ad ad

विचार


स्मार्टफोन र सामाजिक सञ्जालले बर्बाद पार्दैछ किशोरकिशोरीको मानसिक स्वास्थ्य

स्मार्टफोन र सामाजिक सञ्जालले बर्बाद पार्दैछ किशोरकिशोरीको मानसिक स्वास्थ्य

जोन बर्न–मर्डोक
चैत ४, २०७९ शनिबार १६:२, काठमाडौँ

किशोरकिशोरी ठूलो समस्यामा छन्। १९९४ देखि २०१० को बीचमा आफूलाई कसैले मन पराउँदैन भनेर सोच्ने बेलायती किशोरकिशोरीको संख्या ६ प्रतिशतबाट झरेर ४ प्रतिशतमा आइपुगेको थियो। तर, २०१० यता त्यो संख्या दोब्बरभन्दा बढी भएको छ। आफूलाई असफल ठान्ने, धेरै चिन्ता गर्ने र आफ्नो जीवनसँग असन्तुष्टहरुको संख्या पनि ह्वात्तै बढेको छ।

अमेरिकामा पनि अवस्था यस्तै छ। गएको १२ वर्षमा आफ्नो जीवन प्रायः निरर्थक रहेको महसुस गर्ने स्कुले केटाकेटीको संख्या आकासिएको छ। यो समस्या अंग्रेजीभाषी दुनियाँमा मात्र सीमित छैन। फ्रान्समा १५ देखि २४ वर्षबीचको उमेर समूहमा डिप्रेसनबाट पीडितहरुको संख्या गएको दशकमा चार गुणाले बढेको छ। 

जता हे¥यो, त्यतै तरुणहरुको मानसिक स्वास्थ्य बर्बाद हुँदै गएको देखिन्छ। र, त्यसको सुरुवाती विन्दु जहाँ पनि एउटै छ। सन् २०१०। एकदुई वर्ष तलमाथि होला। जुनबेलादेखि स्मार्टफोन विलासी वस्तुबाट सर्वव्यापी बन्न पुगेको थियो। 

चौबीसै घण्टा सामाजिक सञ्जाल र अन्य डिजिटल मनोरञ्जनको पहुँचमा बस्दा त्यसले मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भन्ने मत नयाँ होइन। यो सिद्धान्तका प्रमुख वकालतकर्ता हुन् सान डिएगो स्टेट युनिभर्सिटीमा मनोविज्ञान विषयका प्राध्यापक रहेका जिन ट्वेन्ज। जसले यो विषयमा दर्जनौँ मार्गनिर्देशक अध्ययनहरु लेखेका छन्।

तैपनि यो मतलाई सर्वव्यापी रुपमा स्वीकार गरिएको छैन। ट्वेन्ज र उनका सहलेखक जोनाथन हाइटको कामलाई कहिलेकाहीँ ठूला प्रविधि कम्पनीहरुको विरोधलाई उचालेको भन्दै आलोचना गर्ने गरिन्छ। तथापि, उनीहरुको तर्कलाई समर्थन गर्ने प्रमाणहरु भने दिनानुदिन बढ्दै गएका छन्। अहिले यसलाई हेरेर थुप्रै चकित पर्छन्– हाम्रो आँखैअगाडिको कुरा स्वीकार्न हामीलाई यति लामो समय किन लाग्यो!

यसको चिह्न जहीँतहीँ देखिन्छ। पहिलो, डिजिटल भेटघाट, चिनजानले प्रत्यक्ष जमघटहरुलाई विस्थापित ग¥यो। अमेरिकामा १९९० देखि २०१० सम्म महिनामा एक पटक र त्योभन्दा कम साथीहरुसँग जमघट गर्ने किशोरकिशोरीको संख्या ३ प्रतिशत थियो। जुन २०१९ सम्ममा बढेर १० प्रतिशत पुगेको छ। आफू निरन्तर अनलाइन हुन्छु भन्ने किशोरकिशोरीको संख्या भने ४६ प्रतिशत पुगेको छ।

कोही भन्ने गर्छन्– यस्ता एपहरुले वास्तविक जीवनलाई मेट्न सक्दैन। आखिर इन्स्टाग्राममा सबैभन्दा व्यस्त देखिने व्यक्ति वास्तविक जीवनमा पनि त सबैभन्दा व्यस्त नै हुन्छ। तर, यो तर्कले एउटा मुख्य कुरा बिर्सेको देखिन्छ। त्यो हो– यस्तो प्रवृत्ति पुस्तागत तहमा देखिन्छ, नकि व्यक्तिगत। स्क्रिन हेर्ने समय बढ्दै जाँदा प्रत्यक्ष रुपमा हरेक व्यक्ति कम भेटघाट गर्छन्।

तर, व्यक्तिगत तहमा पनि तथ्यांक डरलाग्दो छ। अध्ययनहरुले के देखाएका छन् भने किशोरकिशोरी जति धेरै समय सामाजिक सञ्जालमा बिताउँछन्, उनीहरुको मानसिक स्वास्थ्य उति धेरै खराब हुन्छ। अझ केटीहरुको मानसिक स्वास्थ्य बढी खराब छ। किनकि केटाहरुको तुलनामा केटीहरु सामाजिक सञ्जालमा ज्यादा समय गुजार्छन्। यसले केटाहरुमा भन्दा केटीहरुमा मानसिक स्वास्थ्य ज्यादा बिग्रिँदै जानुको कारण दर्शाउँछ।

उदार परिवारका किशोरकिशोरीमा अनुदार परिवारको तुलनामा डिप्रेसनको दर उच्च छ। ट्वेन्जको अध्ययनका अनुसार उदार परिवारका किशोरकिशोरी अनलाइनमा ज्यादा समय बिताउँछन्। दोस्रो, अनुदार परिवारमा पनि यो प्रवृत्ति बढ्दो छ। मात्र उनीहरु केही पछि छन्। 

केहीको तर्क छ– अहिलेको समाज मानसिक स्वास्थ्यबारे छलफल गर्न पहिलेभन्दा खुला भएको छ। त्यसैले अहिले मानसिक रोगीहरुको संख्या बढेको होइन, त्यसबारे बताउनेहरुको संख्या मात्र बढेको हो। तर, अध्ययनले यो तर्कलाई पनि गलत साबित गर्छ। सामाजिक सञ्जालमा दैनिक पाँच घण्टा वा सोभन्दा बढी समय बिताउने बेलायती किशोरकिशोरीहरुले आफैँलाई क्षति पु¥याउने जोखिम कम समय अनलाइनमा बिताउनेहरुमाभन्दा दुई गुणा ज्यादा छ। 

अमेरिकामा आत्महत्याको सोचको प्रवृत्ति पनि ठ्याक्कै यस्तै छ। सबैभन्दा भयानक त बेलायत र अमेरिका दुवैमा आत्महत्याको दरमा आएको अचानक वृद्धि हो।

कतिपयले मानसिक समस्या र सामाजिक सञ्जालको सम्बन्ध हुँदैमा मानसिक अस्वस्थताको कारण सामाजिक सञ्जाल नै हो भन्न नसकिने तर्क गर्छन्। पक्कै पनि। तर, पछिल्लो समय भएका अनुसन्धानहरुले सामाजिक सञ्जालमा बिताउने समय कटौती गर्दा मानसिक स्वास्थ्यमा सुधार आएको देखाएका छन्।

उसोभए हामी के गर्न सक्छौँ त? सबैभन्दा सजिलो उत्तर हो– केटाकेटी र तिनका अभिभावकलाई शिक्षित तुल्याउनु। तर, मोटोपन र धुम्रपानको हकमा जस्तै जब लत बस्छ, तब जनचेतना अभियान नराम्ररी निष्प्रभावी हुन पुग्छ।

यसको अर्को विकल्प हो, मानिसहरुलाई सामाजिक सञ्जालबाट छुट्टी लिन उत्प्रेरित गर्नु। किनभने केही समय सामाजिक सञ्जालबाट छुट्टी लिँदा पनि फाइदा हुने प्रमाणहरुले देखाउँछन्। त्यसपछि नियमनको पालो आउँछ। सामाजिक सञ्जाल प्रयोग गर्न चाहिने उमेरको सीमा बढाउने। अनि त्यसलाई पालना नगर्ने कम्पनीहरुलाई सजाय किन दिने।

तर, म आशावादी छैन। मोटोपनसँगको लडाइँ अत्यन्त कठिन रहँदै आएको छ। किनभने तपाईं मानिसको खाना बन्द गराउन सक्नुहुन्न। र, सामाजिक सञ्जालको लतसँग जुध्न पनि कठिन छ। किनभने मानिसहरुलाई स्मार्टफोन नचलाऊ भन्न सकिन्न। त्यसैले जसरी तौल घटाउन औषधि आविष्कार भएको छ, त्यसैगरी इन्स्टाग्रामको लत छुटाउने तरिका कसैले नखोजुञ्जेल भविष्य अन्धकार देखिन्छ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .