ad ad

विचार


दुष्ट जर्नेल र दर्जन बढी ‘कू’ले निम्त्याएको सुडान त्रासदी

दुष्ट जर्नेल र दर्जन बढी ‘कू’ले निम्त्याएको सुडान त्रासदी

मारवान बिसारा
बैशाख ६, २०८० बुधबार २०:१, काठमाडौँ

सुडानमा जारी त्रासदीमा हामीले देखिरहेकै विकृति दोहोरिएको छ।

दशकौँदेखि मध्यपूर्वका मुलुकहरु सैन्य कूबाट पीडित रहँदै आएका छन्। ती कू राष्ट्रिय मुक्ति, गौरव र समृद्धिका नाममा गरिन्छन् तर हरेक पटक असफलतामा टुंगिन्छन्।

१९५० र १९६० को दशकमा गरिएको थुप्रै कू– सिरियादेखि सुडान, इजिप्ट इराक, यमन हुँदै लिबियासम्म– युवा अफिसरहरुको नेतृत्वमा गरिएको थियो। जोसँग डरलाग्दो यथास्थितिलाई बदलेर गतिलो, समृद्ध अनि पराजय र अपमानबाट मुक्त भविष्य स्थापना गर्ने उच्च आदर्श र आशा थियो। 

तर, अल्जेरियामा १९९२, इजिप्टमा २०१३ र सुडानमा २०२१ मा भएकाजस्ता पछिल्ला कूहरुमा त्यो आदर्श र महात्वाकांक्षाको अभाव देखिन्छ। ती कू हुन लागेको राजनीतिक परिवर्तनलाई रोक्ने र सेनालाई फाइदा हुनेगरी यथास्थिति कायम राख्ने उदेश्यबाट निर्देशित थिए।

त्यसैले यी सबै कू असफलतामा टुंगिए। तैपनि एकपछि अर्को कूको नाममा यो प्रहसन जारी छ किनभने अहिलेका जर्नेहरुले आफ्ना पूर्ववर्तीको मूर्खता दोहो¥याइरहेका छन्।

कूले मुलुकलाई कुनै फाइदा हुन्थ्यो भने सुडान सो क्षेत्रकै समृद्ध मुलुक बन्ने थियो। १९५८ मा स्वतन्त्र भइसकेपछि सुडानमा एक दर्जनभन्दा बढी कू र कूको प्रयास भइसकेका छन्।

तर, सुडान समृद्ध भएन। सुडानका सफल र असफल सबै कूले मुलुकलाई विनाशकारी प्रभाव पारे। कठिनाइमा बाँचिरहेको जनसंख्यामाथि त्यसले दमन थोप¥यो भने राज्यलाई अस्थिर बनायो।

यस्तो त्रासद् इतिहास हुँदाहुँदै पनि लडाइँको मैदानमा कहिल्यै जित्न नसकेकाहरु अझै पनि नागरिक र नागरिक संस्थाहरुमाथि आक्रमण गर्न र राजनीतिक दलहरुलाई हिंसाको बलमा दबाउन इच्छुक छन्। अरबका सेनाहरुमा गरिएको एक अध्ययनमा प्रायः सबै कूमा यस्तै व्यवहार देखिने उल्लेख छ। अरब सेन्टर फर रिसर्च एन्ड पोलिसी स्टडिजले गरेको अध्ययनअनुसार एक पटक राजनीतिक सत्ता हातमा लिएपछि कूका नाइकेहरुले स्वेच्छाले सत्ता छाड्दैनन्। अर्को शब्दमा भन्दा कुर्सीमा अरुलाई बसाउन उनीहरुले कू गरेका हुँदैनन्। र, एक पटक राज्यप्रमुखलाई सत्ताच्यूत गरिसकेपछि कूका नाइकेहरुले एकअर्कामाथि नै शंका गर्न थाल्छन् र एकअर्कामाथि नै आक्रमण गर्न थाल्छन्।

त्यसमाथि, सेनाको जर्नेलबाट राजनीतिक नेता बनेकाहरुमा राजनीतिको सैन्यकरण र सेनाको राजनीतिकरण गर्ने प्रवृत्ति हुन्छ। जसले राज्यका संस्थाहरु र जनतालाई हानि गर्छ। आफ्नो मुलुकका समस्याहरुको सामाजिक–आर्थिक समाधान दिन अक्षम हुनाले उनीहरु धार्मिक पपुलिजम, सम्प्रदायवाद वा तिनले जानेको एक मात्र भाषा– बलप्रयोगको शरण पर्छन्। स्थिरताको नाममा उनीहरु अस्थिरता फैलाउँछन् र सुरक्षाको नाममा डर।

त्यसैले सुडानको कूका नाइकेहरु सेनाप्रमुख जर्नेल अब्देल फतह अल बुर्हान र ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) का प्रमुख जर्नेल मोहमद हमदान हेमेती दागालोले पनि २०१९ मा राष्ट्रपति ओमर अल बसिरलाई सत्ताच्यूत गरेपछि शक्ति हत्याउन उही छलपूर्ण तरिका अपनाए। उनीहरुले पहिले गरिएको सम्झौता उल्लंघन गरी नागरिक प्रधानमन्त्री अब्दल्ला हामदोकलाई २०२२ मा हटाए।

जब राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब बढ्यो, तब उनीहरुले नयाँ सम्झौता गरे। जसमा उनीहरुले आफ्नो शक्ति सुरक्षित गरे।

तर, जति उनीहरुको प्रभाव बढ्दै गयो, त्यति एकअर्काप्रतिको शंका पनि बढ्दै गयो। सत्ता साझेदारीको प्रयास असफल भइसकेपछि ढिलोचाँडो उनीहरुबीचको अविश्वास र मतभेद खुला, रक्तपातपूर्ण द्वन्द्वमा बदलिनु नै थियो।

खार्तुम र अन्य सहरको सडकमा लडाइँ चर्किंदै जाँदा मेलमिलापको सम्भावना घट्दै गएको छ। लडाइँ कहिले रोकिन्छ वा कसले जित्ने सम्भावना छ, भन्न कठिन छ।

तर, अहिलेसम्म स्पष्ट भइसकेको कुरा चाहिँ के हो भने कम शक्तिशाली तर बढी चलायमान र लडाइँमा परीक्षित आरएसएफले विषम रणनिित अपनाएको छ। उसले कम चलायमान सेनाविरुद्ध तीव्र विजय हात पार्न संवेदनशील शक्तिकेन्द्रहरुमा तेज गतिमा आफ्ना लडाकु तैनाथ गरेको छ। उसले जर्नेल अल बुर्हानलाई समात्ने वा मार्ने प्रयास पनि गरिरहेको छ, ताकि सेनालाई निर्णायक मनोवैज्ञानिक धक्का पुगोस्।

आरएसएफले चाँडै जित हात पारेन र लडाइँ लम्बियो भने अन्ततः सेना विजयी हुनसक्छ। किनभने सेनाको आकार ठूलो छ, ऊ बढी शक्तिशाली छ, उसँग लडाकु विमानजस्ता अत्याधुनिक हतियार पनि छन्। तर, सुडान र सुडानी जनताले त्यसको भयानक मूल्य तिर्नेपर्ने छ।

अल बुर्हान र हेमेती दुवै अल बसिरको तानाशाहीका रक्षक थिए। अल बसिरविरुद्ध खनिनुअघि उनीहरुले डार्फरदेखि यमनसम्म उनका लागि काम गरेका थिए। उनीहरुले २०१९ को विद्रोह र अल बसिर दुवैविरुद्ध षड्यन्त्र गरे। र, नागरिक शासनतिरको राजनीतिक परिवर्तनलाई रोके। र, आज उनीहरुले मुलुकलाई रक्तपात र विध्वंसको बाटोमा लैजाँदैछन्।

यति हुँदाहुँदै पनि यी दुई जनाको उत्पत्ति एकदम अलग छ। उनीहरुले एकदम फरक सैन्य शक्तिको नेतृत्व गर्छन्। अल बुर्हान व्यावसायिक सैनिक हुन्, जो एकपछि अर्को पदमा बढुवा भएका हुन्। सेनाको संरचना र सञ्चालन प्रणाली पनि स्पष्ट छ। अर्कोतिर, हेमेती दुष्ट उँट तस्कर थिए। त्यसपछि उनी डरलाग्दो मिलिसिया कमान्डर बने र उनले अवैध व्यापार गरे। उनी आफ्नो सनकको भरमा चल्छन्।

अल बुर्हानका अपराध आश्चर्यजनक छ, उनको सेना प्रमुखको पद हेरी। त्यसैकारण नै सुडान एउटा त्यस्तो राष्ट्रिय सेनाको लायक छ, जसको कमान्डर व्यावसायिक, वैध र सरकारप्रति उत्तरदायी होस्। 

हरेक राज्यलाई एउटा वास्तविक राष्ट्रिय सेना आवश्यक पर्छ। तर, कुनै पनि मुलुकलाई कानुनभन्दा माथि रहने मिलिसिया चाहिँदैन। यो बर्बादीलाई निमन्त्रणा मात्र हो। 

यसको अर्थ दुई दुष्ट जर्नेल आपसमा भिड्दै गर्दा सुडानी जनताले एउटा पक्ष लिनै पर्छ भनेको होइन। नतिजा जे भए पनि यो रक्तपातपूर्ण लडाइँ रोकिएपछि सुडानले आफ्नो सेनालाई पुरै परिवर्तन गर्नुपर्छ र सारा मिलिसिया हटाउनुपर्छ।

दुई खराबमध्ये कम खराब रोज्न बाध्य पारिँदै गर्दा सुडानी जनताले तेस्रो विकल्प रोज्नुपर्छ। त्यो हो– नागरिक नेतृत्वमा रहेको लोकतान्त्रिक तवरले निर्वाचित सरकार, जसले सेनालाई ब्यारेकमा फर्काउँछ। 

(अल जजिराबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .