ad ad

विचार


इतिहासका पाठ्यपुस्तकसँग किन डराउँछन् मोदी?

इतिहासका पाठ्यपुस्तकसँग किन डराउँछन् मोदी?

भारतमा पर्यटकहरुका लागि सबैभन्दा लोकप्रिय स्थान आगरास्थित ताजमहल, जुन मुगल शासकले निर्माण गर्न लगाएका थिए


अपूर्वानन्द
बैशाख २, २०८० शनिबार २०:२१,

सत्तामा नौ वर्ष बसेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी सरकारले अन्ततः उहिल्यै बितिसकेको मुगल साम्राज्य र अन्य मुस्लिम शासकहरुलाई पराजित गरेको छ।

सरकारले चुपचाप स्कुलका पाठ्यपुस्तकबाट तिनलाई निकालेको छ। जहाँ तिनले गएका सात दशकमा निकै ठूलो स्थान ओगटेका थिए। 

विभिन्न कक्षाका पाठ्यपुस्तकबाट मुगल शासक र दिल्ली सल्तनतका विषयमा लेखिएका कयौँ पृष्ठ हटाइएका छन्। पुस्तकका पानाबाट मुगलहरु पुरै गायब त भएका छैनन् तर विद्यार्थीहरुले मुगलहरुका प्रमुख उपलब्धि र कोशेढुंगाबारे सिक्न पाउने छैनन्। जबकि मुगलहरु भारतीय इतिहासका केही महत्वपूर्ण शासकमा पर्छन् र वास्तुकला तथा सांस्कृतिक क्षेत्रमा उनीहरुको विरासत अझै जीवित छ।

अचम्मको कुरा– विद्यार्थीहरुले मुगल र मुस्लिम शासकहरुको भूमिका र योगदान नबुझी वर्तमान भारतबारे कसरी धारणा बनालान्?

तथापि, पाठ्यपुस्तकमा भएका यी सम्पादनहरु आश्चर्यजनक भने होइनन्। त्यो मोदीको भारतीय जनता पार्टीको वैचारिक एजेन्डाअन्तर्गत नै भएको काम हो। भाजपा भारतलाई ऐतिहासिक रुपमा हिन्दुहरुको मात्र भूमिका रुपमा चित्रित गर्न चाहन्छ। अरु कसैको, खासगरी मुस्लिमहरुको उपस्थितिलाई घुसपैठ र प्रदुषणका रुपमा हेरियोस् भन्ने उनीहरु चाहन्छन्। त्यो आदर्श विगतको भ्रष्टीकरण हो भनेर भाजपा भारतीयहरुलाई विश्वस्त तुल्याउन चाहन्छ।

तर, स्कुलका पाठ्यक्रमले भारतीय मुस्लिमहरुलाई राष्ट्रिय स्मृतिको एक अभिन्न हिस्सा बनाएको छ। किनभने इतिहासमा उनीहरुको इतिहास र योगदान उम्किन नसकिने यथार्थ बन्न पुगेको छ। त्यसैले त्यो विरासत मेटिनै पर्छ। मुगल र मुस्लिम शासकहरुलाई क्रुर आक्रमणकारीका रुपमा मात्र उल्लेख गरिनुपर्छ।

यो शैली मुस्लिमजस्तो सुनिने सहर र सडकका नाम फेर्ने क्रियासँग मेल खान्छ। ऐतिहासिक अलाहावाद सहर अहिले प्रयागराज बनेको छ। औरंगावाद छत्रपति सम्भाजी नगर तथा उस्मानावाद धराशिव बनेका छन्।  

१९९२ मा अयोध्याको बाबरी मस्जिद ध्वस्त पार्ने कार्य यही विशाल मुस्लिमविरोधी सांस्कृतिक शुद्धीकरणको हिस्सा थियो। वाराणसीको ज्ञानवापी मस्जिद र मथुराको शाही मस्जिद अबको निसाना बनेका छन्।

पाठ्यपुस्तकमा मुगल र मुस्लिमहरुको सीमान्तीकरण मोदीको भारतमा अहिले मुस्लिमहरुले वास्तविक जीवनमा भोगिरहेको अवस्थाकै प्रतिबिम्ब हो। पछिल्लो पाठ्यपुस्तक सम्पादन सांस्कृतिक संहारको एउटा हिस्सा हो।

तर, इतिहासविरुद्धको यो युद्धमा उनीहरुका शत्रु धेरै छन्। विगत र वर्तमान विशिष्ट रुपले हिन्दु भएर मात्र पुग्दैन। ती सबै सौहाद्र्रपूर्वक हिन्दु हुन पनि जरुरी छ। समाजमा द्वन्द्व र तनाव देखाउने जुनसुकै कुरा समाप्त पारिनु पर्छ। त्यसैकारण मुस्लिम इतिहासका अलावा जात र छुवाछुतको विरासतको यथार्थलाई पनि पाठ्यपुस्तक संशोधनवादीहरुले नामेट पार्दैछन्। भविष्यको पुस्ताले भारत विगतमा पनि द्वन्द्वबाट मुक्त थियो, वर्तमानमा पनि मुक्त छ भन्ने स्वैरकल्पनामा विश्वास गरोस् भन्ने उनीहरु चाहन्छन्।

भर्खरैको इतिहासले पनि भाजपालाई असहज बनाउँछ। उदाहरणका लागि १९४८ मा महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्सेको हिन्दु अतिवादी पृष्ठभूमि। गोड्से राष्ट्रिय स्वयंसेवक संघको नेतृत्वमा रहेको हिन्दु सर्वोच्चतावादी सञ्जालको हिस्सा थिए। उनले गान्धीको हत्या गरे। किनभने गान्धी धर्मनिरपेक्ष भारतको पक्षमा थिए। इतिहासका पाठ्यपुस्तकबाट गोड्से र उनको हिन्दु अतिवादी सम्बन्धबारे चर्चा गर्ने हिस्सा पनि हटाइएको छ। र, गोड्सेलाई स्वतन्त्र र एक्लो व्यक्तिका रुपमा चित्रित गरिएको छ। 

गुजरात राज्यमा २००२ मा मोदी मुख्यमन्त्री भएका बेला मुस्लिमहरुको आम हत्या गरिएको घटनासम्बन्धी खण्ड पनि पाठ्यपुस्तकबाट हटाइएको छ।

त्यसैगरी, लैंगिक भेदभावसम्बन्धी विभेदका उदाहरण पनि हटाइएको छ। मानौँ, भारत त्यस्तो समाज हो, जसले कुनै सामाजिक समूहविरुद्ध कुनै पनि आधारमा कुनै भेदभाव देखेकै छैन। 

अर्कोतिर, समकालीन कुरा गर्ने हो भने विधर्वमा कसरी खडेरीले सुकेका खेत र धनीहरुका लागि जलक्रिडास्थल सहअस्तित्वमा छन् भन्ने हिस्सा पनि सामाजिक शिक्षाका पाठ्यपुस्तकबाट हटाइएको छ।

भाजपा चाहन्छ, भारतीय समाज हिन्दु हो र हिन्दु समाज सधैँ न्यायपूर्ण, प्रेमपूर्ण र विभेदरहित छ भनेर विश्वले विश्वास गरोस्। तर, कुरुप यथार्थ भने यसको ठिक उल्टो छ। भारतसम्बन्धी यी सुन्दर कथा पढिरहेका बालबालिका द्वन्द्वग्रस्त परिस्थितिमा बाँचिरहेका छन्।

यो कार्य विगतलाई नियन्त्रण गर्ने वा इतिहासलाई हिन्दु रङमा रंगाउने प्रयास मात्र होइन। यो त भविष्यप्रति लक्षित छ। भाजपा भारतलाई एउटा अन्धकार, अलोकतान्त्रिक भविष्यतिर घिसारिरहेको छ।

सशक्त राज्य र आज्ञाकारी जनता, यी दुई कुरा मोदीको भाजपाले निर्माण गर्न चाहेको भारतको केन्द्रमा छन्। भाजपाले यसअघि नै आफूलाई भारत राज्यको पर्यायवाचीका रुपमा प्रस्तुत गर्न थालिसकेको छ। सोही सोचलाई ध्यानमा राख्दै पाठ्यपुस्तकबाट लोकतान्त्रिक अधिकारहरुको रक्षा गर्ने सामाजिक र राजनीतिक आन्दोलनहरुको प्रसंग पनि हटाइएको छ। नागरिकले राज्यलाई जवाफदेही ठहर्याउनुको सट्टा भाजपा जनतालाई राज्यप्रति उत्तरदायी बनाउन चाहन्छ।

आधिकारिक रुपमा विद्यार्थीहरुको पढाइको बोझ घटाउने भन्दै यी पाठ्यपुस्तक सम्पादन गरिएको हो। तर, हटाइएका हिस्साहरु एकसरो हेर्दै स्पष्ट ढाँचा देखा परिहाल्छ।

भारतको इतिहास हिन्दु थियो, यो राष्ट्रमा कुनै विभेद थिएन र कुनै हिंसा थिएन भनेर देखाउने विचारबाट प्रेरित भएर यी परिवर्तन गरिएका हुन्। एउटा धर्मनिरपेक्ष मुलुकलाई हिन्दु राष्ट्र बनाउन झुटो इतिहास निर्माण गर्न आवश्यकता भाजपालाई छ। विगतको पुनर्लेखन गर्नु भनेको हिन्दु सर्वोच्चतावादी विचारधारालाई भविष्यमा वैधता दिने प्रयास गर्नु हो भने सत्यलाई चिहानमा पुर्नु हो।

(अल जजिराबाट। अपूर्वानन्द युनिभर्सिटी अफ दिल्लीमा हिन्दी पढाउँछन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .