ad ad

विचार


ढाकालाई कारबाही ‘नाटक’ : गढीमाईमा ‘बलि’ कसम, संसदमा माफी

ढाकालाई कारबाही ‘नाटक’ : गढीमाईमा ‘बलि’ कसम, संसदमा माफी

सीताराम बराल
चैत २८, २०७९ मंगलबार ६:२२, काठमाडौँ

त्यस्तो कुनै पार्टी छैन, जसले २०४८ यताका आम निर्वाचनका लागि जारी गरेको घोषणा पत्रमा भ्रष्टाचारको विरोध र भ्रष्टाचार अन्त्यको प्रतिबद्धता नगरेको होस्। त्यस्ता नेताहरुको कमी पनि कुनै पार्टीमा छैन, जसले ०४७ को परिवर्तनयता भ्रष्टाचार अन्त्य गर्ने कसम नखाएको होस्। 

नेपालमा राजनीतिक दलहरुको उत्थान र पतनमा भ्रष्टाचारको पनि उल्लेख्य भूमिका छ। बढ्दो भ्रष्टाचारका कारण लामो इतिहास भएका राजनीतिक दलहरु टाक्सिँदै छन्। अनियमितता र भ्रष्टाचारको विरोध गरेर नयाँनयाँ दलहरु उदाएका छन्।

तर, अन्त्य हुनुको साटो नेपालमा भ्रष्टाचार नयाँ–नयाँ बान्कीमा मौलाउँदो छ। त्यो नयाँ बान्कीको सानो झल्को आइतबार सार्वजनिक विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठबीचको अडिओ संवादले दिन्छ। 

डा. श्रेष्ठलाई रास्वपाले एक हप्ताका लागि निलम्बन गरिसकेको छ। अडिओ संवाद सार्वजनिक हुँदै गर्दा उपनिर्वाचन प्रचारको सिलसिलामा बारा–२ को गढीमाई पुगेका रास्वपा अध्यक्ष रवि लामिछानेले ७२ घण्टाभित्र सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्ने कसम खाएका छन्। 

‘७२ घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बलि दिनुहोला,’ लामिछानेले गढीमाईको सभामा भनेका छन्, ‘मेरा वरपरका मान्छे को रहेछन्, तिनलाई तपाईंको आँगन, सडकमा घिसारेर ल्याउन सकिनछु भने फेरि पनि मलाई तपाईंले भनेको सजाय दिनुहोला।’  

तैँ चोर, मै चोर
प्रतिनिधि सभाको सोमबार (२७ चैत) को बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीका सांसद रकम बार्गेनिङ प्रकरणमा मुछिएकोमा माफी मागेका छन्। तर, परियारमा देखिएको विनम्रता गढीमाईको सभामा अध्यक्ष लामिछानेमा देखिएन। 

दुर्गा प्रसाईंसँग माग गरिएको दुई करोड रुपैयाँ अध्यक्ष लामिछानेका ‘कोर टिम’ का मानिसहरुलाई बुझाउनुपर्ने कुरा अडिओ संवादमा सांसद लामिछानेले भनेको प्रष्टसँग सुनिन्छ। तर, लामिछाने आक्रोशित मुद्रामा सभामा उपस्थितहरुसँग ‘त्यो कोर टिम को रहेछ?’ भन्दै प्रश्न गर्छन्।

जबकि यसको जवाफ लामिछानेले गढीमाईका जनतासँग खोज्ने होइन, गढीमाईको सभामार्फत् उनी आफैले देशभरका जनतालाई दिनुपथ्र्याे। पार्टीभित्र आफ्नो ‘कोर टिम’ छैन र पार्टीभित्र कुनै अवसरका लागि रकम ‘लेनदेन’ हुँदैन भन्न सक्नुपथ्र्याे। 

तर, उनले यसो भन्न सकेनन्। सकून् पनि कसरी! किनकि निर्वाचनअगाडि नै पोखरामा सहकारीमा अनियमितता र अवैध पोलिक्लिनिक सञ्चालनमा मुछिएका विवादास्पद श्रेष्ठलाई समानुपातिक सांसद लामिछानेले नै बनाएका हुन्। 

भनिन्छ, रास्वपाको आर्थिक व्यवस्थापनको जिम्मा पनि सांसद श्रेष्ठकै थियो। 

श्रेष्ठ–प्रसाईंबीचको अडियो संवाद सार्वजनिक भएको भोलिपल्ट बिहान कवि अर्जुन पराजुलीले आफ्नो फेसबुक वालमा एउटा कविता पोस्ट गरेका छन्–

भ्रष्टाचारीको 
आलोपालो राज्यमा
भ्रष्टाचारीलाई 
भ्रष्टाचारीले भन्छ–
‘तँ भ्रष्टाचारी!’ 

कवि पराजुलीको कविता कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा लगायतका दलसँगै रास्वपाका हकमा पनि लागू हुन्छ। 

होइन भने रास्वपाको खर्च आजकल कसरी चल्छ? यो कुरा त्यसरी नै अपारदर्शी छ, जसरी रवि सञ्चारकर्ममा छँदा विभिन्न अभियानका क्रममा उठाएका रकमको हिसाब–किताब अपारदर्शी थियो। 

उपचुनाव संघारमा छ। लामिछाने आफैँ चितवन–२ मा प्रत्यासी छन्। उनको दलले भ्रष्टाचारलाई प्रमुख चुनावी मुद्दा बनाएको छ। चुनावका बेला यस्ता काण्ड सार्वजनिक हुँदा जो कोहीले आरोपितमाथि कारबाही (को नाटक) गर्छन् नै।  

रास्वपाले पनि श्रेष्ठलाई निलम्बन गरेको छ। थप कारबाहीको प्रक्रिया अघि बढाएको छ। यो स्वागतयोग्य कदम हो।

तर, यसमा सांसद श्रेष्ठले उल्लेख गरेका लामिछानेको ‘कोर टिम’ को संलग्नता छैन भने लामिछाने र रास्वपाले निम्न दुई प्रश्नको जवाफ दिनुपर्छ– निर्वाचनअघि नै सहकारीमा अनियमिता र अवैध पोलिक्लिनिक सञ्चालनमा मुछिएका श्रेष्ठलाई केका आधारमा रास्वपाले प्रतिनिधि सभाको सांसद बनायो? उनका विवादास्पद हर्कत सार्वजनिक हुँदाहुँदै सांसद बनाइनुमा आर्थिक ‘लेनदेन’ को भूमिका थिएन भने केको भूमिका थियो? 

दुष्ट्याइँको पराकाष्ठा 
पञ्चायतदेखि बहुदल–गणतन्त्रकालसम्म हामीले थुप्रै नेताहरुको भाषण सुनेका छौँ, जसले ‘आफूमाथिको आरोप पुष्टि भए टुँडिखेलमा झुण्डिन तयार छु’ भन्दै भाषण गर्थे। तर, हामीले न देश उँभो लागेको देखेका छौँ, न मुलुकको यस्तो अधोगतिका जिम्मेवारहरु टुँडिखेलमा झुण्डिएको नै।

लामिछानेले पनि २ करोड घुसकाण्डबारे ७२ घण्टाभित्र सत्यतथ्य सार्वजनिक र सम्बन्धितहरुमाथि कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन भनेका छन्।   

उनले जुन निर्वाचन क्षेत्र (बारा–२) मा यस्तो भाषण गरे, उपनिर्वाचन त्यहाँमात्र होइन, तनहुँ–१ र चितवन–२ मा समेत हुँदैछ। नागरिकता प्रकरणमा लामिछानेको कमजोरी पाँच वर्षअघि नै सार्वजनिक भएको हो। तर, लामिछानेकै दम्भ र अहंकारको मार चितवनका जनताले बेहोर्नु परेको छ।   

यो प्रसङ्गले पंक्तिकारलाई स्कुले जीवनमा गुरुले सुनाएको एउटा नीतिकथाको स्मरण गरायो। नीतिकथा जीवनकालभर छिमेकीलाई दुःखमात्रै दिएको दुष्टले आफू मरेपछि पनि कसरी गाउँलेहरुलाई दुःख दिन सक्छ भन्ने घटनासँग सम्बन्धित थियो।

जब दुष्ट मृत्युशैयामा पुग्यो, उसले आफूबाट पीडितहरुको भेला आफ्नो घरको आँगनमा बोलायो। आफूबाट पीडितहरुसँग दुष्टले भनेछ, ‘जीवनकालभर तपाईंहरुलाई दुःखबाहेक अरु केही दिन सकिनँ। यसप्रति अहिले मलाई निकै ठूलो खेद छ। मैले जे–जे दुष्टकर्म गरेँ, मेरो मृत्युपछि त्यही अनुरुपको सजाय पाएँ भने मात्र तपाईंहरुले न्याय पाएको ठहरिनेछ।’ 

गाउँलेहरुले सोधेछन्, ‘त्यसो भए तिमी मरेपछि तिमीलाई के सजाय दियौँ भने हामीले न्याय पाउछौँ त!’   

‘मेरो मृत्युपछि मेरो शिर काटिदिनू। हातखुट्टा पनि शरीरबाट छुट्याइदिनू। र, मुखमा लठ्ठी छिराएर मेरो लासलाई दुत्कार्दै सहरभरि घुमाउनू,’ उसको सुझाव थियो, ‘मजस्तो घृणित व्यक्तिका लागि उपयुक्त सजाय यही हुनेछ। तपार्ईंरुमाथि न्यायपनि हुनेछ।’

सोझा गाउँलेहरुले त्यसै बमोजिम गरे। तर, मान्छेको टाउको छिनालेर हत्या गरेको र क्रुरतापछि शवलाई सहरमा घुमाउने दुष्कर्मसमेत गरेको अभियोगमा गाउँलेलाई प्रहरीले पक्राउ गर्यो। उनीहरु जेल परे। 

दुष्टको इच्छा पनि आफू मरेपछि गाउँलेहरु चैनसँग बस्न नपाउन् भन्ने थियो। उसको त्यो इच्छा पूरा भयो। 

नेपालको कानुनले मृत्युदण्डलाई बर्जित गरेको छ। यो कुरा गृहमन्त्री भइसकेका लामिछानेलाई जानकारी नभएको होइन। तर, उनले आफूलाई नरबलि दिन भनेका छन्, त्यो पनि गढीमाईजस्तो धार्मिकस्थलमा! 

लामिछानेलाई त यतिबेला कसैले छुन सक्दैन। तर, जसले ढाकाकुमारलाई रास्वपामा ढकमक्क फुलायो, त्यही अभियोगमा कोही कसैलाई नरबलि दिन खोजियो भने त्यसको हबिगत के होला? 

मरेपछि समेत गाउँलेहरुलाई सताउने त्यो दुष्टको सुझावभन्दा फरक छ र लामिछानेले गढीमाईमा आफूलाई बली चढाउन दिएको सुझाव! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .