
हामीले के स्वीकार गर्नुपर्छ भने हाम्रो पालामा शान्ति हुने छैन। बाइडेन र पुटिनको हालैका भाषण र युक्रेनको द्वन्द्वमा चीनको बढ्दो संलग्नाको अर्थ हो– हाम्रो भागमा युद्धको पालो छ। र, यो युद्ध पश्चिमले सजिलै जित्ने छैन।
(एसिया टाइम्सबाट। ब्रान्डन जे वाइकर्ट विनिङ स्पेस : हाउ अमेरिका रिमेन्स अ सुपरपावरलगायत पुस्तकका लेखक हुन्)
प्रतिक्रिया