ad ad

विचार


अमेरिकासँग किन डराउन छाडे रुस र चीन?

अमेरिकासँग किन डराउन छाडे रुस र चीन?

जोन आर एलेन र माइकल मिक्लाउसिच
बैशाख ९, २०८० शनिबार २१:३४, काठमाडौँ

निरोध (डिटेरेन्स) को एउटा समस्या छ– यसले काम गरिरहेको छैन। हामी आणविक युद्धमा फस्न लागेका छौँ भन्न खोजेको होइन। तर, आणविक युद्धबाहेक अमेरिकाको निरोधकले पछिल्लो समय खासै केही छेक्न सकेको देखिँदैन। हाम्रा शत्रुहरु, मुख्यगरी रुस र चीन आफ्नो उदेश्य प्राप्त नहुने जोखिम वा बदलाको डरले पछि हटेका देखिँदैनन्। दुवैले आक्रामक व्यहारका साथ पहलकदमी लिइरहेका छन्। गैरसैन्य रणनीतिदेखि लिएर अवैध सैन्य आक्रमण र सार्वभौम छिमेकी मुलुकको भूमि कब्जासम्मका व्यवहार उनीहरुले प्रदर्शन गरिरहेका छन्। या त निरोधको सिद्धान्त नै गलत छ, नभए पश्चिमले यसलाई गलत तरिकाले उपयोग गरिरहेको छ।

पछिल्ला वर्षहरुमा रुसले अनेकौँ पटक आक्रामक व्यवहार देखाएको छ। २००७ मा उसले नेटो मुलुक इस्टोनियामाथि विशाल साइबर आक्रमण गर्‍यो। २००८ मा साउथ ओसेटिया र अब्काजिया प्रान्त गरी जर्जियाको १५ प्रतिशत भूमि कब्जा गर्‍यो। २०१४ मा अवैध रुपमा क्रिमिया टुक्र्यायो र २०१५ मा सिरियामा हस्तक्षेप गर्‍यो। 

क्रिमियामा रुसको कारबाहीले पश्चिमलाई झट्का दियो। तथापि, रुसले आफ्नो प्रमुख उदेश्य कुनै मूल्य नतिरी प्राप्त गरिछाड्यो। फेब्रुअरी २०२२ मा पश्चिमा शक्तिहरुको धम्की र चेतावनीका बाबजुद दण्डहीनताप्रति विश्वस्त बनेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरे। यो आलेख लेख्दै गर्दा युद्ध उसैगरी चलिरहेको छ। मृतकको संख्या ५ लाख पुग्दैछ।

अर्कोतिर हाम्रो लागि बढ्दो खतरा भनिने चीनले पश्चिमाहरुको बौद्धिक सम्पत्ति निरन्तर, निसंकोच वर्षौंदेखि चोरिरहेको छ। नेसनल सेक्युरिटी एजेन्सीका पूर्वनिर्देशक किथ अलेक्जेन्डरले यसलाई ‘इतिहासको सबैभन्दा ठूलो सम्पत्ति हस्तान्तरण’ भनेका छन्। चीनले दक्षिण चीन सागरलाई सैन्यकरण गरेको छ। विवादित जलक्षेत्रका टापुहरुमा हतियार राखेको छ र छिमेकी मुलुकहरुलाई धम्क्याउने, हेप्ने गरेको छ। उसको रणनीतिक मागलाई अस्वीकार गर्ने साहस गर्ने सो क्षेत्रभन्दा परका मुलुकहरुलाई समेत धम्क्याएको छ। उइगुरहरुको चर्को दमन, हङकङ सम्झौताको ठाडो उल्लंघनको पश्चिमाहरुले चर्को विरोध गरे र सीमित आर्थिक नाकाबन्दी पनि लगाए। तर, त्यो चीनको आक्रमकतालाई रोक्न पर्याप्त भएन।

वास्तविक निरोध शत्रुलाई असहनीय क्षति पुर्‍याउने हाम्रो चाहना र शक्तिमा निर्भर हुन्छ। हाम्रो हस्तक्षेपले उनीहरुलाई आफ्नो उदेश्यपूर्तिबाट रोक्छ वा बदलामा तिनले ठूलो क्षति बेहोर्नेछन् भन्ने विश्वास शत्रुलाई भयो भने उनीहरु रोकिन्छन्। तर, निरोधका लागि विश्वसनीयता चाहिन्छ। यहीँनेर पश्चिम, खासगरी अमेरिका चुकेको छ। राष्ट्रपति बाराक ओबामाले सिरियाली राष्ट्रपति बसर अल असदलाई अगस्ट २०१२ मा रासायनिक हतियार प्रयोग नगर्न चेतावनी दिएका थिए। त्यसलाई कसले बिर्सिन सक्छ? स्पष्ट छ, रुस र चीनले बिर्सेका छैनन्। राष्ट्रपति जो बाइडेनले सैन्य विकल्प प्रयोग गरेर युक्रेनको प्रतिरक्षा नगर्ने स्पष्ट पारिदिए। रुसी भूमिमा अमेरिकी हतियारले आक्रमण गर्न युक्रेनले अनुमति माग्दा पनि उनले अस्वीकार गरिदिए। बदला लिने इच्छा र क्षमता दुवै प्रदर्शन गर्नमा देखिएको असफलताले निरोधलाई कमजोर तुल्याउँछ।

युक्रेनमा द्वन्द्व चर्किएला भन्ने हाम्रो डरले आत्म–निरोधको वातावरण तयार भएको छ। कुनै पनि प्रतिशोधात्मक कारबाहीले स्थितिलाई झनै बिगार्न सक्छ र सायद त्यसले आणविक युद्धको थ्रेसहोल्ड पनि पार गर्छ कि भन्ने डर हामीलाई छ। यस्तो सोचले हाम्रो क्षमता र चाहनालाई विश्वसनीय तरिकाले प्रदर्शन गर्न दिँदैन।

तर, यहीबेला हाम्रा शत्रुहरुले भने तिनको अमेरिकाविरुद्धको बहुआयामिक अभियानलाई निरन्तरता दिइरहेका छन्। युक्रेनको विनाश लम्बिइरहँदा चीनका सी चिनफिङ, उत्तर कोरियाका किम जोङ उन र इरानका आयातोल्लाह खामेनी होसियारीपूर्वक अध्ययन गरिरहेका छन्। युक्रेनी सहरहरुमा अहिले इरानी ड्रोनमार्फत हमला भइरहेको छ। ती ड्रोन इरानले रुसलाई बेचेको हो। र, चाँडै नै युक्रेनी सहर र सेनामाथि उत्तर कोरियाली तोपगोला बर्सिनेछन्। जसलाई किमले खाद्यान्नसँग साटेका हुन्। यी कुनै पनि भयानक शासन युक्रेनको विनाश र त्यहाँका जनताको हत्यामा सहभागी हुनबाट रोकिएनन्।

हाम्रो विश्वसनीयता नहुँदा हाम्रा शत्रुहरुको हिम्मत बढ्न पुग्यो। तिनले अवश्य नै हाम्रो आत्मनियन्त्रित अवस्थाको परीक्षण गर्न तथा कहाँनेर चाहिँ अमेरिका कारबाहीका लागि इच्छुक छ भनेर जान्न हामीविरुद्ध जोर लगाउनेछन्। हालका लागि हाम्रा शत्रुहरु केमा विश्वस्त छन् भने हाम्रो कारबाहीको इच्छाशक्ति र हाम्रा स्वार्थहरुबीच मेल छैन। त्यसैले उनीहरुको छानबिन जारी छ, फराकिलो मोर्चा र अनेक क्षेत्रमा। खासगरी साइबर क्षेत्रमा। 

हाम्रा शत्रुहरुले विश्वभरि छामेर हिसाब लगाइरहेका छन्, कहिले, कहाँ र कसरी हान्दा अमेरिकी आत्मविश्वास टुट्छ। र, त्यसपछि कसरी अमेरिकाले प्रतिक्रिया दिन्छ। अमेरिकाको प्रतिक्रियालाई बुझेपछि त्यसले अमेरिका र हाम्रा सहयोगीविरुद्ध तिनको चुनौतीको आधार तयार हुन्छ। उनीहरुको त्यो निरन्तर परीक्षणप्रतिको अमेरिकाको प्रतिक्रियाको थ्रेसहोल्ड जति तल हुन्छ, हाम्रो निरोधको विश्वसनीयता उति माथि हुन्छ। त्यसैगरी, अमेरिकी प्रतिक्रियाको थ्रेसहोल्ड जति माथि हुन्छ, हाम्रा शत्रु उति आक्रामक हुन्छन् र बढ्ता जोखिम हामीले झेल्नुपर्ने हुन्छ।

यसको सबैभन्दा गतिलो उदाहरण युक्रेनमा रुसको युद्ध हो। युद्ध चर्किने हाम्रो डरले पश्चिमलाई युद्ध अन्त्य गर्न आवश्यक कदम लिनबाट रोकेको छ। आर्थिक नाकाबन्दीले मात्रै नरोकिने पुटिनले देखाइसकेका छन्। अहिलेसम्ममा हामीले बुझिसक्नुपर्ने हो– आर्थिक नाकाबन्दीले दृढ शत्रुलाई रोक्न सक्दैन। क्युबा, उत्तर कोरिया, इरान, भेनेजुएला, रुस र चीन। यी सबैले आर्थिक नाकाबन्दीको प्रतिरोध गरेका छन् र केही घटनामा त नाकाबन्दीले अलिकति पनि काम गरेको छैन। 

यदि पुटिन आफ्ना २ लाख सैनिक बलिदान गर्न इच्छुक छन् भने ग्यास र तेलको आम्दानी कम हुँदैमा उनी रोकिने सम्भावना हुँदैन। त्यसविपरीत आणविक युद्धको धम्की दिएर पुटिनले कति सजिलै रुसविरुद्धको पश्चिमा जवाफी कारबाहीलाई रोकिदिए। युक्रेनलाई ट्यांक, लामो दुरीका र गाइडेड क्षेप्यास्त्र, एफ–१६ लडाकु विमान तथा अन्य हतियार उपलब्ध गराउनेसम्बन्धी बहसलाई आत्मनिरोधको भावनाले धेरै हदसम्म प्रभावित तुल्याएको छ र दुःखको कुरा त्यो प्रक्रियालाई लम्ब्याएको पनि छ।

द्वन्द्व थप चर्किन दिनुहुँदैन भन्नेमा पश्चिमाहरुको सम्पूर्ण ध्यान केन्द्रित छ। यसलाई युद्धका नियमहरुको पुरातनवादी व्याख्याले अझ बढाइदिएको छ। जसअनुसार कुनै पनि प्रतिशोधात्मक कारबाही उक्साहटको समानुपातिक हुनुपर्छ। सैन्य हिसाबले आवश्यक हुनुपर्छ र सैन्य लक्ष्यसँग मात्र सम्बन्धित हुनुपर्छ। यी सिद्धान्तहरु परम्परागत युद्धका लागि उचित हुन्। तर, अहिलेको द्वन्द्व परम्परागत युद्धभन्दा धेरै पर पुगिसकेको छ। अहिलेको द्वन्द्वमा त कहिल्यै नसकिने थ्रेसहोल्डमुनिका आक्रमण, परीक्षण र अस्पष्टता समावेश छन्, जसलाई ग्रे जोन भन्ने गरिन्छ। यस्ता कारबाही प्राय गैरसैनिक एजेन्टद्वारा गरिन्छ।

उल्लेखनीय कुरा के पनि छ भने युद्ध र शान्तिको परस्पर विरोधी पश्चिमा धारणा हाम्रा प्रमुख शत्रुले मान्दैनन्। रुस र चीन दुवै अन्तर्राष्ट्रिय सम्बन्धलाई आफ्नो रणनीतिक उदेश्य प्राप्त गर्ने निरन्तर र स्थायी संघर्ष मान्छन्। जुन उदेश्य हाम्रा मान्यता र स्वार्थहरुसँग सोझै टक्कर खान्छन्। हामीले यस्तो बहुपक्षीय खतरा निरन्तर सामना गरिरहेका छौँ। यसको जवाफमा हामीले कस्तो खास आक्रामक कारबाही गर्नुपर्ला? शत्रुका तर्फबाट भएका कारबाही सैन्य वा गैरसैन्य एजेन्टले गरेको हो भनेर हामीले कसरी निर्धारण गर्ने? त्यो सरकारी आदेशमा भएको हो वा सरकारले सहिदिएको मात्र हो? यस्ता अस्पष्टताले सैन्य आवश्यकता र समानुपातिकताको सिद्धान्तलाई हतकडीमा बदलिदिन्छ।

यी अवलोकनपछि प्रश्न उत्पन्न हुन्छः एक्काइसौँ शताब्दीमा यति धेरै अस्पष्टता र विसंगतिका माझ निरोधको कुनै बृहत् सिद्धान्त हुन सक्छ? आणविक हतियारयुक्त शत्रुसँग व्यवहार गर्दा निरोध कस्तो देखिन्छ? अल कायदा, आईएसआईएस वा कुनै आपराधिक सञ्जाललाई केले रोक्न सक्छ? साइबर निरोध, अब चाँडै हामी एआई सञ्चालित र स्वचालित प्रणालीको सामना गर्दैछौँ। हामी हाम्रा भूउपग्रह र समुद्रमा ओछ्याइएको फाइबर अप्टिकमाथिको आक्रमण कसरी रोक्न सक्छौँ? नर्डस्ट्रिम २ माथि भएको आक्रमणलाई लिएर उत्पन्न द्विविधालाई हेरौँ। यी सबै मुलुक, कर्ता र क्षेत्रमा काम गर्ने कुनै बृहत् निरोधको एउटै भाष्य छ त?

स्पष्ट के छ भने निरोध सिद्धान्तको आधारभूत सत्य उही रहन्छ– निरोधले काम गर्न हाम्रा शत्रुले उनीहरुको लक्ष्य पुरा हुन नदिने वा उनीहरुलाई ठूलो पीडा दिन सक्ने तत्परता र क्षमता दुवै हामीसँग छ भन्ने विश्वास गर्नुपर्छ। गएको दशकमा पश्चिमा रक्षा फौजको पुनर्निर्माण नाटकीय रह्यो। तर, बारम्बार रणनीतिक पक्षाघात र अस्पष्टताका कारण त्यो पुनर्निर्माण कमजोर बन्न पुगेको छ। हामीसँग तत्परता छ वा यो रेडलाइन हो भनेर घोषणा गर्नु मात्र पर्याप्त हुने छैन। वचनलाई कर्मले पुरा गरेको हुनुपर्छ।  

रुस र चीनले हाम्रो निरोधमा विश्वास गर्नका लागि पहिले उनीहरुले उत्तेजक गतिविधि गर्ने अनि हामीले प्रतिक्रिया जनाउने चक्रलाई तोड्नुपर्छ। र, बदलामा उनीहरुलाई साँच्चैको पीडा दिनका लागि दृढसंकल्प राख्नुपर्छ। यसमा जोखिम छ। तर, केही जोखिम नमोलिकन हाम्रा शत्रुहरुको व्यवहार बदलिने छैन र हाम्रो कमजोरी खोज्ने र ती ठाउँमा आक्रमण गर्ने उनीहरुको कार्य रोकिने छैन। हरेक रणनीतिक कारबाहीमा केही न केही जोखिम हुन्छ। निष्क्रियतामा जोखिम हुँदैन। र, हामीलाई थाहा छ, निष्क्रियताले अलिकति पनि निरोध गर्दैन।

(नेसनले इन्ट्रेस्टबाट। जोन आर एलेन अमेरिकाको मरिन कर्प्सका अवकाशप्राप्त जर्नेल तथा ब्रुकिङ्स इन्स्टिच्युसनका पूर्वअध्यक्ष हुन्। त्यस्तै माइकल मिक्लाउसिच नेसनल डिफेन्स युनिभर्सिटीका अध्येता हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .